मेलुङमा ६१ वटा बालमैत्री धारा निर्माण «

मेलुङमा ६१ वटा बालमैत्री धारा निर्माण

दोलखाको मेलुङ गाउँपालिका–७ मेलुङमा ६१ वटा बालमैत्री धारा निर्माण गरेको छ । ठूला र बच्चालाई समेत प्रयोग गर्न सहज हुने गरी ती धारा निर्माण भएका हुन् ।
सामुदायिक खानेपानी आपूर्ति, विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता प्रवद्र्घन परियोजनाअन्तर्गत काकाकुल अवस्थामा रहेका मेलुङमा ८८ लाख ७४ हजार ९२० रुपैयाँको लागतमा सो खानेपानी आयोजना निर्माण भएको हो । खानेपानी योजनाका लागि इन्टेक २ वटा, पानी वितरण ट्यांकी १ वटा, फोरोसिमेन्ट ट्यांकी १४ घनमिटर र १६ घनमिटरकोे २ वटा ट्याँकी, धारा ६१ वटा निर्माण भएको दीपज्योति समाज सुधार संघका कार्यकारी निर्देशक मुकुन्द शिवाकोटीले जानकारी दिए ।
खानेपानी योजनाअन्तर्गत एउटा विद्यालयमा खानेपानी धारा निर्माण र धात धुने ठाउँसमेत तयार गरेको छ । साथै कर्नले आधारभूत विद्यालयको शौचालय पुनःस्थापना तथा मर्मत सम्भारसमेत गरेको उनले बताए । खानेपानी आयोजनाबाट कर्नकाली आधारभूत विद्यालयका विद्यार्थीसहित १८६ घरधुरीको १३ सय ५७ जना प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । खानेपानी योजना पूरा भएपछि विद्यालय र गाउँमा खानेपानी समस्या समाधान भएको विद्यालयका प्रधानाध्यापक रामचन्द्र चापागाईंले जानकारी दिए ।
स्थानीयहरू दैनिक खानेपानी लिनका लागि २०÷२५ मिनेटको बाटो हिँडेर जानुपर्ने बाध्यता रहेकोमा खानेपानी योजना पूरा भएपछि त्यो समय आयआर्जनमा प्रयोग गरिने मेलुङ गाउँपालिका– ७ का वडाध्यक्ष नवराज खड्काले बताए । मेलुङ गाउँपालिकाका प्रमुख नरबहादुर श्रेष्ठले गाउँको विकास पूर्वाधार तयारीका लागि गाउँपालिकाले सबैसँग सहकार्य गर्ने बताए ।
खानेपानी योजना निर्माणका लागि कन्सर्न वल्र्डवाइड र दीपज्योति समाज सुधार संघले सहयोग गरेका हुन् । एक वर्षदेखि सञ्चालनमा रहेको परियोजना सम्पन्न भएसँगै जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे, गाउँपालिका प्रमुख नरबहादुर श्रेष्ठ, सञ्चारकर्मी लगायतको उपस्थितिमा समुदायलाई हस्तान्तरण गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्