Logo

उद्योग वाणिज्य संघ प्रदेश–१को अध्यक्षमा ढकाल

झापा– नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश –१को बिर्तामोडमा सम्पन्न तेस्रो साधारणसभाले झापा भद्रपुरका पुराना उद्योगी टिकाराज ढकाललाई प्रदेश–१को अध्यक्षमा चयन गरेको छ । साधारणसभाले ढकाललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । ढकाल झापा उद्योग संघका अध्यक्ष पनि हुन् । त्यस्तै सदस्य पद्मा युवराज शाक्य, कुमार भट्टराई, भूपालराज कट्वाल, विरेन्द्रकुमार शाह, प्रितम खड्गी निर्वाचित भएका छन् । एसोसिएट उपाध्यक्षमा राजेन्द्र राउत, कोषाध्यक्षमा रमेशकुमार राठी तथा त्यस्तै एसोसिएट सदस्यमा सुवाष आचार्य र राजन श्रेष्ठ चयन भएका छन् । त्यस्तै जिल्ला नगर उपाध्यक्षमा भीमबहादुर पौडेल सर्वसम्मत निर्वाचित भएका छन् । महासंघमा ३५ जिल्ला नगर, १३ वस्तुगत र १२७ एसोसिएट सदस्य छन् ।
साधारणसभामा सहभागी व्यवसायीले राज्यको नजर व्यवसायीसम्म पुग्न नसकेको गुनासो गरेका छन् । कोरोना कहरले अस्तव्यस्त बनेको उद्योग, कृषि साथै पर्यटनको क्षेत्रमा राज्यको नजर पुग्न नसकेको आरोप लगाएका हुन् । प्रदेश–१को कूल ग्राहस्थ उत्पादन ५ खर्ब ५ अर्ब ८४ करोड रहेको र आर्थिक बृद्धिदर तीन दशमलव ४१ प्रतिशत रहेको बताएका उनीहरुले राज्यले व्यवसायीलाई नहेर्दा प्रदेशका सात सयको हाराहारीमा रहेका ठूला तथा मझौला उद्योगहरु धराशायी बनेको व्यवसायीले बताए । लामो समयसम्म लकडाउन झेलेको उद्योग क्षेत्र संकटमा परेको व्यवसायीको भनाई छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश– १का प्रदेश अध्यक्ष नरेन्द्रकुमार खड्काको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्