Logo

निर्माण व्यवसायी संघका अध्यक्षले ठेक्का लिएको सडक नै अलपत्र

म्याग्दी-निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्ष नारायण जिसीले एक वर्षअघि जिम्मा लिएको म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङमा पुग्ने सडक योजना अलपत्र पारेका छन् । गाउँपालिकाको केन्द्र मुना जोड्ने सडक निर्माण योजना जिसीले काम नगर्दा अलपत्र परेको हो ।
पुर्बाधार बिकास कार्यालय म्याग्दीले मुना–लुलाङ–गुर्जा सडक आयोजनाअन्तर्गत महतला भीर क्षेत्रमा सडक निर्माणका लागि २०७६ पुस पहिलो साता ठेक्का भएको थियो । एक करोड ४९ लाख लागत अनुमान गरिएको योजना काठमाडौको बीएन कन्ट्रक्सनले ७८ लाख ९९ हजार ३१० मा ठेक्का लिएको थियो । २०७७ असार मसान्तसम्म सम्झौताको म्याद भए पनि अहिलेसम्म काम सुरु नहुँदा आयोजना अन्योलमा परेको हो । ६ सय ४९.५ घनमिटर ग्याबियन पर्खाल लगाउने, एक हजार ५०० मिटर कडा चट्टान काट्ने, ७४ हजार घनमिटर माटो कटिङ गर्ने र दुई वटा सल्याब कल्भर्ट बनाउनुपर्ने ठेक्का सम्झौतामा उल्लेख छ ।
बीएन कन्ट्रक्सनका सञ्चालक नारायण जिसीले महतला भन्ने ठाउँमा पुगेको सडक कताबाट खन्ने भन्ने विवादले काम गर्न नसकेको बताए । ‘‘सम्झौतालगत्तै डोजर र प्राविधिक काम गर्न साइटमा गएका थिए,” उनले भने, “विवादित ठाउँमा काम गरेमा डोजर जलाउने, प्राविधिक र मजदुरलाई आक्रमण गर्ने धम्की आएपछि काम गर्न सकेनौं,” जिसीले भने । लुलाङ र लमसुङका बासिन्दाले महतलादेखि केही तलबाट दरखोलाको दायाँ किनारबाट सडक खन्नुपर्ने माग गरेका छन् । खोरियाका बासिन्दाको महतलादेखि खोरिया हुँदै लमसुङ–लुलाङ हुँदै गुर्जातर्फ जाने सडक बनाउनुपर्ने अडान छ । लुलाङका वडाध्यक्ष गमबहादुर विश्वकर्माले खोरियाको सडक घुमाउरो भएकाले महतलाबाट छुट्टै सडक बनाउनुपर्ने जनताको माग रहेको बताए । वडाध्यक्ष विकले ठेकेदारलाई कसैले अवरोध नगरेको र धम्की पनि नदिएको बताए ।
निर्माण व्यावसायिक संघ म्याग्दीका अध्यक्ष जिसी जिल्लाको ‘हाइप्रोफाइल’ व्यवसायी मानिन्छन् । राजनीतिक पहुँचसमेत बनाएका जिसीले सम्बद्ध कार्यालयबाट ठेक्का रकमको ६ लाख रुपैयाँ रकम सम्झौता प्रश्चात लिइसकेका छन् । काम गर्ने वातावरण नभएकाले ठेक्का रद्द गर्न निवेदन दिएको जिसीले बताए । महतलामा करिब एक सय मिटर चट्टान छिचोलेपछि खोरिया हँुदै लमसुङको सिमानासम्म गाडी गुड्न सक्छन् । “खोरियाभन्दा अगाडि मरेनी र लमसुङसम्म सडक पुगे पनि महतलाको भीरमा सडक नबन्दा यातायात सुविधाबाट वञ्चित भएका छौं,” अध्यक्षले भने ।
पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख नवराज पौडेलले गाउँपालिकामार्फत विवाद समाधान गर्न पहल गरे पनि सफल नभएको बताए । खोरियाका बासिन्दाले अस्वाभाविक रूपमा घटेर ठेक्का लिएका ठेकेदारले भीरमा सडक खन्दा नाफा नहुने देखेपछि विवाद सिर्जना गरी योजनालाई असफल बनाउन चलखेल गरेको उनको दाबी छ ।
राजनीतिक दलको आडमा आफूलाई नाफा नहुने भएपछि केही व्यक्तिलाई उचालेर विवादको बहानामा ठेक्का रद्द गराउने चलखेल गरेका कारण महतलाको भीरमा सडक नबनेको स्थानीयको गुनासो छ । यसमा पूर्वाधारका केही कर्मचारीले पनि साथ दिएका छन् । महतलामा दुई वर्षअघि सडक पुगेको थियो । पूर्वाधारले चालू आर्थिक वर्षमा महतलामै दुई हजार घनमिटर चट्टान फुटाएर सडक खन्न अर्को ठेक्का सम्झौताको तयारी गरेको छ । गाउँपालिकाले लुलाङ हुँदै गुर्जा जोड्ने सडक निर्माणका लागि विनियोजन गरेको ४० लाख बजेट पनि कार्यान्वयन हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्