Logo

चार लेन सडकका तीन पुल निर्माण सम्पन्न

सुर्खेत-वीरेन्द्रनगरमा निर्माणाधीन फोरलेन सडकका तीन पुलको निर्माणकार्य सम्पन्न भएको छ ।
कर्णाली प्रदेश राजधानीको मुख्य आकर्षणका रूपमा रहेको धुलियाबिट–बांगेशीमल सडक खण्डअन्तर्गत पर्ने गाग्रेताल, पिपिरा र ढोडेखाली खोलाका पुल निर्माण सम्पन्न भएका हुन् । आर्थिक वर्ष ०७५÷७६ बाट निर्माण सुरु गरिएका तीपुल पायल प्रविधिबाट निर्माण गरिएको छ । डिभिजन सडक कार्यालय सुर्खेतले ठेक्का आह्वान गरेर पुल निर्माणको जिम्मा सपना, आशिष, श्याम एण्ड शंकर जेभीले पाएको थियो । खोलाको माटो परीक्षणका आधारमा पायलिङ प्रविधिबाट पुल निर्माण सम्पन्न गरेको जेभीका प्रतिनिधि पदमबहादुर खड्काले जानकारी दिए । उनकाअनुसार सुर्खेतमा पायल प्रविधिबाट पहिलो पटक पुल निर्माण गरिएको हो ।
तीन पुल निर्माण सकेर एप्रोज रोड कालोपत्रेको काम सुरु गरिएको उनले बताए । ८ किलोमिटर फोरलेन सडकमा पाँचवटा पुल छन् । इत्राम र खोर्के खोलामा भएका पुल फोरलेन अनुकूल नभएपछि पुलको दायाँ–बायाँ विस्तार गर्न लागिएको छ । खोर्के र इत्राम खोलाको पुलको डिजाइन फेल भएपछि निर्माणमा ढिलाइ भएको हो । सडक विस्तारसँंगै फोरलेन सडकमा रहेका पुल फराकिलो बनाउन कार्यालयले नयाँ डिजाइन तयार गरेको थियो । पुराना पुल भएकाले पुलको जग फैलावट ठूलो भएकाले पायल प्रविधिबाट काम गर्न कम्पनीलाई असहज भएको हो । दुई पुलमा सडकअनुसारको पुलको क्षेत्रफल थप गर्दा जगमा फैलावट भएको फाउण्डेसनले तोडफोड गर्न नमिल्ने भएकाले डिजाइन ढिलाइ आउँदा निर्माण ढिलाइ भएको जेभीका प्रतिनिधि खड्काले बताए । गतवर्ष इत्राम खोलाको डिजाइन पुनः आएपछि निर्माण जारी छ भने खोर्के खोलाको एक साताअघि मात्रै निर्माण सुरु गरिएको छ । इत्राम खोलाको पुल चैतसम्म र खोर्के खोलाको पुल असारसम्म सक्ने लक्ष्य रहेको खड्काले जानकारी दिए । पाँच पुलको निर्माण लागत ३३ करोड ५० लाख रहेको छ ।

प्रतिक्रिया दिनुहोस्