सिँचाइमा नौ प्रतिशतमात्र खर्च «

सिँचाइमा नौ प्रतिशतमात्र खर्च


चालू आर्थिक वर्षको पहिलो चार महिनामा सिँचाइतर्फ जम्मा नौ प्रतिशतमात्र खर्च भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत सिँचाइतर्फ २४ अर्ब ६९ करोड २९ लाख बजेट रहेकोमा ८.९१ प्रतिशत मात्र खर्च भएको हो । मन्त्रालयले चालू वर्षको चौमासिकमा पुँजीगततर्फ ४ अर्ब १० करोड ८४ लाख तथा चालूतर्फ २९ करोड ३६ लाख खर्च गर्ने लक्ष्य राखेको थियो । चौमासिकमा गर्नुपर्ने खर्चमध्ये पुँजीगततर्फ १ अर्ब ९७ करोड मात्र खर्च भएको छ भने चालूतर्फ २२ करोड ७६ लाख खर्च भएको छ । चालू खर्च बढी भए पनि पुँजीगत खर्च भने चालू वर्षका चार महिनामा कम देखिएको छ ।
पहिलो र दोस्रो प्राथमिकता (पी १ र २) का २८ आयोजना रहेको सिँचाइमा पी–१ तर्फ ५० प्रतिशतभन्दा कम प्रगति भएका आयोजनाको संख्या ७, ५०–८० प्रतिशत प्रगति रहेको ४ र ८० देखि एक शतप्रतिशतसम्म प्रगति हुनेमा १३ आयोजना छन् भने पी–२ तर्फ २ आयोजनाले ५० देखि ८० र २ ले ८० प्रतिशत माथि प्रगति गरेका छन् । आयोजनाहरूमा ८० प्रतिशतभन्दा कम प्रगति हुनुमा कोभिड–१९, बर्षाद, कर्मचारी सरुवा तथा पदस्थापना, विभिन्न कार्यालयहरूलाई कार्य विभाजन गरी केन्द्रको कार्यक्रमलाई सम्बन्धित कार्यलयमा पठाउन संशोधन प्रस्ताव हुँदा समय लागेको लगायतका कारण देखाइएको छ ।
सिँचाइमा पुँजीगत खर्च कमजोर देखिए पनि मन्त्रालयले भने विकासे आयोजनाहरूको प्रगति रहेको दाबी गरेको छ । मन्त्रालयको आर्थिक वर्ष २०७७-७८ को प्रथम चौमासिक प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समिति (एम्ड्याक) बैठकमा विभिन्न विभाग तथा कम्पनीले प्रस्तुत गरेको प्रतिवेदनहरूले विकास आयोजनाका काममा सन्तोषजनक प्रगति दाबी गरेको हो ।
ऊर्जा मन्त्रालयले पछिल्लो चार महिनामा ७८ प्रतिशत वित्तीय र ७७.८८ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । यस्तै सिंचाइतर्फको वित्तीय प्रगति ४२. ६६ र भौतिक प्रगति ७३. ६४ छ । मन्त्रालयको समष्टिगत वित्तीय प्रगति ६८.७३ प्रतिशत र भौतिक प्रगति ७६. ७४ प्रतशित छ । मन्त्रालयको आर्थिक वर्ष २०७७-७८ का लागि कूल बजेट ९९ अर्ब २९ करोड ४८ लाखमध्ये पहिलो चौमासिकका लागि २० अर्ब ४२ करोड २६ लाख विनियोजन गरिएको थियो । जसमा १४ अर्ब ३ करोड ७४ लाख रुपैयाँ खर्च भएको छ । यो कूल चौमासिक बजेटको ६८.७३ प्रतिशत हो ।
बैठकमा मन्त्री वर्षमान पुनले कोभिड––९ महामारीको समयमा समेत मन्त्रालयको प्रगति सन्तोषजनक देखिएको दाबी गरेका थिए । “कोरोना महामारीको संवेदनशील अवस्थामा समेत ७८ प्रतिशत वित्तीय र झण्डै ७८ प्रतिशत नै भौतिक प्रगति हुनु खुसीको कुरा हो,” मन्त्री पुनले भने ।

प्रतिक्रिया दिनुहोस्