रघुगंगा नदीमा पुल निर्माण

म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँधतर्फ जाने रघुगंगा नदीमा मोटरेबल पुल निर्माण गरिएको छ । वडा नम्बर ४ दग्नामको बुग्ल र वडा नम्बर ५ को झिँ जोड्ने गरी रघुगंगा नदीमा मोटर गुड्ने बेलिब्रिज निर्माण गरिएको हो ।
राहुघाटको सिभिल ठेकेदार जयप्रकाश (जेपी) एसोसियट्सले ट्रस प्रविधिको ४० मिटर लामो र ३.५ मिटर चौडाइ भएको पुल निर्माण गरेको हो । ट्रस प्रविधिको ४० मिटर लामो पुलले ४० टन भारबहन गर्नसक्ने क्षमता रहेको जेपी एसोसियट्सका इन्जिनियर जितेन्द्र सिंहले जानकारी दिए । उनका अनुसार राहुघाट नदीको दायाँ र बायाँ पक्की पर्खाल उठाएर स्थायी प्रकृतिको पुल बनाउन दुई करोड ५० लाख खर्च भएको छ । पुल निर्माण भएसँंगै राहुघाट जलविद्यूत् आयोजनाको बाँध सिधा सडक सञ्जालमा जोडिएको छ । यसअघि नदीमा पुल नहुँदा बाँध निर्माणका लागि आवश्यक पर्ने उपकरण र सामग्री ढुवानी हुन सकेको थिएन् । राहुघाट जलविद्युत् आयोजनाका उपप्रबन्धक कृष्ण बस्नेतले दुई वर्षअघि सुरु भएको मोटरेबल पुल निर्माणको काम सोमबार सकिएसँगै आयोजनाको बाँध निर्माण स्थलसम्म सवारी साधन पुग्न थालेको बताए ।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेड प्रवद्र्धक रहेको राहुघाट जलविद्युत्को रघुगंगा ३ तिल्केनीस्थित विद्युत् गृहदेखि दग्नाम र झिँको फेदीमा निर्माण हुने बाँधसम्म १० किलोमिटर पहुँचमार्ग निर्माण भइसकेको छ । सडक निर्माण भए पनि पुल नभएका कारण बाँधसम्म यातायातको पहुँच पुग्न सकेको थिएन् । यहाँ पुल निर्माणले जलविद्युत्को बाँधस्थलसँंगै रघुगंगा गाउँपालिकाको वडा नम्बर ५ झिँ र ६ नम्बर वडा पाखापानीका बस्ती गाउँपालिकाको केन्द्र मौवाफाँटसँंग सिधा सडक सञ्जालमा जोडिएका छन् । उनीहरूलाई गाउँपालिकाको सेवा लिनका लागि बेनी नगरपालिका घुमेर जाने समस्या हटेको छ । बुग्लदेखि झिँ जोड्ने सडकको ट्र्याक निर्माण भइसकेकाले गाउँपालिकाले सडकलाई मर्मत र स्तरोन्नति गरी झिँदेखि मौवाफाँटतर्फ नियमित सवारी साधन सञ्चालन गर्ने तयारीमा जुटेको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।
मोटरेबल पुल बनेसँगै झिँ र पाखापानीका बासिन्दालाई गाउँपालिकाको केन्द्र मौवाफाँट आवतजावतका लागि बेनी हुँदै घुमाउरो बाटोको यात्रा गर्नुपर्ने बाध्यता हट्ने छ । गाउँपालिकाले पाखापानीको औला हुँदै राहुघाटको बाँध जोड्ने सडक पनि निर्माण गर्ने तयारी गरेको जनाएको छ ।