विद्युत् प्राधिकरण स्मार्ट ग्रिडतिर «

विद्युत् प्राधिकरण स्मार्ट ग्रिडतिर


ग्राहकलाई सहज, सर्वसुलभ, भरपर्दो तथा किफायती विद्युत् आपूर्तिसहितको आधुनिक सेवाका लागि नेपाल विद्युत् प्राधिकरण स्मार्ट ग्रिड प्रणालीको अवधारणामा अग्रसर भएको छ ।
डिजिटल विद्युत् प्राधिकरणको अवधारणा अनुसार पुरानो विद्युत् वितरण प्रणालीलाई सुधार र स्तरोन्नती गरी नयाँ स्मार्ट ग्रिड विस्तारका लागि अग्रसर भएको हो । विद्युत् उत्पादन, प्रशारण लाइन तथा वितरण प्रणालीलाई भरपर्दो तथा समय सान्दर्भिक तथा विद्युत् सम्वन्धि विश्वव्यापी रुपमा अपनाइएका नवीनतम प्रविधि भित्र्याई नेपालको विद्युत् क्षेत्रलाई आधुनिक बनाउनका लागि प्राधिकरणले स्मार्ट ग्रिड प्रणालीलाई अघि बढाएको विद्युत् प्राधिकरणले जनाएको छ ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) द्वारा बिहीबार आयोजित वेविनार कार्यक्रममा बोल्दै प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गुणस्तरीय, भरपर्दो र किफायती ऊर्जाका लागि स्मार्ट ग्रिडको अवधारणा अघि बढाएर काम सुरु गरिसकेको जानकारी दिए ।
उनका अनुसार, विद्युत् प्राधिकरणले आफ्नो बन्ने संरचना तथा सेवालाई डिजिटलाइज गर्दै अघि बढेको छ । “स्मार्ट ग्रिड सिस्टममा प्राधिकरणलाई जति चाँडो लैजान सकिन्छ उति चाँडो हामी गुणस्तरिय विद्युत् उपभोक्तालाई दिन सक्छौं र विद्युत् प्राधिकरणको प्रणाली पनि सशक्त हुन्छ, हामीले विद्युत् उत्पादनदेखि प्रशारण लाइन, वितरण, र भारप्रेषण केन्द्रलाई आधुनिक बनाउँदै छौ” उनले भने, “जसमा विद्युत् उत्पादनदेखि उपभोक्ताको घरसम्म पुग्ने विद्युत्को समग्र प्रणालीलाई एउटा विस्तृत फ्रेमवर्क भित्र अटाउन सकिन्छ । संरचना निर्माणमा आधुनिक प्रविधिलाई जोड दिएका छौं, सर्वसाधारणको घरसम्म पुग्ने स्मार्ट मिटरलगायतका काम तीव्र गतिमा अघि बढेको छ ।”
नेपाल सरकार तथा प्राधिकरणकै मास्टर प्लान अनुसार सबै निर्देशनालय तथा कार्यालयलाई अत्याधुनिक प्रविधिमैत्री (डिजिटलाइज्ड एनइए) बनाउनका लागि काम गरिरहेको उनले बताए ।
कार्यक्रमा बोल्दै एसियाली विकास बैक (एडिबी) नेपाल कन्ट्री मिसन प्रमुख मुख्तर खामुदखानोभले संसारका धेरै देशहरुले विद्युत्को क्षेत्रलमा उत्पादन, प्रशारण तथा वितरण प्रणालीलाई स्तरोन्नति गरिरहेको र नेपालले पनि वर्षौं पुराना विद्युत्का संरचनाहरुलाई स्तरोन्नति गरी विद्युत् उपभोक्तालाई समयसापेक्ष अनुसारको सेवा तथा सुविधा दिनुपर्ने बताए ।
“विश्वमा विद्युत् क्षेत्रमा प्रयोग भएका नवीनतम प्रविधि तथा सञ्चारको विकास भइरहेको तथा धेरे देशहरुले त्यसलाई आत्मसाथ गरिसकेको अवस्थामा नेपालले पनि स्मार्ट ग्रिड लगायतमा विभिन्न प्रविधिहरु भित्र्याउनका लागी नीतिगत सुधार समते गर्नुपर्नेहुन्छ” उनले भने, “तर वास्तवमा अन्य देशहरुले यो क्षेत्रमा भएका नवीनतम विकासहरुलाई आत्मासाथ गरिसकेका कारण नेपालको समग्र ग्रिड मोर्डननाइजेसन गर्न प्रविधिले साथ दिने र यो काम धेरै चाँडो गर्न सकिने देखिन्छ जुन प्राधिकरणले सहज रुपमा गर्न सक्छ ।”
एडिवीका दक्षिण एसिया विभाग हेर्ने मुख्य उर्जा विशेषज्ञ जीवन आचार्यले अपर्याप्त उर्जा उत्पादन, कमजोर वितरण प्रणाली र प्रसारण पूर्वाधारका कारण नेपालको विद्युत् क्षेत्रले धेरै चुनौतिको सामना गरिरहेको बताए । उनले वर्षौंको लगानी र विद्युत् क्षेत्र सुधारमा ढिलाइ भएका कारण नेपालले यो समस्या भोग्नुपरेको बताए ।
प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले स्मार्ट ग्रिड प्रणालीको अवधारणा अनुरुप हाल काठमाडौ उपत्यकाममा स्मार्ट मिटर जडान तथा विद्युत्को तार भूमिगतको काम भइरहको जानकारी दिए ।
रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रहरु अन्तर्गत रहेका ग्राहकहरुको सर्भे कार्य संम्पन्न गरी मिटर जडान कार्य समेत सुरु गरिसकेको र हालसम्म करिब १५,००० थान स्मार्ट मिटर जडान समेत भसकेको सिलवालले जानकारी दिए । एडिवीको सहयोगमा प्राधिकरणले हाल काठमाडौंको रत्नपार्क तथा महाराजगञ्ज विद्युत् वितरण केन्द्रमार्फत विद्युत् उपभोक्ताहरुलाई ‘एनइए डिजिटल क्याम्पेन’अन्तर्गत स्मार्ट मिटरको जडान तथा वितरणको कामलाई तिब्रता दिइरहेको छ । प्राधिकरणले पहिलो चरणमा एक लाख घरायसी ग्राहकलाइ स्मार्ट मिटर दिने जनाएको छ । एडिवीको सहुलियतपूर्ण ऋणमा प्राधिकरणले काठमाडौं उपत्यकाका करिब ४० लाख पुराना मिटर परिवर्तन गरी नयाँ जडान गर्ने काम अघि बढाइरहेको छ । कार्यक्रममा अष्ट एण्ड योङका निर्देशक भिनित मिश्रले विश्वका धेरै देशहरु स्मार्ट ग्रिडमा गइसकेको जानकारी दिँदै यसबाट नेपालले ठूलो फाइदा लिन सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्