सहकारीको गुणस्तर प्रमाणीकरणबाट विभाग बाहिरियो «

सहकारीको गुणस्तर प्रमाणीकरणबाट विभाग बाहिरियो


बचत तथा ऋण सहकारी संस्थाको गुणस्तर प्रमाणीकरण कार्यक्रमबाट संघीय सहकारी विभागले हात झिकेको छ । ब्राण्ड पाएका सहकारी संस्थाको गुणस्तरमा प्रश्न उठ्न थालेपछि चालू वर्षदेखि विभागले प्रमाणीकरण गर्न छोडेको हो ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले चार वर्षदेखि सञ्चालन गर्दै आएको प्रोवेश ब्राण्डलाई विभागले समेत प्रमाणीकरण गर्दै आएको थियो । ब्राण्ड सूचिश्चितता गरि प्रदान गरिने प्रमाणपत्रमा विभागका रजिष्ट्रारको हस्ताक्षरका साथै सरकारको लोगो समेत प्रयोग हुँदै आएको थियो ।
विभागले गुणस्तर प्रमाणीकरण अस्वीकार गरेपछि यसवर्षबाट नेफ्स्कूनले मात्र प्रमाणीकरण गर्न थालेको छ । यस वर्ष ब्राण्ड पाएका ४० संस्थाहरूलाई नेफ्स्कूनले मात्र प्रमाणीकरण गरी शुक्रबार सम्पन्न साधारणसभामा प्रमाणपत्र प्रदान गरेको छ । संघीय व्यवस्था अनुसार सहकारीको दर्ता तथा नियमनको अधिकार स्थानिय तहसम्म हस्तान्तरण भएपछि गत वर्ष नै संघीय विभागले आफ्नो नियमन बाहिर रहेका सहकारीको गुणस्तर प्रमाणीकरण गर्न अस्विकार गरेको थियो ।
यस्तै ब्राण्ड पाएका संस्थाको गुणस्तरमा प्रश्न उठ्न थालेपछि विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले गत वर्ष नै प्रमाणीकरणमा हस्ताक्षर गर्न अस्विकार गरे पनि सहकारी नेताहरूले दबाब दिएर हस्ताक्षर गराएका थिए । प्रोवेशन कार्यक्रमअन्र्तगत नेफ्स्कूनले २०७४, २०७५, २०७७ सालमा गरी तीन पटक संस्थाहरूलाई ब्राण्ड प्रदान गरिएको छ । पहिलो वर्ष विभागले हस्ताक्षर नगरेपनि दोस्रो वर्षको ब्राण्डमा तत्कालिन रजिष्ट्रार केशवप्रसाद रेग्मीले र २०७७ सालको ब्राण्डमा रजिष्ट्रार पाण्डेले हस्ताक्षर गरेका छन् ।
पछिल्लो समयमा ब्राण्डका लागि सहकारी संस्थाबिच अस्वस्थ प्रतिस्पर्धाका साथै आर्थिक चलखेल समेत हुने गरेको समाचार सार्वजनिक हुन थालेको छ । नेपालमा एसियाली ऋण महासंघ (अक्कु) तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले सहकारीको गुणस्तर सूनिश्चितता गर्ने ब्राडिङ कार्यक्रम एक्सेस २०६५ सालदेखि सञ्चालन गर्दै आएका छन् । हाल यस कार्यक्रममा ६ दर्जन संस्थाहरू आवद्ध छन् । नेफ्स्कूनले नै सहकारी विभागसँगको सहकार्यमा प्रोवेशन र आफैले मात्र कव्र्स समेत सञ्चालन गरिरहेको छ । दुवै कार्यक्रममा गरी ५ सय हाराहारीमा संस्था आवद्ध रहेका छन् । यसैगरी गत वर्षबाट राष्ट्रिय सहकारी बैंकले समेत एससिबिएल केयर नाममा ब्राण्डिङ कार्यक्रम सुरु गरेको छ ।
गुणस्तर सुनिश्चितता गर्नका लागि संचालन गरिएका कार्यक्रममा सहभागितामा सहकारीको आकर्षण बढ्दै गएपनि ब्राण्ड लिनका लागि भएका चलखेलका कारण विश्वसनियतामा भने प्रश्न उठ्न थालेको छ । ब्राण्डका लागि संस्थाहरूबीच अस्वस्थ प्रतिस्पर्धा बढेको, आर्थिक चलखेल भएका, संस्थाको छनोट र लेखापरीक्षण पारदर्शी नभएको र संचालक समितिको हस्तक्षेप भएका जस्ता घटनाहरू सार्वजनिक हुन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्