पूर्वाधार विकासमा स्थानीयसँग हातेमालो «

पूर्वाधार विकासमा स्थानीयसँग हातेमालो

जिल्लाः पाँचथर
क्षेत्रफलः १६६.६१ वर्गकिमी
अध्यक्षः अमरराज माखिम
उपाध्यक्षः उर्मिला राई
जनसंख्याः २४६१५
बसोबासः राई, तामाङ, सुनुवार, क्षेत्रीबाहुन, लिम्बुलगायत
प्राकृतिक सम्पदाः मिक्लाजुङ डाँडा,जरीबुट्टे डाँडा, छालासुक्वा डाँडा, यबराङ छाँगा, बेहुलीढुंगा, फुङसिङ

पाँचथरको दक्षिणी गाउँपालिका हो मिक्लाजुङ । पूर्वी पहाडको दुर्गम जिल्लाको दुर्गम गाउँपालिकाका दुःख पनि बग्रेल्ती छन् । तर, आम जनताको दुःखमा मल्हम लगाउन कस्सिएका छन् अध्यक्ष अमरराज माखिम । माखिम निर्वाचित भएबाट सुविधामुखी गाडी नभइ मोटर साइकलबाटै घरदैलो पुगेर नागरिकको सेवा गरिरहेका छन् । पाँचथरका सबै स्थानीय सरकारहरूले महँगो सवारी साधनमा प्रतिस्पर्धा गरिरहँदा माखिम मोटरसाइकलमा नागरिकको सेवा गरिरहेका भेटिन्छन् । महँगो सवारी किन्ने खर्चले आफ्नो पालिकाको विभिन्न वडामा रहेका विद्यालयको भवन बनाउने गरेको माखिम बताउँछन् ।
मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएपछि विकास र समृद्धिलाई केन्द्रमा राखेर काम गर्ने गरेको माखिम बताउँछन् । राम्रो सडक सञ्जाल नभएको अवस्थामा गाउँपालिकाको लागि महँगो गाडी खरिद गर्दा खर्चमात्र बढ्ने उनको तर्क छ । “सडकको अवस्था एकदम नाजुक छ, पहिला यसलाई सुधार गर्नुपर्छ । हामी जनातको सेवा गर्न आएका प्रतिनिधि हौं, जनतालाई सेवा प्राप्त गरेको महशुस गराउनु पर्छ,” माखिम भन्छन् ।
आठवटा वडा रहेको मिक्लाजुङ गाउँपालिकाको केन्द्र रविबजार हो । मिक्लाजुङ गाउँपालिकाको सबै वडामा सडक निर्माण भइसकेको छ । एक वडाबाट अर्को वडा जोड्ने सडक समेत निर्माण भएको छ । कृषि सडकलाई प्राथमिकतामा राखेर गाउँपालिकाले सडक निर्माण गएिको माखिम बताउँछन् । मिक्लाजुङ गाउँपालिकामा अहिले दुईवटा वडाबाहेका अरु सबै वडामा बिजुली सुविधा पुगेको छ भने वडा नम्बर २ सप्तमी बजारमा हावाबाट समेत बिजुली उत्पादन गरी प्रयोग भइरहेको छ । रबिबाट दमक जाने फाल्गुनन्द मार्ग समेत निर्माणाधीन अवस्थामा छ । यो सडक निर्माण भएसँगै मिक्लाजुङ गाउँपालिकाको केन्द्रबाट दमक पुग्न अझ सहज हुने विश्वास उनको छ ।
सहर बन्ने क्रममा रहेको रबि बजारमा गाउँपालिकाको केन्द्र बनेपछि तराई झरेकाहरू पनि रवि बजार फर्किन थालेका छन् । लिफ्टसहित गाँउपालिका भवन, सामुदायिक भवन निर्माणको काम भइरहेको छ भने खुला आकासमुनि रहेको पशुहाट, कृषि हाट बजारलाई व्यवस्थित गरिएको छ । बधशाला निर्माण सम्पन्न भएको छ । रवि बजारको खानेपानी समस्या समाधानका लागि अघि सारिएको योजना पूरा भएकोमा दंग छन् माखिम ।
पाँचथरको फिदिम पछाडिको ठूलो बजार भए पनि केही वर्ष अघिसम्म विद्युतीकरण नभएको गाउँपालिकाको केन्द्र रवि बजार दुई वषमा केन्द्रीय प्रशारण लाइन पुगेको छ । अस्तव्यस्त रहने यो बजारनजिकै पशु बजार निर्माण गरिएको छ भने पशु बधशाला पनि निर्माण भइसकेको छ । प्रदेश सरकारको सहयोगमा ५० लाख लागतमा पशु बजार निर्माण गरिएको र यसका लागि स्थानीयले निशुल्क जग्गा गाउँपालिकालाइ उपलब्ध गराएका थिए । यस्तै, स्थानीय सहभागिता उत्साहजनक छ । आँखा अस्पतालको लागि स्थानीयले ६ रोपनी जग्गा गाउँपालिकालाई दिएका छन् । बजारनजिक ४ रोपनी जग्गामा डम्पिङ साइड पनि तयार गरिँदै छ । चिडियाखानाको लागी १५ रोपनी जग्गा गाउँपालिकाले प्राप्त गरिसकेको र अब निकट भविष्यमा निर्माणको योजना छ ।
रबि बजारमा अहिले प्रदेश सरकारको सहयोगमा अतिथि सभागृह पनि निर्माण भइरहेको छ । चार रोपनी जग्गामा कृषि थोक बजार निर्माण गर्ने तयारी गाउँपालिकाले सुरु गरेको छ । भवन तथा अन्य निर्माणका कामका लागि गाँउपालिकाले जग्गा स्थानीयवासीले दिने गरेको माखिम बताउँछन् । उनका अनुसार गाँउपालिका विभिन्न क्षेत्रमा पूर्वाधार निर्माण तथा अन्य प्रयोजनका लागि स्थानीय बासिन्दाले २७५ रोपनी जग्गा निःशुल्क रूपममा गाँउपालिकालाई उपलब्ध गराएका छन् ।
रवि बजार आसपासदेखि भित्री गाँउमा आवश्यक पर्ने जग्गा उपलब्ध भएको हो । अनुरोधलाई जनताले स्वीकार्दै विस्वासले जग्गा उपलब्ध गराएको उनी सुनाउँछन् । स्वास्थ्य केन्द्र, सभागृह, कृषि थोक, बसपार्क, कवर्ड हल, डम्पिङ साइट, चिडियाखाना, चिस्यान केन्द्र, हाईअल्टीच्यूट खेलमैदान, पशु बजार, कृषि भवन, आँखा अस्पताल, गाँउपालिका भवन, नापी, मालपोत लगायतका कार्यालयका लागि जग्गा निःशुल्क प्रदान गरिएको छ । जग्गा दिइएको ठाँउमा पूर्वाधार निर्माणको काम अघि बढाइएको माखिमले जानकारी दिए ।
रबि बजारभित्र अहिले सडक पिच गर्ने कार्य सम्पन्न भएको छ । प्रदेश नम्बर एक सरकाको सहयोगमा सडक र नाली बनाउने कार्य समम्पन्न भएको माखिम बताउछन् । प्रदेश सरकारको ५ करोड ८० लाख लागतले बजार भित्रको २३ सय मिटर सडक पिच गरिसकिएको छ । पूर्वाधारको निर्माणसँगै मिक्लाजुङ आसपासबाट तराइ तर्फ बसाइसर्ने दर घट्दै गएको स्थानीयहरू बताउछन् । रबि बजारमा ब्यापार गर्नेहरूको संख्यामा बृद्धि हुदै गएको स्थानीय ब्यापारिहरू बताउछन् । झापा,मोरङ झरेका व्यापारीहरू पनि रवि बजारमा फर्किन थालेका छन् ।
गाउँपालिकाले कृषकको लागि पनि विभिन्न प्याकेजहरू ल्याउँदै गरेको छ । गाँउपालिकामा धेरै अन्न उत्पादन गर्नेलाई अनुदान सहयोग गर्ने योजना गाँउपालिकाबाट पारित गराएका छन् । ४० मुरीभन्दा धेरै धान फलाउने किसानले १ लाख रुपैयाँ अनुदान पाउँछन् । यस्तै, चार फुट अग्लो र २० फुट लम्बाईको थाङ्ग्रो मकै फलाउने किसानलाई पनि १ लाख अनुदान दिने घोषणा गरिएको छ । मकै फलाउने किसानले आवेदन दिइरहेको उनले जानकारी दिए । यस्तै, ३५ मनदेखि माथि आलु फलाउनेलाई प्रतिकेजी २० रुपैयाँ अनुदानको कार्यक्रम सुरु भएको छ । कोलस्टोर र जुस फ्याक्ट्री बनाउन काम पनि सुरु भएको माखिमले बताए । गाउँपालिकाले नमुना कृषि फर्मका लागि ४२ रोपनी जग्गा किनेर काम सुरु गरिसकेको माखिमको भनाइ छ ।
सिँचाइ कुलोका योजना सञ्चालनमा रहेको गाउँपालिकामा पशुपालनका कार्यक्रम पनि अघि सारिएको माखिमले जानकारी दिए । कृषकलाई दिएका अनुदान सदुपयोग भए नभएको अनुगमन गर्न वडा स्तरमै संयन्त्र बनाइएको उनले जानकारी दिए ।
रवि–राँके–भेडेटार सडक खण्ड निर्माणको चरणमा छ । बाटो निर्माणको कार्य धमाधम भइरहेको छ । सो सडक पक्की बन्ने भएसँगै रबि र मिक्लाजुङ तिरका स्थानीयहरू अब रबि बजार सहर बन्नेमा आशावादी रहेको स्थानीय पविन सुब्बाले बताए । राँके बजारबाट १०० किलोमिटरको दूरीमा धनकुटाको भेडेटार रहेको छ । रबि–राँके–भेडेटार सडक खण्ड निर्माण भए पछि रबि बजारको सिधा सम्पर्क भेडेटार र धरानसँग हुने हुँदा यहाँ अर्को उत्साह छ । रवि बजारबाट दमक फाल्गुनन्द मार्ग ४२ किलोमिटरको दूरीमा छ ।

प्रतिक्रिया दिनुहोस्