सांस्कृतिक पर्वले सामाजिक सदभाव र राष्ट्रिय एकता बलियो हुन्छ : मन्त्री भट्टराई «

सांस्कृतिक पर्वले सामाजिक सदभाव र राष्ट्रिय एकता बलियो हुन्छ : मन्त्री भट्टराई

वीरगन्ज-संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालमा मनाइने सांस्कृतिक पर्वहरुले नै सामाजिक सदभाव र राष्ट्रिय एकता बलियो बनाउने बताएका छन् । तराई मधेसमा मनाइने ठूलो पर्व छठको अवसरमा वीरगन्जमा बिहीबार आयोजना गरिएको ‘एक प्रदेश एक सांस्कृतिक पर्व’ कार्यक्रममा बोल्दै उनले छठ पर्व अब एक क्षेत्र र समुदायको मात्रै नभई पूरा देशभर नै मनाउन थालिएकोले यो राष्ट्रिय पर्वको स्वरुप बनिसकेको बताए ।
उनले छठ पर्व राष्ट्रिय पर्व भएकैले सरकारले सार्वजनिक विदा समेत दिन थालेको बताउँदै नेपालका सांस्कृतिक र धार्मिक महत्वका स्थानहरुलाई विकास गरी पर्यटन प्रवद्र्धनमा जोडनुपर्ने बताए । कोरोना महामारीले धरासायी भएको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि स्थानीय, प्रदेश र संघ तीनवटै सरकारको समन्वयकारी भूमिका हुनुपर्ने बताए । प्रदेश–२ मा रहेका विभिन्न धार्मिक स्थलका पोखरी, नदी, तलाउहरुको सौन्दर्यकरण गरी पर्यटन पूर्वाधारको विकास गर्नुपर्ने बताए ।
नेपालमा मनाइने हरेक सांस्कृतिक पर्वहरुले सामाजिक सद्भाव कायम गरी राष्ट्रिय एकता बलियो बनाउने भएकाले सबै पर्वहरुलाई राज्यले उत्तिकै महत्व दिएको बताउँदै त्यसैका लागि आपूm तराइमा मनाइने छठ पर्वमा सहभागी हुन वीरगन्ज आएको बताए ।
यसअघि नेकपा पर्साको पार्टी कार्यालयमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री भट्टराईले नेपालसँगको अन्तर्राष्ट्रिय सीमा नाका खोल्ने सरकारले तयारी गरिरहेको जानकारी दिँदै कोरोना भाइरस संक्रमणको जोखिम अझै कायमै रहेकाले अब स्वास्थ्य सुरक्षा मापदण्डलाई भने कडाइका साथ कार्यान्वयन गराउन सबैले भूमिका खेल्नुपर्ने बताए ।
भारतसँगको सीमा नाका बन्द हुँदा यसक्षेत्रका नेपाली नागरिकको जनजीवनमा पनि प्रभाव परेकोले सरकारले अब (एसएमएस) अर्थात सेनिटाइजर, मास्क र सामाजिक दूरीलाई कडाइका साथ पालना गरेर मात्रै नाका खोल्ने बताए । नेकपाकै नेतृत्वमा सरकार भएकाले सरकारले लागू गर्ने नियमलाई कडाइका साथ पालना गराउन स्थानीय सरकार र प्रदेश सरकारलाई पनि पार्टी पंक्तिले सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्