गुराँस लाइफसहित तीन कम्पनीको साधारणसभा आज «

गुराँस लाइफसहित तीन कम्पनीको साधारणसभा आज

गुराँस लाइफ इन्स्योरेन्स, ओरियण्टल होटल र माछापुच्छ्रे क्यापिटलको वार्षिक साधारणसभा बिहीवार हुँदैछ । गुराँस लाइफ इन्स्योरेन्सले ५.२५ प्रतिशत बोनस प्रस्तावसहित विविध प्रस्ताव बिहीवार पारित गर्र्दैछ । साधारणसभाका लागि कम्पनीले कात्तिक २० गतेदेखि मंसिर ४ गतेसम्म बुक क्लोज गरेको छ । यसर्थ लाभांश प्राप्त गर्न र साधारणसभामा भाग लिनका लागि कात्तिक १९ गतेसम्म कायम सेयरधनीहरु योग्य भएका छन् । कम्पनीले आर्थिक वर्ष २०७४÷०७५ को लागि चुक्तापुँजी ९३ करोड ८५ लाख २० हजारको आधारमा १०.५० प्रतिशत बोनस शेयर जारी गर्ने प्रस्ताव गरेको थियो । हाल कम्पनीले शत प्रतिशत हकप्रद सेयर जारी गरिसकेकाले उक्त हकप्रद पश्चात चुक्तापुँजी १ अर्ब ८७ करोड ७० लाख ४० हजार कायम हुने भएकाले सो पुँजीको आधारमा ५.२५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव सभाले पारित गर्नेछ ।
साथै, उक्त बोनसमा लाग्ने कर बापतको रकम नगद लाभांशको रुपमा वितरण गर्ने प्रस्ताव समेत कम्पनीले सभाका लागि तय गरेको छ । लाभांश सँगै सभाले संस्थापकबाट ५ जना र सर्वसाधारणबाट १ जना गरी ६ जना सञ्चालकको निर्वाचन समेत गर्नेछ ।
त्यस्तै, ओरियण्टल होटल लिमिटेडले सभाका लागि यो वर्ष कुनै पनि लाभांश प्रस्ताव गरेको छैन । सभाले गत आर्थिक वर्ष २९७६÷०७७ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै चालू आर्थिक वर्षको लेखा परिक्षण्का लागि लेखा परीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्नेछ । सभा प्रयोजनका लागि होटलले कात्तिक २० गतेदेखि मंसिर ४ गतेसम्म बुक क्लोज गरेको छ । यस आधारमा कात्तिक १९ गतेसम्म कायम सेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।
बिहीबार नै माछापुच्छ्रे क्यापिटलले पनि साधारणसभा गर्ने भएको छ । सभाले गत वर्षको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै सञ्चालक समितिले प्रस्ताव गरेको ६.४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव समेत पारित गर्नेछ । साथै, माछापुच्छ्रे क्यापिटल र कृति क्यापिटल मर्जरको विषयमा भएको अन्तिम सहमतिलाई पनि पारित गर्ने कार्यक्रम सभाका लागि तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्