Logo

१८ सय फुसको छानो विस्थापन गरिने


संखुवासभाको १० स्थानीय तहमा रहेका १ हजार ८ सय ८० घरधुरीका फुसको छानो हट्ने भएका छन् । सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत गरिब तथा विपन्न परिवारको आवश्यकतालाई मध्यनजर गर्दै सरकारले फुसको छानो भएका नागरिकलाई अनुदानमा जस्तापाता उपलब्ध गराउने भएपछि फुसको छानो विस्थापन हुने भएको हो ।
सहरी विकास मन्त्रालयले गरिब तथा विपन्न वर्गलाई प्राथमिकता दिई अनुदान उपलब्ध गराउने निर्णय गरेकाले स्थानीय तहसँंग समन्वय गरी फुसको छानो हटाउने प्रक्रिया सुरु गरेको सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाले जनाएको छ । सुरक्षित नागरिक आवास समन्वय समितिका संयोजक तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतमले गरिबीका कारण फुसको छानो भएका झुपडीमा जीवन निर्वाह गरिरहेका विपन्न र गरिबका घरमा बर्सेनिजसो हुने गरेको आगलागीका घट्नामा कमी ल्याउन र ग्रामीणबस्तीको सुन्दरता बढाउन कार्यक्रम प्रभावकारी रहेको बताए ।
वडाबाट आवेदन संकलन गरी स्थानीय तहमा रहेको अनुगमन तथा मूल्यांकन समितिमार्फत मापदण्डका आधारमा लाभग्राही पहिचान गरिँदै आएको खाँदबारी नगरपालिकाले जनाएको छ । संखुवासभाका १० स्थानीय तहमध्ये खाँदबारी नगरपालिकामा ३ सय ४०, चैनपुरमा ३ सय ६०, धर्मदेवीमा १ सय ८६, पाँचखपनमा २ सय ४३, मादी नगरपालिकामा १ सय ६५ घरधुरीलाई जस्तापाता उपलब्ध गराइने जनाइएको छ । त्यसैगरी चिचिला गाउँपालिकामा १ सय २९, भोटखोलामा ६१ मकालुमा १ सय ४४, सभापोखरीमा १ सय ६३ र शिलिचोङ् गाउँपालिकामा १ सय ७९ घरधुरीले सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत जस्तापाता अनुदान पाउने आयोजनाले जनाएको छ ।
जस्तापाताको छानो लगाउनका लागि लाभग्राहीले पहिलो किस्तामा ३० हजार, बिलबिजक र काम सम्पन्न गरेपछि ५ प्रतिशत व्यवस्थापन खर्च कटाएर २० हजार उपलब्ध गराइने कार्यविधिमा उल्लेख गरिएको छ । सरकारले देशभरका २० हजार घरधुरीलाई सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत फुसको छानो विस्थापनका लागि करिब १ अर्ब बराबरको बजेट ब्यवस्था गरेको छ ।
उक्त कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धित स्थानीय तहमा मन्त्रालयले फाराम पठाइसकेको सुरक्षित नागरिक आवास समन्वय समितिका संखुवासभा संयोजक तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्