गुणस्तरीय सडक बनाउन माग «

गुणस्तरीय सडक बनाउन माग

दाङ-घोराही–प्युठान सडक निर्माणको काम गुणस्तरीय बनाउन माग गरिएको छ । सडक निर्माण गर्दा गुणस्तरीय नभएकाले गुणस्तरीय बनाउन माग गरिएको हो ।
दाङ जिल्ला उद्योग वाणिज्य संघ बंगलाचुली शाखाले घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो माग गरेको हो । पत्रकार सम्मेलनमा उद्योग वाणिज्य संघ बंगलचुली शाखा अध्यक्ष रुकप्रसाद पुलामीले अहिले पिच गर्न थालिएको सडकमा गुणस्तरीय काम नभएको बताए । “निर्माणाधीन सडकको बेसमा स्थानीय माटो र ढुंगा हालेको त्यस्तै धुलाम्य बाटोमाथि अलकत्रा राखी पिच गर्न लागिएको छ,” पुलामीले भने । यसरी गरिएको सडक टिकाउन नहुनेसमेत उनले बताए । यसरी गरिने कामले राज्यको करोडौं लगानीसमेत खेर जाने पुलामी बताउँछन् । यसरी गरिएको काम रोकिएर गुणस्तरीय काम गरिनु पर्ने उनको भनाइ छ । गुणस्तरीय सडक निर्माणका लागि अनुगमन र सुधार गर्ने, अधुरो रहेको बचेनी–मुर्कटी खण्डको निर्माण सुचारु गर्न र अवैध उत्खनन् रोक्नका लागि सम्बन्धित निकायसँंग समेत आग्रह गरेका छन् ।
दशकौ देखि गाडी चलिरहेको सडकको सतह नै गहिरो हुने र आधार कमजोर गराउँदा दुर्घटनाको जोखिम बढ्ने गरी उत्खनन् गरेको भन्दै यसलाई रोक्नसमेत उनले माग गरे । निर्माण कम्पनीले काउले लसुने भीर क्षेत्रमा सडकको सतह नै गहिरिने गरि ढुंगा उत्खनन्, गरेको र बचेनी–लामपोखरी भन्ने स्थानमा सडक छेउको भीरतर्फ दुर्घटनाको जोखिमसमेत बढने गरी उत्खनन् भएको अध्यक्ष पुलामीले बताए । उक्त सडक खण्ड जलजला निर्माण सेवाले जिम्मा पाएको छ । भइ रहेको कामको अनुगमन तथा निरीक्षण गर्ने सडक डिभिजन कार्यालय दाङमा समेत पत्र पठाइएको संघले जनाएको छ । कम्पनीले पछिल्लो समय कामलाई तीव्रता दिएको स्थानीय बासिन्दाले बताएका छन् ।
घोराही—प्युठानको जिम्मा पाएको जलजला निर्माण सेवाका इश्वर पुनले गुणस्तरीय काम भइरहेको दाबी गरेका छन् । “हामीले गुणस्तरहीन काम गरेका छैनौं,” पुनले भने । ल्याबबाट पास गरेका सामग्री हालेर काम गरिएको उनले बताए । “ल्याब परीक्षणबाट पास नभएका सामग्री प्रयोग गरिएको छैन,” पुनले भने । स्थानीय बासिन्दाले प्राविधिक विषयका बारेमा जानकारी नहुँदा समस्या भएको उनको भनाइ छ ।
स्थानीय बासिन्दालाई सडक निर्माणमा कुनै शंका लागेमा वा चित नबुझेमा ल्याब परीक्षण गर्नसक्ने उनले बताए । ल्याब परीक्षण गरेर गुणस्तरहीन काम भएमा आफू कारबाही भोग्न तयार रहेको उनको भनाइ छ । स्टिमेट गर्दा नै स्थानीय स्रोतसाधनको प्रयोग गर्ने भनेर स्टिमेट गरिने भन्दै त्यसैअनुसार नै स्थानीय सामग्री प्रयोग भएको उनको भनाइ छ । स्थानीयस्तरमा प्रयोग गर्न नमिल्ने सामग्री अन्य स्थानबाट ल्याएर काम गरिएको पुन बताउँछन् ।
उक्त सडक निर्माणका लागि ३ वर्षीय ठेक्का छ । अहिले २० किलोमिटर कालोपत्रे सडक निर्माण गर्ने थालिएको छ । जसमा ७ मिटर चौडाइ हुने पुन बताउँछन् । स्थानीयको सहयोगमा काम गर्न सहज भएको उनले बताए । आउँदो चैतसम्म निर्माणकार्य सम्पन्न गरिसक्ने उनको भनाइ छ । बाटो निर्माणका लागि सिमेन्ट उद्योगका टिप्पर सञ्चालनमा रोक लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्