कृत्रिम फूलमालाको आयातमा १४ गुणाले वृद्धि

धनगढी-कोरोना भाइरसका कारण अन्य सामग्रीको आयात घटेपनि कृत्रिम फूलमालाको आयात १४ गुणाले वृद्धि भएको छ ।
यस वर्षको तिहारका लागि गत वर्षकोभन्दा १४ गुणा बढि कृत्रिम फूलमाला आयात भएको हो । जिल्ला भन्सार कार्यालय कैलालीका अनुसार भारतबाट त्रिनगर भन्सार नाका हुँदै एक हजार पाँच सय ७५ क्वीन्टल कृत्रिम माला भित्रिएको छ ।
यस वर्ष तिहारलाई लक्षित गरी भारतबाट कृत्रिम फूलमाला धनगढीमा ल्याइएको हो । भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०७७÷०७८ को साउनदेखि कात्तिकसम्मको अवधिमा भारतबाट सो परिणाममा कृत्रिम फूलमाला आयात भएको छ ।
कैलाली भन्सार कार्यालयका अधिकृत डिल्लुप्रसाद शर्माले छ लाख ६२ हजार एक सय ८३ रुपैयाँको कृत्रिम फूलमाला भित्रिएको जानकारी दिए । उनले कृत्रिम फूलमाला आयातबाट तीन लाख ५३ हजार ५३ रुपैयाँ राजस्व संकलन भएको बताए । उनले भारतको दिल्ली, लखनउ, बरेलीलगायतका शहरबाट धनगढीमा कृत्रिम फूलमाला आयात भइरहेको बताए । उनले धनगढीमा हरेक वर्ष असोज र कात्तिक महिनामा सबैभन्दा बढी कृत्रिम फूलमाला आयात हुने गरेको बताए ।
गत वर्ष सोही अवधिमा त्रिनगर नाका हुँदै भारतबाट एक सय सात क्वीन्टल कृत्रिम फूलमाला भित्रिएको थियो । सो अवधिमा ६४ हजार चार सय २० रुपैयाँको कृत्रिम फूलमाला भित्रिँदा ३१ हजार छ सय ७९ रुपैयाँ राजस्व संकलन भएको थियो ।
कैलाली त्रिनगर भन्सार नाका हुँदै गत आर्थिक वर्षमा भारतबाट आयात भएको कृत्रिम फूलमाला भन्दा चालू आर्थिक वर्षको तीन महिनाको अवधिमा दोब्बर बढी आयात भइसकेको छ । भन्सार अधिकृत शर्माले तिहारका बेला फूलमालाको अत्यधिक माग हुने भएकाले आयात पनि बढ्ने गरेको बताए । उनले तिहारका लागि कृत्रिम फूलमाला आयात अझै जारी रहेको बताए ।
तिहारमा दियो, बत्तिलगायतको प्रयोग बढ्ने भएकाले कृत्रिम फूलमालाबाहेक धनगढीमा भारतबाट दियो, मैनबत्ती, अगरबत्तिलगायतका सामानहरू आयात भएको छ । कैलाली भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षमा माटाबाट बन्ने दियो २७ हजार यूनिट माटाका वस्तुहरु आयात भएका छन् । ४६ हजार चार सय ८३ मूल्य बराबरका वस्तुहरु आयात भएको जनाइएको छ । यी वस्तुबाट १७ हजार आठ सय ५२ रुपैयाँ राजस्व संकलन भएको जनाइएको छ ।
कार्यालयका अनुसार आर्थिक वर्ष २०७६÷०७७ मा ७२ हजार तीन सय ८२ यूनिट माटाका वस्तु आयात भएको थियो । गत वर्षको तीन महिनामा दुई लाख ७८ हजार पाँच सय ८२ रुपैयाँ बराबरको माटाका वस्तु बजारमा थिए । यी वस्तुबाट कार्यालयले एक लाख छ हजार नौ सय ७० रुपैयाँ राजस्व संकलन गरेको थियो ।
भन्सार कार्यालयले यस वर्ष झिलिमिलि बत्ति भने आयात भएको छैन । भन्सार अधिकृत शर्माले अन्य वर्षहरुमा झिलमिलि बत्ति आयात भएपनि यस वर्ष नभएको बताए । उनले गत वर्ष दुई हजार एक सय पाँच यूनिट झिलिमिलि बत्ति आयात भएको बताए । गत वर्ष ६० हजार चार सय ३० रुपैयाँ बराबरको झिलिमिलि बत्ति बजारमा थियो भने त्यसबाट २१ हजार सात सय ३८ रुपैयाँ राजस्व संकलन भएको थियो ।
कैलालीमा त्रिनगर भन्सार नाकाबाट मात्रै नभएर सत्ती छोटी भन्सार कार्यालय, गड्डाचौकी भन्सार कार्यालय र नेपालगञ्ज भन्सार कार्यालयबाट पनि कृत्रिम फूलमाला तथा मैनबत्ती, दियोलगायतका सामान भित्रिने गरेको छ ।
प्रायःले आफ्नो घरबारीमा सयपत्री, मखमलीलगायतका फूल रोप्ने गरेको भए पनि पर्याप्त उत्पादन नहुने भएकाले धनगढीसहितका शहर बजारमा भारतबाट कृत्रिम फूलामाला आयात हुने गरेको छ । धनगढीमा पछिल्ला केही वर्षयता फूल खेती (फ्लोरीकल्चर) हुने गरे पनि बजार माग अनुसार उत्पादन हुने गरेको छैन ।