धान उत्पादन घट्यो «

धान उत्पादन घट्यो


सिन्धुलीको कमलामाई नगरपालिका–७ गडौली फाँट जिल्लाको मुख्य धान उत्पादन हुने क्षेत्रमध्ये एक हो । सिँचाइको सुविधा रहेको यस ठाँउका किसानहरुले वर्षमा ३ बालीसमेत भित्र्याउने गरेका छन् ।
मुख्य बालीका रुपमा धान खेती गर्दै आएका किसानहरु यतिबेला धान भित्र्याउनमा व्यस्त छन् । वर्षभरीका लागि धानको जोहोमा जुटेका किसानहरुमा यो वर्ष भने कुनै उत्साह देखिँदैन । अपेक्षाअनुरुप धान उत्पादन नहुँदा चिन्तित भएको उनीहरुको बताउँछन् । धानमा विभिन्न रोग किराको संक्रमणका कारण उत्पादन आधाले घटेको किसान राजु घिसिङले बताए ।
७ कठ्ठा जमिनमा धान लगाइएकोमा यो वर्ष १३ मुरी मात्रै धान उत्पादन भएको उनले बताए । “अघिल्लो वर्षहरुमा यही खेतमा २३ मुरीसम्म धान फलाउँथ्यौं” उनले भने, “यो वर्ष त झण्डै आधाले उत्पादन घटेको छ, लगाएको लगानी पनि उठेन ।” जिल्लाका अधिकांश स्थानमा लगाइएको धान खेतीमा डडुुवा, गबारो रातेलगायतका रोगको समस्या देखिएको थियो ।
सोही स्थानका किसान मिनबहादुर कार्की धान उत्पादनमा कमी आएपछि वर्षभरी कसरी छाक टार्ने चिन्ताले सताएको बताउँछन् । खेती किसानीबाटै जीविकोपार्जन गर्दै आएका उनले वर्षभरीलाई पुग्ने चामल यहि खेतबाट जोहो गर्थे । तर यो वर्ष समयमा मल नपाउनु र धान पसाउने बेला रोग किराले सताएका कारण धान कम मात्रामा फलेको बताए ।
कमलामाई नगरपालिका–९ भिमान काउछेकी मानकुमारी थापा मगर पनि धान उत्पादनमा गिरावट आँउदा चिन्तित् छिन् । ४० मुरीसम्म धान उत्पादन हुने खेतमा यो वर्ष भने २० मुरी मात्रै उत्पादन भएको उनले सुनाइन् ।
“धानको बाला लाग्ने समयमा धानको बोट मर्ने समस्या देखिएको थियो” मानकुमारीले भनिन्, “धानमा सेतो पुतली लागेर बाला म¥यो, औषधी पनि गरेकै हो, तर औषधीले काम गरेन ।” सरकारको व्यवास्ताका कारण समयमा धानमा मल पनि हाल्न नपाएको उनले गुनासो गरिन् ।
जिल्लाका अधिकांश धान उत्पादन क्षेत्रमा गबारो, डडुवा, बेरुवा र सेते जस्ता रोग देखा परेको थियो । धान पसाउने समयमा धानबालीमा रोग लागेका कारण धान उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी श्रीकृष्ण अधिकारीले जानकारी दिए । उनका अनुसार यो वर्ष जिल्लामा कुल खेतियोग्य जमिनको १४ हजार ७ सय हेक्टर क्षेत्रफलमा धान रोपाई भएको थियो । गत वर्षको तुलनामा धान उत्पादनमा वृद्धि हुने प्रक्षेपण गरेपनि अपेक्षाअनुसार धान उत्पादन नभएको कृषि ज्ञान केन्द्रले जनाएको छ । सिँचाई पर्याप्त भएपनि अपेक्षा अनुसार धान नफल्दा गत वर्षको तुुलनामा धान उत्पादनमा गिरावट आएको बताइएको छ ।
अघिल्लो वर्ष जिल्लामा ५५ हजार ९३० मेट्रिकटन धान उत्पादन भएको केन्द्रको तथ्यांकले देखाएको छ ।
यसैबीच जिल्लामा धान उत्पादनमा कमी आएपछि धानको मूल्य भने वृद्धि भएको छ । गत वर्षसम्म पाथीको ६० देखि ८० रुपैयाँसम्म खरिद बिक्री भएपनि यो वर्ष किसानहरुले एक सय रुपैयाँसम्म मूल्य तोकेका छन् । ठाउँअनुसार किसानहरुले आफूखुसी धानको मूल्य निर्धारण गर्ने गरेका छन् । यो वर्ष ८० देखि सय रुपैयाँसम्म खेतबाटै धान किनबेच भइरहेको किसानहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्