सेयर बजार ३३ अंकले बढ्यो

लगातार ओरालो लागेको सेयर बजार गएको साता ३३ अंकले उकालो लागेको छ । समूहगत रूपमा हेर्दा व्यापार समूह केही ओरालो लागेको छ । लगातार ओरालो लागेको सेयर बजार गएको साता ३३ अंकले उकालो लागेको छ । समूहगत रूपमा हेर्दा व्यापार समूह केही ओरालो लागेको छ । व्यापारबाहेक सबै समूह उकालो लागेका छन् । गएको साता सेयर बजार केही बढेको भए पनि आउँदो साता पनि सेयर बजार उकालो लाग्न सक्ने सम्भावना देखिँदैन । तर, सरकार गठन, राष्ट्रिय सभाको चुनावलगायत राजनीतिक परिवर्तन भएको खण्डमा लगानीकर्ता उत्साहि भई खरिदमा चाप पर्न सक्छ । आउँदो साता पनि सेयर बजारमा तरलताको प्र्रत्यक्ष असर देखिन सक्ने सम्भावना छ । अहिले नै वाणिज्य बैंकहरुले ब्याजदर बढाउन लागि सकेकाले यसको पहिलो असर यही देखिन्छ । साथै राजनीतिक र अन्य कारणले पनि बजार ओरालो लाग्न सक्ने देखिन्छ । यस साता नेपाल स्टक एक्सचेन्जमा १७९ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २७५८३ कारोबारबाट दुई अर्ब ७० करोड ७१ लाख ३७ हजार रुपैयाँ बराबरका ६४ लाख ७९ हजार आठ सय ९० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ०.९१ प्रतिशत बढी हो । गत साता १७४ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार २७१५३ कारोबारबाट दुई अर्ब ६८ करोड २६ लाख ४२ हजार रुपैयाँ बराबरका ५७ लाख २५ हजार दुई सय ६० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३३.२५ अंकले बढेर अन्तिम दिन १४२३.८३ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ७.५४ अंकले बढेर २९९.६६ अंकमा आइपुगेको छ । यस साता कारोबार रकम (१७ करोड ३८ लाख ३० हजार रुपैयाँ) को आधारमा स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (पाँच लाख ३४ हजार कित्ता) को आधारमा प्रभु बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (२७५७ वटा) को आधारमा स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।