घोराहीमा दुग्ध विकास संस्थानको बिक्री केन्द्र

दाङको घोराहीमा दुग्ध विकास संस्थानले आफ्ना उत्पादनको बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ । संस्थानको नेपालगञ्ज वितरण आयोजना कोहलपुरमार्फत दाङमा पनि शाखा बिस्तार गरी बिक्री केन्द्र सञ्चालनमा ल्याएको हो ।
घोराही उप–महानगरालिका वडा नं १४ को राप्ती टोलबाट सेवा सुरु गरेको बिक्री केन्द्रको एक कार्यक्रमका बिचमा उद्घाटन गरिएको छ । संस्थानका अध्यक्ष गिरीले पहिलो चरणमा बिक्री केन्द्र स्थापना गरिएको दाङलाई भविष्यमा दूधको हवका रुपमा निर्माण गर्ने योजना रहेको बताए । दूध उत्पादनका दृष्टि कोणले दाङ राम्रो सम्भावना भएको क्षेत्र भएकाले आगामी दिनमा स्थानीय सरकारसँगको सहकार्यमा संस्थानले घोराही क्षेत्रमा दूध संकलन केन्द्र समेत निर्माण गरी प्रशोधन गरेर बजारीकरण लाग्ने योजना राखेको उनले बताए । कोरोना महामारीका बेलामा बजारमा दूधको खपत अहिले आधा घटेको बताउँदै उनले संस्थानले घाटा सहेर भएपनि कृषकले उत्पादन गरेको दूध खरीद गरी व्यवस्थापन गरिरहेको बताएका थिए ।
देशभर संस्थानको २ लाख लिटर दूध विगतमा खपत हुने गरेकोमा हाल त्यसको खपत झण्डै आधा घटेको बताउँदै उनले प्रति लिटर १७ रुपैयाँ घाटा सहेर पनि कृषकलाई राहत प्रदान गरिरहेको जानकारी गराए । दूधमा प्रति लिटर ५ रुपैयाँ मुनाफा आर्जन गरेर विगत वर्षमा ४ करोड मुनाफा कमाएको संस्थानले नाफामुखी मात्रै नभई सेवामुखी भएर पनि काम गरी रहेको बताए । “गुणस्तरीय दूध सेवनका लागि पास्चराइजर गरिएको दूध पिउनु नै स्वास्थ्यका लागि सबै भन्दा राम्रो हुन्छ” सस्थाका अध्यक्ष गिरीले भने, “हामी गुणस्तरमा विश्वास गर्ने भएकाले कृषकबाट खरीद गरिएको दूध प्रशोधन गरी बिक्री गरिरहेका छौं ।” उनले संस्थानले नबिकेको दूध पाउडर बनाएर पछि बिक्री गर्ने काम भइरहेको छ ।
दाङको लमही, तलसीपुर क्षेत्रबाट यस अघि सेवा प्रदान गर्दै आएको दुग्ध विकास संस्थानले निकट भविष्यमा घोराही क्षेत्रमा पनि पूर्वाधार निर्माण गरी दुग्ध उत्पादक कृषकहरुको दुध खरीद गर्ने योजनाका साथ काम अघि बढाइएको उनले बताए ।
कार्यक्रममा भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालय दाङका प्रमुख डा.बेदबहादुर केसीले प्रशोधन गरिएको दूध सेवन नै मानव स्वास्थ्यका लागि लाभ दायक हुने बताए । दूध दिने पशुहरुमा विभिन्न खालका रोग लागेको वा संक्रमण भएको भए उक्त दूध सेवन मानव स्वास्थ्यका लागि घातक हुने र त्यसले विभिन्न समस्या निम्त्याउने हुँदा पास्चराइजर गरिएको स्वस्थ दूध सेवन गर्न आग्रह गरे ।