रगतको सहज आपूर्ति कहिले होला ? «

रगतको सहज आपूर्ति कहिले होला ?

एकातिर रगतको माग उच्च र अर्कातिर रगत बैंकमा रगत नै शून्य प्रायः हुन थालेबाट भोलिका दिनमा रगतको समस्या एक गम्भीर समस्याका रूपमा देखिने निश्चित देखिएको छ ।

हाल विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले विश्वका सबै देशलाई आर्थिक, सामाजिक तथा विविध क्षेत्रहरूमा दिनप्रतिदिन नकारात्मक असर पारिरहेको छ । यस प्रकोप आएयताका दिनहरूमा अन्य गम्भीर बिरामीहरूसमेत छायामा पार्न थालेका छन् । अन्य नियमित बिरामी भएर स्वास्थ्योपचार गराइरहेका बिरामीहरूलाई स्वास्थ्य सामग्रीहरूको अभाव दिन–प्रतिदिन बढ्दै गइरहेको छ । अहिले चरम अभाव भइरहेको एक सामग्री हो— रगत । यस कोरोना महामारीले देशमा रगतको चरम अभाव देखिँदै गइरहेको छ । यस्ता खालका गम्भीर स्वास्थ्य सुरक्षा सामग्रीको अभावलाई बेलैमा समाधान नखोजिने हो भने यस महामारीका बेलामा कैयांैले ज्यान गुमाउनुपर्ने अवस्थाको सिर्जना हुन्छ ।
हाल जटिल शल्यक्रिया, गर्भवती, ब्लड क्यान्सर, आकस्मिक दुर्घटनामा परेका र डायलासिस गर्नुपर्ने बिरामीहरूलाई रगतको अभावले पिरोलेको छ । अहिले काठमाडौं उपत्यकालगायत देशैभर नै रगतको चरम अभाव देखिएको छ । रक्तदाताहरूमा पनि हालको विषम परिस्थितिका कारण रक्तदान गर्न नसक्ने अवस्थाको सिर्जना भएको छ । एकातिर रगतको माग उच्च र अर्कातिर रगत बैंकमा रगत नै शून्य प्रायः हुन थालेबाट भोलिका दिनमा रगतको समस्या एक गम्भीर समस्याका रूपमा देखिने निश्चित देखिएको छ ।
कोरोना संक्रमण बढेपछि विभिन्न संघसंस्था, रेडक्रस र अन्य परोपकारी संस्थाहरूले आयोजना गर्ने रक्तदान कार्यक्रम स्थगित मात्र भएको छैन, संक्रमणको उच्च जोखिमले रक्तदातासमेत त्रसित बनेका छन् । यस्तो परिस्थिति सिर्जना हुँदासमेत सरकार तथा स्वास्थ्यसँग सरोकार राख्ने नियमनकारी निकायसमेत गम्भीर बनेको देखिँदैन, जसको परिणाम भोलिका दिनमा अस्पतालका शय्यामा छट्पटाइरहेका बिरामीहरूमा देखिनेछ । त्यसैले ती मृत्युसँग लडिरहेका बिरामीहरूका बारेमा एकपटक बेलैमा सोचविचार गरौं ।
गएको चैत ११ देखियता दैनिक ७० पिन्ट रगत माग भइरहेको नेपाल रेडक्रसले जनाएको छ । स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने सरकारी तथा गैरसरकारी संघसंस्थाले आजको यस विषम परिस्थितिलाई मध्यनजर गर्दै रक्तदाताहरूको स्वास्थ्यसमेत विचार गरी रक्तदान गर्दा प्रोत्साहन गर्न जरुरी छ । रक्तदान जीवनदान हो भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै रक्तदाताबीचको सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सावधानीका सबै जिम्मेवारी पालना गर्दै, रक्तदाताको अनुकूलतालाई विचार गर्दै चाँडोभन्दा चाँडो रगत संकलन कार्यलाई निरन्तरता दिन आजको एक प्रमुख आवश्यकता देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्