लामो दूरीका यातायातको टिकट अनलाइनबाटै «

लामो दूरीका यातायातको टिकट अनलाइनबाटै


सावर्जनिक यातायातलाई प्रविधिमैत्री रूपमा विकास गर्नको लागि सरकारले अनलाइन टिकट खरिद–बिक्रीसम्बन्धी निर्देशिका–२०७७ जारी गरेको छ । मध्यम तथा लामो दूरीमा सञ्चालित यात्रुवाहक सार्वजनिक यातायात सेवाको अनलाइन टिकट खरिद–बिक्रीसम्बन्धी निर्देशिका–२०७७ स्वीकृत गरी यातायात विभागले जारी गरेकोे हो । सरकारको परिभाषाअनुसार मध्यम दूरीमा १०० किलोमिटरभन्दा बढी तर २५० किलोमिटर भन्दा कम तथा लामो दूरीमा २५० किलोमिटर वा सोभन्दा बढी दूरी पर्दछ ।
समयसापेक्ष पारदर्शी र प्रविधिमैत्री सार्वजनिक यातायातको योजनाअनुसार अनलाइन प्रविधि सफ्टवेयर विकास गर्न विभागले निर्देशिका जारी गरेको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए । उनले भने, “जसले गर्दा यात्रु, व्यवसायीहरूलाई लाभ हुने छ, जसले गर्दा यात्रु ठगिने, विचौलिया हावी हुने छैनन्, विभागलाई अनुगमन र नियमन गर्नको लागि सहज हुनेछ ।”
यात्रुले अनलाइन र टिकट काउन्टरमा नै गएर टिकट खरिद गरे पनि विभागले विकास गरेको सफ्टवेयरमा अनलाइन इन्ट्री भने गर्नुपर्ने छ । यसले गर्दा विभागलाई थप अनुगमन र नियमन गर्ने सहज हुने विभागको भनाइ छ । अनलाइन टिकट खरिद–बिक्री प्रणाली सफ्टवेयर मोबाइल एप्स, कम्प्युटर, तथा अन्य विद्युतीय प्रविधि प्रयोग गरी टिकट खरिद–बिक्री गर्न सकिने छ । धेरै कम्पनीहरूले अनलाइन टिकट प्रयोगमा ल्याएका छन् तर विभागको सफ्टवेयरमा जोड्न भने बाँकी छ । महानिर्देशक हमालले अनलाइन टिकट अनुगमन गर्ने गरी संयन्त्र नै बनाएर नियमन गर्ने बताए । विभागका अनुसार जुन–जुन सार्वजनिक यातायात कम्पनीले अनलाइन टिकट बिक्री गर्छन् उनीहरूको अनुगमन विभागले गर्नेछ । क्रमशः सुधार गर्दै अनलाइन टिकट खरिद–बिक्री प्रयोगमा ल्याउने योजना विभागको रहेको महानिर्देशक हमालले जानकारी दिए । उनले भने, “अहिले नै सबै यातायात कम्पनीहरूलाई यो सिस्टमा जान समस्या हुन सक्छ तर यो प्रविधिमा सबै यातायात कम्पनी जानु नै पर्छ ।” मध्यम तथा लामो दूरीका यात्रुवाहक सार्वजनिक यातायात व्यवसायीहरूले प्रयोग गरेको सफ्टवेयरलाई विभागको सफ्टवेयरसँग आवद्ध गर्नुपर्ने पनि नयाँ निर्देशिकामा व्यवस्था गरिएको छ ।
सार्वजनिक यातायात कम्पनीहरूलाई विभागसँगको सफ्टवेयरसँग आवद्ध गर्न अर्काे सूचना जारी गरेर प्रविधिमैत्री बनाउँदै जाने विभागको योजना छ । विभागले तत्काल यो निर्देशिका पारित भएको जानकारी गराएको र सबै सरोकारवाला निकायसँग छलफल गरी सोहीअनुसार आन्तरिक तयारी थाल्न विभागले सार्वजनिक यातायात कम्पनीलाई सुझाएको छ । यसैअनुसार विभागले मध्यम तथा लामो दूरीमा सञ्चालित यात्रुवाहक सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने कम्पनी फर्म र व्यवस्थापकहरूले अनलाइन टिकट बिक्री गर्दा अपनाउनु पर्ने सजकता निर्देशिका जारी गरेको हो । मध्यम तथा लामो दूरीका यात्रुवाहक सार्वजनिक यातायात सेवा प्रदायकले अनलाइन टिकेटिङका यात्रीका लागि निर्धारित सिटहरू विक्री भए नभएको खुल्ने गरी सिट प्लानअनुसार यात्रु चलान बनाइ सोको विवरण सफ्टवेयरमा प्रविष्ट गर्नुपर्नेछ ।
विभागले कोभिड –१९ को संक्रमण जोखिम न्यूनीकरण गर्न र सार्वजनिक यातायात सेवा सहज, सुलभ, सुरक्षित र भरपर्दो एवम् प्रविधिमैत्री बनाउन अनलाइन टिकट खरिद बिक्री प्रणालीलाई व्यवस्थापन गर्न विभागले सरोकारवाला संस्थाहरूको समन्वयमा यो निर्देशिका तयार गरी लागू गरेको जनाएको छ । टिकट बिक्री कक्षमा हुने भिड व्यवस्थापन एवं टिकट खरिद तथा बिक्री प्रक्रियालाई प्रतिस्पर्धी र पारदर्शी बनाउनका लागि सूचना तथा सञ्चार प्रविधिको प्रयोग गरेर व्यवस्थापन गर्न लागिएको विभागको भनाइ छ । विभागले तोकेको भाडादर भन्दा अनलाइन टिकट खरिद–विक्री गरे बापत यात्रुबाट अतिरिक्त शुल्क लिन पाइने छैन । मध्यम तथा लामो दूरीका यात्रीवाहक सार्वजनिक यातायात सेवा प्रदायकले आफ्नो विस्तृत विवरण सहित सवारी साधनका सबै सिटहरूलाई अनलाइन डिस्प्लेमा देखिने गरी राख्नुपर्नेछ । प्रचलित कानुनबमोजिम आरक्षण गरिएका सिटहरू सम्बन्धित लक्षित वर्गले पाउने गरी सुनिश्चित गर्नुपर्नेछ । यात्रुले जुनसुकै अनलाइन माध्यमबाट टिकट खरिद र सोको भूक्तानी सहज रूपमा गर्न पाउने व्यवस्था गर्नुपर्नेछ । मोबाईल एसएमएस, कोड वा अन्य माध्यमबाट यात्रीले खरिद गरेको टिकटको सुनिश्चितताको प्रत्याभूति गर्नुपर्नेछ ।
एक पटक सिट नम्बर तोकिएर बिक्री भइसकेको टिकट निज यात्रुले रद्द गरेको अवस्थामा वाहेक अन्य यात्रीलाई सो टिकट विक्री गर्न पाईने छैन । यात्रीको नाम, ठेगाना, लिंग, मोबाइल नम्बर, सवारी साधनको नं, प्रस्थान र गन्तव्य स्थान लगायतका विस्तृत विवरणहरू अनिवार्य रूपमा सफ्टवेयरमा प्रविष्ट गर्नुपर्नेछ ।
टिकट रद्द गर्दा गाडी छुट्ने समयभन्दा २४ घण्टा अगाडि रद्द गरेमा १० प्रतिशत र त्यस पश्चात गरेमा ३३ प्रतिशत कटाएर यात्रुले जुन माध्यमबाट टिकट काटेको हो, सोही माध्यमबाट सम्बन्धित व्यवसायीले फिर्ता गर्नुपर्ने निर्देशीकामा उल्लेख छ । यात्रा गर्ने दिनभन्दा कम्तिमा ३ दिन अगावै टिकट अनलाइनमा डिस्प्ले गर्नुपर्नेछ तर दसैंतिहार लगायतका अन्य राष्ट्रिय चाडपर्वको समयमा भने कम्तिमा ३० दिन अगावै वा नेपाल सरकारले आवश्यक ठानेको समयमा जुनसुकै समयमा खुला गर्नुपर्ने निर्देशीकामा भनिएको छ । यात्रा गर्ने दिनभन्दा कम्तिमा ३ दिनअगावै सम्बन्धित सवारी साधनको डिस्प्ले गर्दा सवारी साधनको नम्बर, सिट नम्बर, प्रस्थान स्थल, प्रस्थान समय, सवारीको स्तर, भाडा दर, अन्तिम गन्तब्य स्थल र पुग्ने समय लगायतका आवश्यक विवरणहरू खुलेको हुनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्