चिया मजदुर आन्दोलित «

चिया मजदुर आन्दोलित

झापा-नेपाल चिया विकास निगमअन्तर्गत झापाको टोकला चिया कमानमा कार्यरत बबिता भारतीले दसैं खर्च पाइनन् । ऐनमा तोकिए बमोजिम दसैं खर्च माग्दा कम्पनी घाटामा गएको भन्दै खर्च नदिएको गुनासो उनले गरिन् । टोकला चिया कमानमा कार्यरत अर्का मजदुर विशाल डमुले पनि दसैं खर्च नपाएको दुखेसो गरे । “सरकारले चाडपर्व वापत तोकिदिएको सुविधा हामीले पाउन सकेनौं,” उनले भने, “कार्यान्वयन गर्न नसक्ने नीति नियम सरकारी तहबाट किन बनाइन्छ ?”
भारती र डमु मात्र होइन, झापाको टोकला चिया कमानमा कार्यरत मजदुर सुविधा नपाएपछि अहिले आन्दोलित भएका छन् । श्रम ऐन २०७४ को दफा ३७ मा व्यवस्था भएअनुसारको खाईपाई आएको पारिश्रमिक नपाएको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।
श्रम ऐनमा व्यवस्था भएअनुसार खाइपाई आएको पारिश्रमिक एक महिना बराबरको रकम चार्डपर्वमा पाउनुपर्नेमा टोकला चिया कमानले कुनै पनि मजदुरलाई उक्त रकम नदिएपछि उनीहरूले आन्दोलन अघि सारेका हुन् । चिया श्रमिकको मासिक तलब १० हजार ७८१ हुनुपर्ने श्रम ऐनमा छ । तर, चिया कमानले गत वर्ष झैं ७ हजार २२८ रुपैयाँ दसैं खर्चबापत दिनुपर्ने माग श्रमिकले राखेका छन् । श्रम ऐन २०७४ मा उल्लेखित सबै सेवा सुविधा उनीहरूलाई उपलब्ध नगराए आइतबारदेखि टोकला चिया कमानमा कार्यरत सबै मजदुरले अनिश्चितकाल बन्द र आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेका छन् ।
नेपाल चिया बगान श्रमिक संघ केन्द्रीय वरिष्ठ उपाध्यक्ष मिलन राईले रहरले नभएर बाध्यताले आन्दोलनमा जानु परेको बताए । “व्यवस्थापन पक्षको व्यवहारले हामीलाई आन्दोलनमा जान बाध्य बनायो,” उनले भने, “माग पूरा नभएसम्म आन्दोलन जारी रहने छ ।” सरकारले गत साउनदेखि चिया मजदुरले पाउने पारिश्रमिक बढाएको छ । झापा मेचीनगरको उक्त वगानमा २६० बढी मजदुर कार्यरत छन् । बगान सञ्चालक पक्षले कम्पनी घाटामा रहेको भन्दै पारिश्रमिक दिन आनकानी गर्दै आएको छ ।
मनीषा चम्लागाईँ

प्रतिक्रिया दिनुहोस्