Logo

पर्वतका चितुवा पीडितहरूलाई राहत वितरण

पर्वतमा वन्यजन्तुको आक्रमणबाट क्षति बेहोरेका पीडितलाई राहात वितरण गरिएको छ । डिभिजन बन कार्यालय पर्वतले राहातको माग गर्दै आएका निवेदनहरूको आधारमा २५ जना पीडितहरूलाई राहात तथा क्षतिपुर्ति रकम वितरण गरेको हो ।
आइतबार एक कार्यक्रमको आयोजना गरी उक्त रकम पीडितहरूलाई हस्तान्तरण गरिएको छ । हस्तान्तरण कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्री विकास लम्सालले बन्यजन्तुलाई बनमा नै रहने वातावरण सिर्जना गर्नु हामी सबैको दायित्व भएको बताए । उनले वन्यजन्तु बनमा बस्ने उपयुक्त वातावरण नभएकै कारण समुदायमा छिर्ने र हिंस्रक बनेर आक्रमण गर्ने गरेको बताए । मन्त्री लम्सालले गण्डकी प्रदेशमा बन्यजन्तुबाट मानिस र घरपालुवा जनावरमा आक्रमण गर्ने क्रम बढ्दै गएकाले बन्य जन्तुको संरक्षणसँगै पर्यटन विकासको अवधारणा अघि सारिएको बताए । उनले प्रदेशका विभिन्न जिल्लामा बन्यजन्तुको आश्रयस्थल निर्माण गर्ने तयारी भएको बताए ।
राहात वितरणका क्रममा विभिन्न व्यक्तिहरूलाई ४ लाख ५५ हजार २ सय ५४ रुपैयाँ क्षतिपूर्ति स्वरूप वितरण गरिएको थियो । जसमध्ये चितुवाको आक्रमणबाट गत असारमा घाइते भएकी जलजला गाउँपालिका–४ माझफाँटकी पदमकुमारी मल्ललाई १ लाख ३७ हजार ७ सय ५४ रुपैयाँ प्रदान गरिएको थियो भने अन्य विभिन्न घरपालुवा जनावरको क्षति व्यहोरेका २४ जनालाई राहात रकम वितरण गरिएको डिभीजन वन कार्यालय पर्वतका प्रमुख मेघराज पौडेलले जानकारी दिए ।
उनका अनुसार चितुवाको आक्रमणपछि क्षति पुगेर तत्काल नजिकको वन कार्यालयमा क्षतिको विवरण टिपाएकाहरूलाई राहत वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्