अमेरिकी राजदूत बेरीद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत -यान्डी बेरीले बिहीबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।
नवनियुक्त राजदूत बेरीले यसअघि पनि नेपालमा काम गरिसकेका छन् । उनी सन् २००७ देखि २००९ सम्म दुई वर्षका लागि अमेरिकी दूतावास काठमाडौँमा डेप्युटी चिफ अफ मिसन (नियोग उप(प्रमुख) को पदमा कार्यरत थिए ।
“नयाँ भूमिकामा नेपाल फर्कन पाउँदा मलाई ज्यादै खुसी लागेको छ,” राजदूत बेरीले भने, “नेपाल र अमेरिकाबीचको मित्रतालाई थप मजबुत बनाउन म उत्सुक छु र मलाई आशा छ, हामीहरूको कूटनीतिक संलग्नताले हाम्रा दुई देशबीच जारी रहँदै आएको साझेदारी तथा सहकार्यलाई प्रवद्र्धन गर्नेछ ।”
राजदूत बेरी मिनिस्टर काउन्सेलर दर्जाका वरिष्ठ परराष्ट्र सेवाका करियर सदस्य हुन् । सन् १९९३ देखि कुटनीतिज्ञका रूपमा कार्यरत उनले अमेरिकी विदेश मन्त्रालयका विभिन्न पदमा रही विदेशमा २० वर्षभन्दा लामो समय बिताएका छन् । पछिल्लो समय उनी वाशिङ्टन, डी.सी. मा लोकतन्त्र, मानव अधिकार तथा श्रमसम्बन्धी ब्यूरोमा दक्षिण तथा मध्य एसियाका लागि डेप्युटी एसिस्टेन्ट सेक्रेटरी थिए, जुन पद उनले सन् २०१६ को उत्तराद्र्धदेखि सम्हाल्दै आएका थिए ।
त्यसअघि उनी सन् २०१५देखि २०१७ सम्म एलजीबीटीआई व्यक्तिहरूको मानव अधिकारसम्बन्धी अमेरिकी विदेश मन्त्रालयका प्रथम विशेष दूतका रूपमा नियुक्त भएका थिए । राजदूत बेरीको यो दोस्रो नेपाल बसाइ हो । यसअघि उनी सन् २००७ देखि २००९ सम्म काठमाडौंस्थित अमेरिकी दूतावासमा डेपुटी चिफ अफ मिसनको पदमा कार्यरत थिए ।
ग्रामीण कोलोराडोका बासिन्दा राजदूत बेरीले कान्सास राज्यको लिन्ड्सबर्गस्थित बेथनी कलेजबाट सन् १९८७ मा स्नातक गरेका छन् । साथै, रोटरी फाउन्डेशन स्कलरका रूपमा उनले सन् १९८८ मा अस्ट्रेलियाको एडेलेइडस्थित एडेलेइड विश्वविद्यालयबाट स्नातकोत्तर तहको अध्ययन गरेका छन् । उनी विवाहित छन् र दुई सन्तानका पिता हुन् ।