घोराहीमा चक्रपथ निर्माण हुने «

घोराहीमा चक्रपथ निर्माण हुने

दाङ-घोराही उपमहानगरपालिकाभित्र निर्माण गर्ने भनिएको चक्रपथ निर्माण कार्य सुरु हुने भएको छ ।
चक्रथप निर्माणको काम सुरु हुन थालेको घोराही उपमहानगरपालिकाका प्रवक्ता भरतमणि अर्यालले बताए । अहिले निर्माण गर्ने थालिएको चक्रपथ पहिलेको नगरपालिका हुँदा गरिएको नक्शांकनभन्दा केही परिवर्तन भएको बताइएको छ । नगरपालिका हुँदा निर्माण गरिएको कारण र अहिले उपमहानगरपालिका भएपछि केही परिवर्तन भएको उपमहानगरपालिकाले जनाएको छ । नगरपालिकाले अहिले पहिलो चरणमा घोराही उपमहानगरपालिका–१८ मा सुरु गर्ने थालेको उनको भनाइ छ । पहिलो चरणमा वडा नं १८ को बासखोली, सालघारी, अम्वापुर, मसिन, गिठेपानी रानी जरुवा हुँदै बाह्रकुने दहसम्म पु-याइने प्रवक्ता अर्यालले बताए । यसका लागि सम्बन्धित टोल विकास संस्थासँंग छलफल भइरहेको बताए । “केही टोलले सहमतिको निर्णय गरेर दिइसक्नु भएको छ भने अरुले केही दिनमा पठाउने बताउनु भएको छ,” प्रवक्ता अर्यालले भने । चक्रपथ निर्माणका लागि केही दिनमा टेण्डरसमेत आह्वान गरिने उनको भनाइ छ । यसरी थालिएको काम चालू आर्थिक वर्षभित्रमा नै सम्पन्न हुने उनले बताए । “यसै वर्ष नालासहित बाटो पक्की गरिने छ,” प्रवक्ता अर्यालले भने । यसरी निर्माण गर्ने थालिएको चक्रपथको बाटोमा नालासहित १२ मिटरको हुनेछ । यसका लागि करिब २० करोड बजेट खर्च हुने उपमहानगरपालिकाले जनाएको छ । टेण्डर आह्वान गरेपछि यति रकम खर्च हुने भनेर निश्चित हुने उपमहानगरपालिका स्रोतले बताएको छ । पहिलो चरणको काम सम्पन्न भएपछि दोस्रो चरणको काम अगाडि बढने छ ।
घोराहीमा साविक घोराही उपमहानगरपालिका हुँदा नै नगरपालिकालाई सडक सञ्जालले जोडने गरी चक्रपथ निर्माणकार्यलाई अगाडि सारिएको थियो । तर लामो समयसम्म पनि त्यसले पूर्णता पाउन सकेको छैन । चक्रपथ निर्माणका क्रममा स्थानीय बासीन्दाले असहमति जनाएर विवाद भएपछि निर्माण कार्य रोकिएको थियो । सहमति भएका केही स्थानमा ट्रयाक खोल्ने काम गरिएको थियो । यसरी रोकिएको काम जनप्रतिनिधि आएपछि गति लिने नगरवासीले अपेक्षा गरेका थिए । अहिले उपमहानगरपालिको यस कार्यलाई अगाडि बढाउन खोजेको छ । स्थानीय नागरिकको सहमति लिएर अगाडि बढाएमा मात्र काम सम्पन्न गर्ने सकिने नगरवासीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्