बरेलाको आकर्षक कमाइ «

बरेलाको आकर्षक कमाइ

डडेल्धुरा-अहिले पहाडको बरेला तरकारीका लागी तराईका जिल्लाहरूमा ओसारिँदै छ । तराईमा बरेला नपाइने भएका कारण पहाडमा प्रशस्त मात्रामा फल्ने बरेला तराईका जिल्लाहरूमा लगिने गरेको हो ।
तराईका जिल्लामा बरेलाको माग बढ्दै गएपछि बरेला बिक्री गरी अमरगढी नगरपालिका क्षेत्रका स्थानीयले राम्रो आम्दानी गर्न थालेका छन् । बरेलाको तरकारी मिठो हुने भएकाले बजार माग बढ्दै गर्दा स्थानीयले बरेलाबाट राम्रो आम्दानी गर्न थालेका हुन ।
अहिले यस क्षेत्रका खेतबारी जताततै प्रशस्त मात्रामा फल्ने बरेला बिक्री गरी स्थानीयले आम्दानी गर्न थालेका हुन् । बजारमा बरेलाको माग बढ्दै गएपछि स्थानीयले आफूले मात्रै उपभोग गर्ने तथा बोटमै कुहिएर जाने बरेलाबाट केही वर्षयता आम्दानी गर्न थालेका छन् ।
व्यावसायिक रुपमा बरेला खेती नगरिए पनि वर्षात्को समयमा उम्रिने बरेलाका बोट रुखमा झ्याङ फैलिएपछि प्रशस्त फल्ने हुँदा स्थानीयले बजारसम्म पु-याई आम्दानीको राम्रो स्रोत बनेको छ । ओसिलो तथा चिसो हुने क्षेत्रमा अहिले बरेला प्रशस्त रूपमा फल्ने गर्छ । स्थानीय बजारमा प्रतिकिलो बरेला २० रुपैयाँमा बिक्री हुने गरेको स्थानीय मोहन भण्डारीले बताए । पहाडी जमिन गाह््रा कान्लामा आफैं पनि उम्रिएका बरेलाका बोट हुर्कंदै जाँदा एकै बोट पनि ठूलो झ्याङ भएर रुख भरी फैलिने उनको भनाइ छ ।
“पहिले–पहिले बरेला टन्नै फले पनि बजार मिल्दैनथ्यो । आफू खान्थ्यौं अनि तराईतिर बस्ने आफन्तजन, इष्टमित्रहरूलाई पठाउँथ्यौं,” उनले भने, “पछिल्लो समय बजार विस्तारसँगै पहाडको बरेला तराईसम्म पुग्ने गरेकाले स्थानीय बजारमा नै बिक्री गरी दैनिक ज्यालादारी भन्दा बढी कमाइ हुन्छ ।”
थोरै मेहनतमा दैनिक एक क्विन्टलसम्म बिक्री गर्दा दुई हजारसम्म कमाउन सकिने स्थानीयको भनाइ छ । कैयौं बरेला रुखमै सुकेर फुट्दा बिउ जमिनमा झर्ने भएकाले प्रत्येक वर्ष बोट आफैं पनि उम्रिने गरेको छ ।
रुखमा फैलिएको झ्याङबाट बरेला निकाल्न मात्रै मेहनत गर्नुपर्ने तथा बजारको अभाव नरहेकाले बरेला बिक्रीबाट राम्रो आम्दानी गर्न मिलेको अर्का स्थानीय रत्ना भण्डारीले बताइन् । दैनिकजसो कम्तीमा पनि आधा क्विन्टल बिक्री गर्ने गरेको उनको भनाइ छ ।
अमरगढी नगरपालिका–७ पोखरा बजारमा एक जना व्यापारीले मात्रै दैनिक १० क्विन्टल बरेला स्थानीयबाट खरिद गरी बिक्री गर्ने गरेका छन् । सागकोको व्यापार गर्दै आएका व्यापारी भक्त साहुले स्थानीयबाट प्रतिकिलो २० रुपैयाँमा खरिद गरी २२ देखि २५ रुपैयाँसम्ममा थोक बिक्री गर्ने बताए । उनले पोखराबाट डडेल्धुरा सदरमुकम तथा तराईका जिल्लाहरूमा तरकारीको व्यापार गर्दै आएका व्यापारीलाई बिक्री गर्ने गरेका छन् ।
“बरेला बेच्न समस्या छैन । स्थानीयले ल्याउने जति बरेला हामीले खरिद गर्ने गरेका छौं,” उनले भने ।
खेतबारीमा आफैं फलेको बरेलामा कुनै पनि विषादीको प्रयोग नगरिएकाले स्वास्थ्यका लागि पनि राम्रो भएको स्वास्थ्यकर्मी मानबहादुर साहुले बताए । चिसो मौसममा फलेकाले बरेलाको तरकारी आफैंमा स्वादिष्ट हुने उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्