बागमती प्रदेशका पुल निर्माणमा एक अर्ब «

बागमती प्रदेशका पुल निर्माणमा एक अर्ब

संघको भन्दा प्रदेशको खर्च बढी
हेटौंडा-
बागमती प्रदेशमा चालू आर्थिक वर्षमा सडक पुल निर्माणका लागि एक अर्ब रुपैयाँ खर्च गरिने भएको छ । प्रदेशको ६४ करोड र संघीय सरकारको ३६ करोड लगानीमा एक सय २० वटा पुल निर्माणको योजना अघि सारिएको छ ।
त्यसमध्ये ७४ वटा पुल अघिल्ला वर्षबाट जिम्मेवारी सरेर आएका हुन् भने ४६ वटा नयाँ योजना हुन् । ७४ वटा पुलको बहुवर्षीय ठेक्काका लागि काम सुरु भइसकेका छन् भने ३६ वटा पुलको यसवर्ष ठेक्का लाग्ने बागमती प्रदेशको सडक पूर्वाधार विकास निर्देशनालयले जनाएको छ ।
“गत वर्ष ठेक्का लागेर काम अघि बढेका पुलहरू यो वर्ष सम्पन्न हुन्छन् । यो वर्ष योजनामा परेका पुलहरूको ठेक्का लागेर काम सुरु हुन्छ,” निर्देशनालयका निर्देशक डा. सहदेवबहादुर भण्डारीले भने, “नयाँ योजनामध्ये १० वटा पुलको तत्काल ठेक्का आह्वान गर्दैछौं । निर्माण हुने क्रममा रहेका पुलहरू १५ देखि २ सय ५० मिटरसम्म लामो रहेका छन् । निर्देशनालयअन्तर्गत प्रदेशमा रहेका विभिन्न ६ वटा पूर्वाधार विकास कार्यालय र २ वटा सडक डिभिजन कार्यालयमार्फत योजना कार्यान्वयन हुनेछन् । निर्देशनालय आफैंले पनि दुई वटा योजना कार्यान्वयन गरिरहेको छ ।
हेटौंडा–११ र १२ जोड्ने राप्तीखोलामा पक्की पुल र नुवाकोटमा एउटा पुल निर्माणको काम निर्देशनालय आफैंले कार्यान्वयन गराइरहेको छ । हेटौंडा–११ र १२ जोड्ने राप्तीखोलामा २ सय १५ मिटर लामो पुल निर्माणका लागि निर्देशनालयले गत वर्ष २६ करोड रुपैयाँमा ठेक्का लगाइसकेको छ ।
तत्कालीन जिल्ला विकास समितिमार्फत हस्तान्तरण भई आएका १६ वटा र गत वर्ष ९० वटाको योजना बनाइएकोमा १६ वटा गरी गत वर्ष ३२ वटा सडक पुल निर्माण सम्पन्न भएका थिए । पूर्वाधार विकास कार्यालय ललितपुरले ६ वटा, काभ्रेले ६ वटा, चितवनले ५ वटा, नुवाकोटले ४ वटा, सिन्धुपाल्चोकले ९ वटा र रामेछापले २ वटा पुल निर्माण गरेको थियो । जसअन्तर्गत काठमाडौंमा १, ललितपुरमा ५, भक्तपुरमा १, काभ्रेमा ५, सिन्धुपाल्चोकमा ५, दोलखामा ३, चितवनमा ३, मकवानपुरमा २, धादिङमा १, नुवाकोटमा ३, सिन्धुलीमा १, रामेछापमा २ वटा पुल बनेका छन् । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले चालू आवमा ४४ वटा ठूला सडकको समेत बहुवर्षीय ठेक्का लगाई काम सुरु गर्न लागिएको जनाएको छ ।
यस्तै प्रदेशको यातायात पूर्वाधार विकास निर्देशनालयले बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने छोटो मार्गको स्तरीकरणको काम पनि अघि बढाइरहेको छ । भीमफेदी–कुलेखानी सडक ६ मिटर फराकिलो बनाउने काम चलिरहँदा भैंसे–भीमफेदी खण्ड पनि १० मिटर चौडा बनाउने गरी काम सुरु हुन थालेको छ । ३८ करोड लागतमा भैँसेदेखि भीमफेदीसम्मको ११.५ किमि सडक चौडा गर्ने काम गर्न ठेक्का सम्झौता भइसकेको छ । यसैगरी भीमफेदीदेखि कुलेखानीसम्मको १५ किलोमिटर सडक स्तरीकरणको कामले पनि निरन्तरता पाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्