गाउँमा बस पुग्दा स्थानीय हर्षित «

गाउँमा बस पुग्दा स्थानीय हर्षित

कञ्चनपुर-कञ्चनपुरको भीमदत्त नगरपालिकाको दुर्गम बस्ती खल्ला टुँडिखेलमा पहिलोपटक बस पुगेको छ । ब्रह्मदेवबाट महाकाली यातायात समितिको म १ ख ६०२ नम्बरको बस पहिलोपटक बस्तीमा पुगेपछि स्थानीय हर्षित भएका हुन् । स्थानीयलाई साइकल चलाउनसमेत अप्ठेरो हुने गरेको खल्ला टुडिखेलमा स्थानीय तह निर्वाचनपछि पहिलोपटक खल्ला टुँडिखेलमा सडक पुगेको हो ।
स्थानीय प्रकाश पालले पहिलोपटक बस पुगेपछि आफू निकै खुसी भएको बताए । उनले भने, “पहिला त पैदल हिँड्न पनि गाह्रो हुन्थ्यो, साइकल चलाउनु त डराउनु पथ्र्याे अहिले त बस नै पुगेको छ, अहिले खुसी छौं ।” उनले बस्तीमा बस पुगेपछि स्थानीयलाई आवागमनमा सहज र आम्दानीका अवसर देखिएको बताए । उनले भने, “बस पुगेपछि आउजाउ त सहज भई हाल्छ, त्यसबाहेक आम्दानीका अवसर पनि आए सामान ल्याउन सजिलो हुन्छ ।”
ब्रह्मदेवबाट खल्ला टुँडीखेलसम्म खोला, जंगल र महाकाली नदी किनारको बाटो भएर पुग्नुपर्छ । जंगलको बाटोले बस्तीका बालबालिकाले अध्ययनका लागि सबैभन्दा बढी सास्ती भोग्दै आएको स्थानीयले बताए ।
भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले स्थानीय तह निर्वाचनमा खल्ला, टुँडीखेल र मुसेट्टीमा सडक पुगाउने प्रतिबद्धताअनुसार टुँडिखेलमा सडक पु-याएको बताए । उनले नगरपालिकाका दुर्गम बस्तीको विकासलाई प्राथमिकता दिएर काम सुरु गरिएको बताए । उनले भने, “स्थानीय तह निर्वाचनको प्रतिबद्धताअनुसार दुर्गम बस्तीको विकासलाई प्राथमिकता दिएका छौं, पहिलो वर्ष सडक निर्माणसहित विकास निर्माणका कार्य गरिएको छ यस वर्ष त्यस बाटोलाई चौडा गरी बस चलाउन सक्ने बनाएका छौं, त्यसमा बस गुडेको छ, यो बस्तीका लागि खुसीको कुरा हो ।”
नगर प्रमुख विष्टले छिट्टै नगरपालिकाको मुसेट्टीसम्म सडक निर्माण गरी बस सेवा सञ्चालन गरिने जानकारी दिए । मुसेट्टीसम्म सडक खन्न चालू आवमा नगरपालिका कार्यालयबाट बजेट विनियोजन गरिएको छ । वडा कार्यायले पनि यस सडकका लागि बजेट विनियोजन गरेको वडा नं. ९ का अध्यक्ष राम नाथले बताए । भीनपा–९ मा पर्ने यी तीन बस्तीमा पाँच सयभन्दा बढी घरधुरी छन् ।

प्रतिक्रिया दिनुहोस्