मातृ तथा नवजात शिशुको मृत्युदर कमी ल्याउन डडेल्धुरा अस्पतालमा सुसार कार्यक्रम थप प्रभावकारी बन्दै «

मातृ तथा नवजात शिशुको मृत्युदर कमी ल्याउन डडेल्धुरा अस्पतालमा सुसार कार्यक्रम थप प्रभावकारी बन्दै

डडेल्धुरा-मातृ तथा नवजात शिशुको मृत्युदर कम गर्न डडेल्धुरामा गुणस्तरीय स्याहारका लागि सुसार कार्यक्रम सञ्चालन भएको छ । देश भरका आठवटा अस्पतालमा सञ्चालितकार्यक्रम सुदूरपश्चिमकादुई वटा अस्पतालमा छ । डडेल्धुरा अस्पताल डडेल्धुरा र सेतीप्राविधिक अस्पताल धनगढीमा यो कार्यक्रम लागू गरिएको छ । नवजात शिशुको मृत्युदर कम गर्न डडेल्धुरा अस्पतालका स्वास्थ्यकर्मीहरूलाई तालिम दिइँदै छ । स्वास्थ्यकर्मीलाई तालिमसँगै भ्रुणको मुटुको धड्कन जाँच गर्ने उपकरण मोयो, नवजात शिशुको मुटुको धड्कन जाँच गर्ने नियोबिट तथा जन्मदा सास फेर्न नसकेका शिशुलाई कृत्रिम श्वास–प्रश्वास गराउन अपराइड ब्यागमास्क जस्ता आधुनिक उपकरणहरूसमेत दिइएको छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायत विभिन्न गैरसरकारी संघ–संस्थाहरूको सहयोगमा गोल्डेन कम्युनिटीले गुणस्तर सुधारका लागि तालिम र उपकरण उपलब्ध गराएको हो । नेपालमा प्रत्येक वर्ष जन्मिनेछ लाख बच्चामध्ये ११ हजार शिशु मृत अवस्थामा जन्मिने गरेका छन् । करिब १३ हजार नवजातशिशु जन्मिएको एक महिना नपुग्दै मर्छन् । करिब १७ प्रतिशत शिशुहरू जन्मेको पहिलो घण्टामा, ५७ प्रतिशत शिशु जन्मेको पहिलो दिनमा र ७९ प्रतिशत शिशु जन्मेको पहिलो सातामा मर्ने गरेको तथ्यांक नेपाल सरकारसँग छ । यो २०७३ सालको तथ्यांक हो ।
शिशुको मृत्युको कारण महिनानपुगी जन्मिनु ३१ प्रतिशत, जन्मना साथ सास फेर्न नसक्नु २३ प्रतिशत तथा संक्रमण हुनु १९ प्रतिशत प्रमुख हुन् । सुदूरपश्चिममा प्रदेशमा नवजात शिशुदरको संख्या ४१ प्रतिशत छ ।
नेपाल सरकारले हाल रहेको नवजातशिशु मृत्युदर प्रतिहजार २१ लाई सन् २०३० सम्ममा प्रतिहजार जीवित जन्ममा १२ मासिमित राख्ने लक्ष्य लिएको छ । यस्तै मृत जन्मिने शिशुको दर प्रतिहजार जन्मलाई १३ मा घटाउने लक्ष्यअघि सारेको छ ।
यिनै लक्ष्यहरूलाई प्राथमिकतामा राखी काम गर्नुपर्ने अहिलेको आवश्यकता छ । सरकारको यो लक्ष्य प्राप्तिमा हातेमालो गर्न गोल्डेन कम्युनिटीले सुसार कार्यक्रमको थालनी गरेको मंगलबार अस्पतालमा पत्रकारसँग गरिएको अभिमुखीकरणमा सुसार कार्यक्रमका सञ्चार विज्ञ सिर्जना शर्माले बताइन् । यस कार्यक्रमले अस्पतालका मातृ तथा नवजातशिशु स्याहार वार्डहरूमा गुणस्तर सुधारका लागि चाहिने सीप र प्रविधिहरूलाई प्रयोगमा ल्याई प्रसूति समयको जटिलतालाई गुणस्तरीय व्यवस्थापन गर्न सहयोग पु¥याउने हो । सुसारको मुख्य उद्देश्य मातृ तथा नवजात शिशु स्याहारको गुणस्तरमा सुधार ल्याउनु रहेको उनले बताइन् । डडेल्धुरा अस्पतालमा एक वर्षमा ४५ मातृ तथा नवजात शिशुको मृत्यु डडेल्धुरा अस्पतालमा गतबर्ष जम्मा ९ सय ८२ बच्चा जन्मिएका छन् ।
४५ मातृ तथा नवजातशिुको मृत्यु भएको छ । यो तथ्यांक बच्चा जन्मेको सात दिनभित्र मृत्यु भएको हो । जम्मा जन्मिएका बच्चामध्ये १ सय ९० को अप्रेसन गरिएको थियो । लकडाउनका समयमा मात्रै १ सय १४ बच्चा अप्रेसन गरेर जन्मेका छन् । यो तथ्यांक पछिल्ला तीन वर्षको तुलनामा झण्डै ४० प्रतिशतले कम हो । छ महिनासम्म अस्पतालमा स्त्री रोग प्रसूति विशेषज्ञ नहुनु र चैत महिनायता भएको लकडाउनका अस्पतालमा बच्चा जन्मिनेको संख्यामा कमी आएको अस्पतालका मेसु जगदिचन्द्र बिष्टले बताए ।
आर्थिक वर्ष २०७४÷२०७५ मा १४ सय २४ बच्चा अस्पतालमा जन्मिएका थिए । यीमध्ये पनि ४४ को मातृ तथा नवजातशिशुको मृत्यु भएको थियो । एक सय ९७ बच्चा अप्रेसन गरी जन्मेका थिए । यस्तै आर्थिक वर्ष २०७५÷२०७६ मा जम्मा १४ सय २८ बच्चा अस्पतालमा जन्मेका थिए । यीमध्ये पनि ६० वटा मातृ तथा नवजातशिशुको मृत्यु भएको थियो । २ सय ३३ बच्चा अप्रेसन गरेर जन्मेको अस्पलालको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्