मापदण्ड पूरा नगर्ने क्रसर उद्योग बन्द

पर्वत-अवैधरुपमा उद्योग सञ्चालन गरी कालीगण्डकी नदी दोहन गर्ने उद्योगलाई पर्वतको जलजला गाउँपालिकाले बन्द गराउन थालेको छ । जलजला गाउँपालिका–७ मिलनचोकमा सञ्चालनमा रहेको क्रसर उद्योगमा जलजला गाउँपालिकाले सूचना टाँसेर बन्द गराएको हो । बागेश्वरी एग्रिगेट एण्ड ब्लक उद्योगको नाममा सञ्चालनमा रहेको क्रसर उद्योगलाई ‘अवैध रुपमा चलेको’ भन्दै जलजला गाउँपालिकाको कार्यपालिका बैठकले बन्द गराउने निर्णय गरी सूचना जारी गरेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए ।
जलजला–७ धाईरिङ्गका बागविर घर्ती क्षेत्री र शिवबहादुर घर्ती क्षेत्रीले बागेश्वरी एग्रिगेट एण्ड ब्लक उद्योगको नाममा उक्त क्रसर चलाउँदै आएका थिए । गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को दफा ११ को उपदफा २ को ञ ९६० को अधिकार प्रयोग गरी उद्योगमै पुगेर बन्द गराएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए ।
गाउँपालिकाले यसअघि ०७६ वैशाख ९ मा पनि उद्योग बन्द गर्न निर्देशन दिएको थियो । तर पालिकाको सम्पूर्ण निर्देशन अवज्ञा गर्दै कालीगण्डकी नदी दोहन गर्न नछाडेपछि उक्त उद्योगको व्यापारिक फर्मको दर्ता, अनुमति, नविकरण, खारेजी, अनुगमन र नियमन कार्यविधि २०७५ को दफा १० को उपदफा ४ बमोजिम आठौ गाउँसभाले बागेश्वरी एग्रिगेट एण्ड ब्लक उद्योगलाई खारेज गर्ने र गाउँपालिकाबाट उपलब्ध हुने सेवा सुविधा बन्द गर्ने निर्णय गरेको थियो ।
जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले क्रसर उद्योग चलाउने भएमा सबै प्रक्रिया पु¥याउनका लागि लामो समय गाउँपालिकाले समय दिएपनि सञ्चालकले एउटा कागजात पनि पेश नगर्ने र अटेर गरेपछि बाध्य भएर अनुगमन समितिको प्रतिवेदनका आधारमा गाउँसभाको निर्णयले बागेश्वरी ब्लक उद्योगले चलाएको क्रसर उद्योग बन्द गराएको जानकारी दिए ।
यता बागेश्वरी एग्रिगेट एण्ड ब्लक उद्योगका सञ्चालक शिवबहादुर जिसीले गाउँपालिकाको निर्णयविरुद्ध कानुनी उपचार खोज्ने बताए । उनले जिल्ला भित्रका सबै क्रसर उद्योग मापदण्ड बिपरित भएकाले ती उद्योग बन्द नभएसम्म उद्योग सञ्चालन गर्ने चुनौती दिए ।
पर्वत जिल्लामा सञ्चालित कुनै पनि क्रसर उद्योगले प्रदेश सरकारले तोकेको मापदण्ड पूरा गरेका छैनन् । संघीय सरकार र प्रदेश सरकारले मापदण्ड पूरा गर्नका लागि एक वर्षको समय दिएको छ । एक वर्षभित्र मापदण्ड पूरा नगरेमा बाँकी रहेका उद्योग समेत बन्द हुने अवस्था आउने देखिएको छ । कालीगण्डकीको किनारमा मात्रै आधा दर्जन भन्दा बढी क्रसर उद्योग सञ्चालनमा रहेका छन् ।