कुकुर देखेपछि मुगुमा स्थानीयवासी र चौपाया डराउन थाले «

कुकुर देखेपछि मुगुमा स्थानीयवासी र चौपाया डराउन थाले

मुगु जिल्लाको एक मात्र छायाँनाथ रारा नगरपालिका–२ र ३ मा कुकुरले चौपायालाई लखेटी–लखेटी मार्न थालेपछि स्थानीयवासी र चौपायहरू डराउन थालेका छन् । छायाँनाथ रारा नगरपालिका–२ र ३ मारहेको तलितुम, बजेडी, माथितुम लगायतका बस्तीहरूमा गाई वस्तुलगायत अन्य पशु चौपायाहरूलाई कुकुरले लखेटी–लखेटी मार्न थालेपछि स्थानीयहरू चिन्तित भएका छन् ।
एक सातायात १ वटा बाख्रासहित ६ वटा गाई र गोरु कुकुरले मारेको वडा नं २ तलितुम निवासी नवराज रावलले जानकारी दिएका छन् । गाई–गोरुलगायत अन्य चौपाय वस्तुहरूलाई लखेट्न थाल्दा मानिसहरू गएपछि उल्टै फर्किएर मानिसलाई समेत लखेट्ने गरेको रावलको पनि बताएका छन । गाउँमा रहेका छाडा ३ वटा कुकुरले आतंक मच्चाएपछि गएको मंगलबार स्थानीय बासिन्दाहरूले स्थानीय सरकारका रूपमा रहेको वडा पानिका हुँदै छायाँनाथ रारा नगरपालिका र जिल्ला पशुसेवा कार्यालयमा आतंक मच्चाउने छाडा रूपमा रहेका कुकुर नियन्त्रणका लागि निवेदन दिई अनुरोध गरेका छन् ।
साता दिनभित्रमा नगरपालिका–२ निवासी भीम तिरुवाको १ वटा बाछी वडा नं २ कै शंकर तिरुवा र रुपबहदुर मल्लका १, १ वटा गरी २ वटा गाई वडा नं ३ का बाँचु बुढाको १ वटा बाख्री र २ वटा थाहा नभएको व्यक्तिका गाई, गोरु गरी एक साताभित्र ६ वटा पशुचौपाया कुकुरहरूले लखेटी–लखेटी मारेको तलितुमका स्थानीयवासी भीम तिरुवाले बताएका छन् ।
रातदिन जता गए पनि ३ वटा कुकुरसँगै जाने गरेको र गोरुलाई आक्रमण गर्दा पनि एकैचोटी ३ वटैले आक्रमण गर्ने गरेको प्रत्यक्षदर्शी भीम तिरुवाले जानकारी दिए । स्थानीयले कुकुर आतंक नियन्त्रणका लागि नगरपालिकामा निवेदन दिएपश्चात् भुस्याहा कुकुर नियन्त्रणका लागि सरोकारवाला निकायसँग समन्वय गरी नियन्त्रणका लागि आवश्यक पहल गर्ने छायानाथ रारा नगरपालिकाका नगरप्रमुख हरिजंग शाहीले बताए ।
गाईवस्तुका साथै मान्छेलाई समेत छाडा डुलुवा कुकुरहरूले लखेट्ने भएपछि स्थानीय तथा सडकमा हिँडडुल गर्ने मानिसहरू आफूलाई समेत लखेट्ने हुन कि भनी त्रसित भएका छन् । मुख्य गरी बालबालिका, वृद्ध र महिलाहरूलाई नजिकैदेखि कुकुरहरू भुक्ने र लखेट्ने प्रयास गर्ने भएकाले यी वडाहरूमा रहेका बस्तीहरूका स्थानीयहरू हिजोआज घर बाहिर निस्कन डराउने गरेका छन् ।

गाउँ बाहिर वनजंगलमा गाईवस्तु चराउन जान पनि स्थानीयहरूलाई समस्या भएको छ । ती डुलुवा कुकुरहरू नजिकै रहेको नेपाली सेनाको सदरमुकाम सुरक्षा क्याम्पबाट फालिएको खाना खान जाने र दिउँसो गाउँ र वनपाखातिर निस्केर गाईवस्तु लखेट्ने गरेको बताइएको छ ।हालसम्म पशुचौपायालाई मात्र मार्ने गरेपछि यी कुकुरहरूलाई सरोकार निकायहरूले नियन्त्रणमा नलिएर यसै छाडिएमा मानिसलाई समेत मार्न थाल्ने देखिन्छ ।

दानबहादुर बूढा

प्रतिक्रिया दिनुहोस्