भारत जानेलाई रोकेन कोरोना महामारीले

थिति बन्यो, नीति बनेन
दैलेख-विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीले स्वदेश फर्किएका अधिकांश युवा महामारी नरोकिँदै पुनः भारत फर्किन थालेका छन् । कोराना महामारीले गर्दा लामो समय लकडाउन भएपछि घर फर्किएका अधिकांश युवा गाउँमा कुनै रोजगारी नभएपछि घरजोहो गर्न पुनः भारतमै फर्किन थालेका हुन् ।
दसैं तिहार नजिकिँदै गर्दा घर फर्कने बेला दैलेख नारायण नगरपालिकाका एक दर्जनभन्दा बढी युवा गाउँमा रोजगारीको कुनै सम्भावना नदेखेपछि भारत फर्कन बाध्य भएका हुन् । भारतमा मजदुरी गरेर चाड पर्व मनाउन घर आउने बेला घर खर्च चलाउनकै लागि केही उपाए नभएपछि भारतमै जान बाध्य भएको नारायण नगरपालिका–६ विजौराका विमल रावत बताउँछन् । “यहाँ युवा लक्षित कार्यक्रम केही छैनन्, हामी जस्ता युवाका बारेमा कसैले केही गर्दैन,” उनले भने, “के गर्ने आफ्नो देशमा बसेर काम गरी खाने रहर हुँदा पनि बाध्य भएर भारत जानुपर्छ ।” चाडपर्व सकिएपछि कामको खोजीमा भारतका विभिन्न सहर जाने युवा चाड पर्व नजिकिँदै गर्दा धमाधम भारत जाने लर्को लाग्ने गरेको छ ।
खेतबारीको उब्जनीले केही महिना मात्र पुग्ने भएपछि यहाका अधिकांश युवा रोजगारीका लागि भारत जाने गर्दछन् । कोरोना संक्रमणका हिसाबले भारत विश्वमै सबैभन्दा जोखिमयुक्त मुलुक भए पनि दैनिक सयौंको संख्यामा नेपाली रोजगारीको खोजीमा त्यसतर्फ जाने क्रम रोकिएको छैन । स्थानीय तहबाट युवा नीति नबन्दा गाउँका युवा बाहिरी मुलुकमा गएर मजदुरी गर्न बाध्य भएको समाजसेवी कुमार राना बताउँछन् । “नेपाली युवा श्रमका लागि भारतलगायत अन्य बाहिरी मुलुकमा जाने थिति त बन्यो तर युवा नीति बनेन्,” सामाजसेवी रानाले भने, “यसतर्फ स्वदेशमै युवालाई विभिन्न किसिमका रोजगारमूलक कार्यक्रम ल्याउन सबै तहले ठोस नीति बनाउन जरुरी छ ।”
यसरी जानेमा भारतमा आधार कार्ड भएका, काम गर्ने कम्पनीको परिचय पत्र बनाएका तथा रोजगार कम्पनीले बोलाएका नेपाली बढी छन् । लामो समयदेखि लकडाउनका कारण रोजीरोटी गुम्दै गएका कारण गरिब तथा विपन्न वर्गका नागरिक अहिले ठूलो मारमा परेका छन् । गाउँघरमा केही काम नभएपछि छाक टार्न पनि हम्मेहम्मे परेका बेला दैनिकी चलाउनका लागि पनि भारत जान बाध्य भएको वताउँछन् नारायण नगरपालिका–६ कै दिनेश थापा । कोरोनाको जोखिम भए पनि भोको पेटका लागि ज्यान जोखिममा राखेर भारत जान लागेको उनीहरू बताउँछन् ।
स्वदेशमै युवाका लागि युवा लक्षित कार्यक्रम तथा कुनै नीति नभएकाले हामीजस्ता युवा बाहिरी मुलुकमा गएर मजदुरी गर्न बाध्य भएको बताउँछन् स्थानीय सोमत रावत । “नेताहरू पद र कुर्सीमुखी भए, युवाका बारेमा केही सोच्दैनन्,” उनले भने, “के गर्नु भोट हाल्ने बेला युवाका लागि यस्तो गर्छौं उस्तो गर्छौं भन्छन् अहिले केही कामकाजका लागि आफन्त खोज्दै हिँड्छन् हामीलाई मजदुरी नगरी हुँदैन ।” साँझ बिहान हातमुख जोर्न गाह्रो भएपछि भारत पस्नुको विकल्प नभएको उनको गुनासो छ ।
दैलेखको सबैभन्दा पुरानो नारायण नगरपालिकाले समेत हालसम्म पनि युवा लक्षित कुनै कार्यक्रम तथा नीति बनाएको छैन । यसरी नगरपालिकाले युवा लक्षित कार्यक्रम तथा युवालाई प्रोत्साहन हुने कार्यक्रम नगर्दा वर्षेनी सयौंको संख्यामा नगरपालिकाबाट अन्यत्र ज्याला मजदुरीका लागि युवा बाहिरिने गर्दछन् । नगरपालिकाले युवाका लागि ठोस नीति तथा कार्यक्रम नबनाउँदासम्म बाहिर ज्याला मजदुरी गर्न जानेको संख्यामा कमी नआउने बताउँछन् नगरवासी विनोद कुमार श्रेष्ठ । दैलेख, जुम्ला, कालिकोट लगायतका स्थानीय नेपालगन्ज नाका हुँदै दैनिक करिब २ सयको हाराहारीमा भारत गइरहेका छन् । यो संख्या दिनहुँ बढ्दो छ ।