युवा नहुदा दसैं खल्लो «

युवा नहुदा दसैं खल्लो

बूढापाका र विद्यालय पढ्ने उमेरका केटकेटीबाहेक गाउँमा प्रायः कोही देखिँदैनन् । युवा नहुँदा दसैंतिहारजस्ता पर्वहरू पनि खल्लो हुँदै गएका छन् ।

गाईघाट : केही वर्षअघिसम्म दसैं, तिहार, छठजस्ता चाडपर्व र अन्य कुनै उत्सवमा युवाले नै रमाइलो गर्थे । गाउँमा प्राकृतिक, दैविक विपत्ति आइलाग्दा त्यसलाई नियन्त्रण गर्न र गाउँको बचाउ गर्न युवा नै अग्रसर हुन्थे । कोही बिरामी परे उपचारमा लैजान होस् या रातभरि रुघ्न युवा नै तयार हुन्थे । तर, अहिले परिस्थिति फेरिएको छ । हिँजोआज यी सबै काममा गाउँका बूढापाका नै तयार हुनुपर्ने बाध्यता छ । युवाजति प्रायः सबै रोजगारीका लागि गाउँबाट बाहिरिएका छन् । बूढापाका र विद्यालय पढ्ने उमेरका केटकेटीबाहेक गाउँमा प्रायः कोही देखिँदैनन् । युवा नहुँदा दसैंतिहारजस्ता पर्वहरू पनि खल्लो हुँदै गएका छन् ।
जिल्लाका डुम्रे, जाँते, लाफागाउँ, मैनामैनी, पोखरी, रूपाटार, हडिया, सुन्दरपुरलगायतका स्थानका प्राय अधिकांश युवा बिदेसिएका छन् । बाँकी रहेकामा पनि कोही उच्च शिक्षा अध्ययनका लागि देशका विभिन्न भागमा बस्छन् भने कोहीले ज्याला मजदुरीकै लागि गाउँ छाड्नुपरेको छ ।
“युवा बाहिरिएपछि अधिकांश गाउँमा दसैं, तिहारजस्ता चाडपर्व पनि खल्लो लाग्दै गएका छन्,” गाईघाटका ७३ वर्षीय भीमबहादुर आलेले भने, “मर्दा पर्दा अभाव खड्किन्छ, चाडपर्व र उत्सवमा नरमाइलो हुन्छ ।” आफ्नै ठाउँमा रोजगारीको अवसर प्राप्त हुन नसक्दा युवा विदेसिन बाध्य भएपछि यस्तो अवस्था उत्पन्न भएको उनले बताए ।
“अरू बेला आवश्यकता नभए पनि विपत्ति पर्दा र चाडपर्वमा धेरै आवश्यकता पर्दाे रहेछ,” स्थानीय ५० वर्षीय दुर्गा तामाङले भने, “कहिलेकाहीं त बिरामी पर्दा अस्पतालसम्म लैजाने र लास पर्दा रुँघ्ने मान्छेसमेत पाइँदैन ।” बूढाबूढी मात्र भएका कतिपय घरकाले त काम गर्न नसकेर आफूसँग भएको थोरै खेतबारीसमेत बाँझै राख्न थालेको उनको भनाइ छ । “आफू काम गर्न सक्दैनन्, काम गर्ने मान्छे भेटिँदैनन्, अनि के गर्ने ?” उनले भने, “युवा नभएकाले समयमा खेती गर्न नसक्दा आधा उत्पादन घटेको छ ।”
“गाउँघरमा रमाइलो हुन छाड्यो” बेलकाका ६७ वर्षीय चक्रबहादुर राईले भने, “पहिले–पहिले दसैंतिहारमा युवाहरूले नाटक देखाउँथे र गाउँलेलाई मनोरञ्जन दिन्थे ।”
तर, अहिले गाउँमा युवा नभेटिने उनले बताए । “गाउँमा ५ प्रतिशत पनि युवा बस्दैनन्, अनि के रमाइलो होस् ?” उनको भनाइ थियो ।
जिल्लामा वैदेशिक रोजगारीसम्बन्धी काम गरिरहेको सामी परियोजनाका अनुसार विगत ६ वर्ष यता उदयपुर जिल्लामा ४७ हजार ७ सय ७६ जनाले वैदेशिक रोजगारीका लागि राहदानी लिएका छन् । राहदानी लिनेमा महिलाको संख्या १८ प्रतिशत छ भने पुरुष ८२ प्रतिशत छन् ।
परियोजना प्रमुख सोनाम राईका अनुसार ६ वर्षयता उदयपुरबाट कुल ४२ हजार ३ सय २१ जना वैदेशिक रोजगारीमा गएका छन् । कुल संख्याको ५२ प्रतिशत मात्र सीप सिकेर गएको उनले बताइन् ।
“७६ प्रतिशतले मात्र कागजपत्रको प्रतिलिपि घरमा छाडेर गएको पाइएको छ” राईले भनिन्, “म्यानपावर कम्पनीलाई पैसा बुझाएको भरपाई लिने त झन् ११ प्रतिशत मात्रै छन् ।” वैदेशिक रोजगारीमा जाने १७ हजार ५१ जनालाई सूचना तथा परामर्श दिइएको सामी परियोजनाले जनाएको छ ।
“स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न नसक्ने हो भने अबका केही वर्षमा जिल्ला युवाविहीन बन्ने परिस्थिति आउन सक्छ,” सदरमुकामस्थित त्रियुगा माविका प्राचार्य सुवास विष्ट भन्छन्, “गाउँ युवाविहीन बन्नु भनेको विकासको मूलढोका बन्द हुनुजस्तै हो ।”

प्रतिक्रिया दिनुहोस्