सिन्धुपाल्चोकमा फेरि पहिरो : दुई गाउँ पुरिंदा ११ मृत्यु, २० बेपत्ता

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका ७ स्थित घुम्थाङमा पहिरो जाँदा ११ को मृत्यु भएको छ । घुम्थाङको भिरखर्क, नागपुजे गाउँ पहिरोले पुर्दा अझै २० बेपत्ता छन् ।
बस्ती माथिबाट आएको पहिरोले दुई गाउँलाई भोटेकोशीमा विलय भएको थियो । विहान करिब ३ बजे आएको भीषण पहिरोले बस्ती पुरेको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा नागपुजेका ६२ वर्षिया भक्तिमाया श्रेष्ठ, ९८ वर्षिया ट्याक्सी शेर्पा, भिरखर्कका २३ वर्षकी जुनु विक, २४ वर्षिय शुकलाल विक, ८ वर्षिय सन्देश विक र नेवार टोलका ६० वर्षिया सर्किनी नेवार ,६५ वर्षका धनलाल विक, ६० वर्षिया हिरामाया नेवार, ४२ वर्षकी ज्ञानीमाया प्रधान, २५ वर्षकी कर्णबहादुर श्रेष्ठ र ५ वर्षकी सरस्वती विक रहेका छन् । बेपत्ताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।
‘यो बस्तीमा पहिरो आउलाजस्तो थिएन, जमिन समथर नै थियो,’ बाह्रविसे नगरपालिका ७ का अध्यक्ष मिनबहादुर श्रेष्ठले भने, ‘जमिन केही थिलथिलोजस्तो थियो । यो बस्ती भन्दा माथिको गाउँ भने केही जोखिमजस्तै थियो ।’
भिरखर्कका सूर्यबहादुर खड्काले भने जमिन थिलथिलो बनेर जोखिमपूर्ण बास भएपनि स्थानीय सरकार चुपचाप बसेको आरोप लगाए । घुम्थाङ गाउँको माथिल्लो क्षेत्र भिरखर्क, नागपुजे, नेवार टोलीदेखि तल्लोगाउँमा झण्डै दुईसय परिवार बसोबास गर्थे । बर्खाको सुरुमा नागपुजेमा थोरै पहिरो खस्ने जोखिम देखिएपछि स्थानीयले जनप्रतिनिधिलाई समस्याबारे जानकारी दिएका थिए । ‘चिटिक्क रहेको बस्ती पहिरोको एकै झट्काले ध्वस्त बनायो, आफन्त, छिमेकीहरु पुरिए,’ उनले भने ।
घाइते छेसाङ तामाङका अनुसार बिहान साढे ३ बजे घर पुरै हल्लाउन सुरु गर्दा भूकम्प आयो भन्ने सोचेरे परिवारका सबै सदस्यलाई उठाएर घरबाहिर निकालेका थिए । ‘हामी घर बाहिर निस्कँदा पहिरोले बस्ती पुरेको रहेछ,’ उनले भने । पारीबाट छिमेकी र आफन्तले भाग भाग भनेर चिच्याउ“दै रुदै कराएपछि भाग्दा भाग्दै पहिरोले बीचमै मलाई छोपेको उनले बताए ।
बाह्रबिसे नगर वडा ७ का अध्यक्ष मिनबहादुर श्रेष्ठकाअनुसार भिरखर्कभन्दा तल्लो नागपुजे क्षेत्रमा पहिरोको समस्या देखिएपछि सातादिनअघि जनप्रतिनिधिबीच छलफल गरेर बस्ती सार्न प्रशासन, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई गुहारिएको थियो । उनले पुनर्निर्माण प्राधिकरणले सुनुवाई नगरेको आरोप लगाए ।
पहिरोले गाउँ नै बगाएपछि शोकाकुल स्थानीय त्रसित बनेर तल्लो सुरक्षित स्थानमा पाल टहरा टागेर सरिरहेका छन् । केही छिमेकीको घरमा आश्रय लिएर पनि बसिरहेका छन् ।
भिरखर्क, किम्बेटोल क्षेत्र पहिरोले घर बगाउँदा घाइते भएर बलेफी गाउ“पालिका वडा ७ खाडीचौरस्थित सिन्धुसदाबहार अस्पताल लगिएका तीन घाइतेमध्ये एकलाई अवस्था गंम्भिर भएकाले काठमाण्डौ रिफर गरिएको छ ।
प्रहरीका अनुसार बाह्रबिसे नगरपालिका ७ का नागपुजे र भीरखर्क पहिरोमा बेपत्ता हुनेमा नागपुजेका र भिरखर्कका रस बहादर नेवार, दिलमाया श्रेष्ठ, रिता श्रेष्ठ, कानियल श्रेष्ठ, नादन श्रेष्ठ, अमृत श्रेष्ठ, मनिता श्रेष्ठ रहेका छन् । त्यस्तै रबिना श्रेष्ठ, रियाशु शिवभक्ति, रबिना श्रेष्ठको दुई महिना छोरा, पदम् कुमारी श्रेष्ठ, राम कुमारी श्रेष्ठ, लाल बहादुर श्रेष्ठ, बुद्धलक्ष्मी श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, कुमार बिक, सोनिया बिक, रुपा बिक, सिहं बहादुर नेवार, एक पाहुना(नाम नखुलेको) पहिरोमा बेपत्ता छन् ।
किशोर बुढाथोकी