पसाउने बेला धानको बोट मर्न थाल्यो

सिन्धुली-पसाउनै लागेको धान एकाएक मर्न थालेपछि सिन्धुलीका किसानहरु चिन्तित भएका छन् । जिल्लाका मुख्य धान उत्पादन हुने क्षेत्रमा लगाइएको धानबालीमा विभिन्न प्रकारका रोग देखा परेको हो । कोरोना भाइरसको त्रासका बीच रोपिएको धान लहलह भएर पसाउने बेला त भयो । तर धानका बोट सुक्ने, कुहिने र पहेँलो हुने समस्याले किसानलाई सताउन थालेको छ ।
कमलामाई नगरपालिका–२ कुसुमटारका किसान प्रसान्त थिङ यस्तै समस्या लिएर नगरपालिकाको कृषि शाखामा आए । दुई बिगाह खेतमा लगाइएको धानमा बेरुवा र गबारोको समस्या देखिएपछि समाधानको आशामा सदरमुकाम आएको उनले बताए । तर कृषि शाखाले परिक्षणका लागि धानको बोट लिएर आउनु भन्दै उनलाई फर्कादियो ।
प्रत्येक वडामा कृषि प्राविधिकको अनिवार्य व्यवस्था गर्नुपर्ने भएपनि गाँउमा प्राविधिक नपुग्दा किसानहरु समस्या बोकेर नगरपालिका धाउन बाध्य छन् । “वडामै प्राविधिक भइदिएको भए हामीलाई धेरै सहज हुने थियो ।” थिङले भने, “साना ठूला समस्याको लागि पनि बजारै धाउनु पर्छ, आज आइयो फेरि भोलि धानको बोट लिएर आउनु भन्नुभएको छ, रोग नियन्त्रण भइहाल्छ की भन्ने आशा छ ।”
नगरपालिकाका कृषि प्राविधिक प्रमुख सरोज फुयाल दुई वटा वडामा एक जना प्राविधिकले हेर्नेगरी कृषि प्राविधिक खटाइएकाले समस्या भएको बताउँछन् । किसानलाई धानको बोटको परीक्षण गर्नका लागि नमूना ल्याउन आग्रह गरेको बताउँदै नगरपालिकाको १४ वटै वडामा उक्त रोग देखा परेको जानकारी दिए ।
अहिले उनी जस्तै जिल्लाका किसान दैनिकजसो धानमा देखिएको समस्या लिएर पालिका धाउने गरेका छन् । समयमा नै रसायनिक मलसमेत हाल्न नपाएका किसानहरु धानमा रोग देखिएपछि समाधानका उपाय खोज्दै भौंतारिएका हुन् ।
कृषि ज्ञान केन्द्र सिन्धुलीका अनुसार जिल्लाका अधिकांश धान उत्पादन क्षेत्रमा यस्तो समस्या देखिएको छ । कमलामाई र दुधौली नगरपालिका, तीनपाटन, मरिन, हरिहरपुरगढी र घ्याङ्लेख गाउँपालिकाका किसानका धानबालीमा रोग देखा परेको हो । धानबालीमा गबारो, बेरुवा र सेते जस्ता रोग देखा परेको केन्द्रका बागवानी विकास अधिकृत श्रीकृष्ण अधिकारीले जानकारी दिए ।
उनका अनुसार धान पसाउन लागेको समयमा यस्तो रोग देखा परेपछि किसान चिन्तित बनेका छन् । समस्या देखिएका बालीमा तत्काल कुनै जैविक बिषादी प्रयोग नगर्न र प्राविधिकको सल्लाह अनुरुप मात्रै विषादीको प्रयोग गर्न उनले किसानलाई आग्रह गरिएको छ ।
यता दुधौली नगरपालिका–१४ आहालेमा प्राविधिकको सल्लाह विना आँफूखुसी विषादी प्रयोग गर्दा ९० प्रतिशत धानमा क्षती पुगेको नगरपालिकाको कृषि शाखाले जनाएको छ । झण्डै ६ विगाह जमिनमा रोपिएको धानको बोट कुहिने र जरा सुक्ने समस्याका कारण क्षेती पुगेको हो ।
सुरुमा धानको पात पहेलो भएर पात सुक्ने र पछि धानका जरा नै सुक्ने समस्याले झण्डै ६ विगाह जमिनमा रोपिएको धानबालीमा यो रोगले क्षेती गरेको दुधौली नगरपालिकाको कृषि प्राविधिक दिनेश बुढाथोकीले जानकारी दिए । “किसानहरुले हामीलाई जानकारी नै नगराई जथाभावी विषादीको प्रयोग गर्नुभएछ ।” उनले भने, “खबर पनि ढिला पायौँ, पुग्दा ९० प्रतिशत धानबालीमा क्षति भइसकेको रहेछ ।”