केराको कमाइले छोरीलाई पीएचडी «

केराको कमाइले छोरीलाई पीएचडी

कञ्चनपुर-भीमदत्त नगरपालिका–१० तिल्केनीकी पार्वती साउद पेशाले केरा किसान हुन् । जिल्लामा उनको छवि उत्कृष्ट महिला किसानको छ । २०५४ सालबाट केरा खेती गरेकी साउदले यस खेती विस्तार गरेको ४/५ वर्षमात्रै भयो । केराको कमाइले साउदले छोरीलाई विदेशमा पीएचडीसम्मको अध्ययनका लागि खर्च पठाउन सफल भएकी छन् ।
“४ छोराछोरीमध्ये एक छोरी पीएचडी गर्न डेनमार्कमा छिन्,” उनले भनिन्, “एउटा छोरा कञ्चनपुरको अमिटी कलेबाट बीबीए पास गरेर काठमाडांैमा अध्ययनरत् छन् । केरा खेती गरेरै छोराछोरीलाई पढाउन सफल भएकी हु, केराको कमाइले घर पनि बनाएँ,” उनले भनिन्, “जागिर त छैन तर पनि हामी खुसी नै छौं ।”
धान, गहुँभन्दा केरा खेतीबाट चार गुणासम्म फाइदा हुने र खेती गर्न पनि सजिलो रहेको उनी बताउँछिन् । तर, उनले वार्षिक कति आम्दानी हुन्छ भन्ने हिसाब भने गरेकी छैनन् । छोराछोरीलाई पढाउन र दैनिकी चलाउन कुनै समस्या नभएको उनले बताइन् । पार्वती जिल्ला सहकारी संघको अध्यक्ष समेत भइसकेकी छन् । उनी भन्छिन्, “मलाई निवेदन लेख्न पनि आउँदैन, लेख्नै परे छोराछोरीलाई भन्छु ।” पार्वतीलाई उनका श्रीमानले व्यवसायमा साथ दिएका छन् ।
“हामीलाई यो व्यवसाय गर्न निकै सहज छ कृषि कार्यालयले पनि काम गर्ने किसानहरूलाई धेरै सहुलियत दिन्छ, तर यहाँ काम नगर्नेहरूले विरोध गरिरहेका हुन्छन्,” उनी भन्छिन्, “कृषिबाट पनि सरहरू आउनु हुन्छ हाम्रो बारीमा, सरकारले पनि हाम्रो मूल्याङ्कन गरेर राम्रो सहुलियत गर्दै अनुदान दिएको छ, यसबाट म एकदमै खुसी पनि छु ।”
कञ्चनपुरमा पछिल्लो समय केरा खेती फस्टाएको छ । केरा व्यवसायीले सहकारी पनि गठन गरेका छन् भने त्यसमा आबद्ध नहुनेको संख्या पनि १ सयभन्दा बढी छ । २०५२ सालमा १ कट्टा जमिन भाडामा लिएर केरा खेती सुरु गरेका कञ्चनपुरको भीमदत्त नगरपालिका तिल्केनीका पूर्ण साउद अहिले उत्कृष्ट केरा कृषकको रूपमा चिनिन्छन् । अन्य बालीभन्दा केरा खेती गर्न सजिलो र राम्रो आम्दानी हुने भएकाले पूर्ण साउदजस्तै अन्य धेरै कृषकहरूको रोजाइ केरा खेती बनेको छ । एक कट्टा जमिनबाट सुरु गरेको केरा खेती अहिले १५ विघा जमिनमा केरा खेती गरिरहेका छन् साउद । अहिले उनले जमिन लिजमा लिएर केरा खेती गरिरहेका छन् । जसमा ५ विघा जमिनमा थोपा सिचाईं प्रणाली (इजरायली प्रविधि) र १० विघामा गरी १५ विघा जमिनमा केरा खेती गरिरहेका छन् । केरा व्यवसाय गरी विदेशमा भन्दा दोब्बर आम्दानी गरेका साउद अहिले सफल कृषकको रूपमा चिनिएका छन् ।
साउदका अनुसार वार्षिक सबै खर्च कटाएर १० देखि १५ लाखसम्म आम्दानी हुन्छ । अहिले कञ्चनपुरमा व्यावसायिक केरा खेती गर्ने ५ सय ५० जनाले केरा खेती गरिरहेका कृषक साउदले बताए । उनले भने, “हामी कृषकहरूको जिल्ला स्तरीय सहकारी छ त्यसमा आवद्ध ५ सय ५० जना व्यवसायीक केरा खेती गर्ने कृषकहरू छन् ।” उनका उनुसार कञ्चनपुरमा अहिले ५ सय ५० जनाले ४ सय हेक्टर जमिनमा केरा खेती गरिरहेका छन् ।
थोपा सिँचाइले सहज
थोपा सिँचाइ प्रविधि अर्थात इजरायली प्रविधिले व्यवसायमा सहजता ल्याएको किसानहरू बताउँछन् । थोपा सिँचाइ प्रविधिबाट सिचाइ मल पानी दिन सजिलो छ भने कामदार लगाउँदा आउने खर्च थोपा सिँचाइले नै घटाएको छ ।
नेपालमा २०५५ सालदेखि थोपा सिंचाइ प्रविधिको प्रयोग भए पनि जिल्लामा थोपा सिँचाइ प्रणाली सुरु भएको एक वर्षमात्रै भएको छ । यस प्रणालीमा प्लाष्टिक पाइपबाट विरुवाको जरामा थोपा–थोपा गरेर पानीको आवश्यकता पूरा गरिन्छ । यो प्रविधिले सतह सिँचाइको तुलनामा ८० प्रतिशत पानी बचत गर्छ । थोरै पानीबाट धेरै सिँचाइ गर्न सकिन्छ । थोपा सिँचाइ प्रणालीबाट जिल्लाको भीमदत्त नगरपालिका, कृष्णपुरको गुलरिया र पुनर्वास नगरपालिकामा यो वर्षदेखि केरा खेती सुरु भएको छ ।
समस्या बजारको
केरा व्यवसायीलाई बजारको समस्याले सताएको छ । आफ्नै देशमा उत्पादित खाद्य वस्तुलाइ सरकारले प्रवद्र्धन गर्नुको सट्टा बरु सरकारी निकायले लापरबाही गरी भारतबाट भित्रने केरालाई क्वारेन्टाइन परीक्षण नगराइ आँखाले हेरेको भरमा र हातले छामी केरा आयात गर्ने प्रवृत्तिका कारण अहिले केरा खेती धरापमा पर्ने हो कि भन्ने चिन्ता बढेको छ । कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकी भएर दिनहरू लखौका केरा आयात भएका हुन्छन् । भारतबाट आउने फलफूल तथा खाद्य पदार्थले बजार खोसेको केरा व्यवसायी पूर्ण साउदले बताए । उनले भने, “हामीले भारतको केरा बन्दनै गनुपर्छ भनेका होइनौं तर भन्सारमा आउदा डब्लूटीओको मापदण्ड पूरा गरेरमात्र नेपालमा आयात हुन दिनुस् हामीले ३ वर्षदेखि भनिराखेका छौं, तर भन्सार र क्वारेन्टाईनले कुरै सुन्दैन ।”
भारतबाट आउने केराको चेकजाँच गरेर मात्र आयात गर्न दिने हो र आफ्नै देशमा उत्पादित खाद्यय वस्तुलाइ सरकारले बिक्री र प्रबद्र्धनमा जोड दिने हो भने कञ्चनपुरमा मात्र नभइ सुदुरपश्चिम लगायतका तराईका जिल्लामा समेत केरा खेती अझ फस्टाउने छ । प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी भारतीय अवैध केरा आयात रोक्न भन्सार, क्वारेन्टाइन कार्यालय गड्डाचौकीलाई पत्राचार गरिएको बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्