भारतीय रुपैंया हालसम्मकै मंहगोमा खरिद बिक्रि «

भारतीय रुपैंया हालसम्मकै मंहगोमा खरिद बिक्रि

  • नेपालगन्ज र रुपैडिहामा जताततै भारुको अवैध कारोबार

नेपालगन्ज-पछिल्लो समयमा  भारतीय रुपैयाँको अभाव चर्किएसंगै अवैध खरिद विक्रि पनि अत्याधिक बढेको छ ।
अहिले नेपालगन्जका अधिकांश स्थानहरुमा रहेका विभिन्न पसल, मनी एक्सचेन्ज काउन्टर र ब्यक्तिहरुले पनि भारुको अवैध खरिद विक्रि खुला रुपमा गरिरहेका छन् भने सीमापारी रुपैडिहामा पनि सयौं जनाले भारुको सस्तोमा खरिद र महंगोमा विक्रि गरिरहेका छन् ।
नेपालगन्ज र रुपैडिहामा जता गएपनि महंगो शुल्क तिरेर भारतीय रुपैयाँ सहज रुपमा पाउन थालेको छ ।
केही समययता बाँकेको सदरमुकाम नेपालगञ्ज लगायतका सीमावर्ति क्षेत्रहरुमा भारतीय मुद्राको अभाव अत्याधिक बढेपछि अवैध कारोबार पनि बढेको हो ।
वैद्य तरिकाले भारु नपाउँदा भारुको अवैध कारोबार जताततै खुला रुपमा भैरहेको स्थानीय ब्यबसायी दिपक लखेरले बताए । उनका अनुसार नेपालगन्जका हरेक जसो पसलमा मंहगो मूल्यमा भारु खरिद बिक्रि भैरहेको छ । औषधी पसलदेखि पान पसलसम्ममा भारुको खरिद विक्रि भैरहेको छ ।
समयमा सहज रुपमा भारतीय मुद्रा नपाउँदा काम बिशेषले वा बिरामी लिएर भारतको लखनउ र दिल्ली जानेहरुलाई सबै भन्दा बढी सास्ती भएको छ ।
भारतीय रुपैयाँको अभाव बढ्दै गएपछि हाल आएर अहिले सम्मकै महंगो दरमा भारतीय रुपैयाँको खरिद बिक्रि भैरहेको नेपालगन्ज उद्योग बाणिज्य संघले जनाएको छ ।
संघका अध्यक्ष नन्दलाल वैश्यका अनुसार बैध तरिकाले नपाएपछि अवैध रुपमा पाइने भारतीय रुपैयाँ महँगिने क्रम बढ्दै गएको छ । हाल नेपालगन्जमा भारु प्रतिसय रुपैयाँ साट्न सर्वसाधारणले ६ देखि १० रुपैयाँ सम्म अतिरिक्त शुल्क (बट्टा) तिर्नु परेको छ ।
भारतीय मुद्राको माग र अभाव दुबै बढ्दै गएपछि हाल आएर निकै चर्को शुल्क तिरेर मात्र बजारमा पाइने गरेको र भारुको कारोबार गर्नेहरुले संगठित भएर काम गर्न थालेपछि मूल्य चर्किएको वैश्यको भनाई छ ।
केही समयअघि सम्म प्रति सय भारु १ सय ६४ देखि १ सय ६५ सम्म पाइने गरेकोमा हाल आएर प्रतिसय भारुको १ सय ७० रुपैयाँसम्म तिर्नु परेको सर्वसाधारणको भनाई छ ।
साढे दुई दशकदेखि नेपाल राष्ट बैंकले सय भारु बराबर १ सय ६० हुने गरी स्थिर विनिमयदर कायम गरेको छ । सटही काउन्टरले राष्ट्र बैंकले निर्धारण गरेको प्रति १ हजारमा ४० पैसा मात्रै वट्टा लिन पाउने प्रावधान छ । तर, बाँकेको नेपालगन्ज र सीमापारी रुपैडिहामा सय भारु लिंदा हाल आएर १ सय ७० रुपैयाँ सम्म तिर्नु पर्ने बाध्यता छ । सटही काउन्टरहरुले पनि सोही मूल्यमा भारु उपलब्ध गराई रहेका छन् ।
नेपालगन्जमा दैनिक १ देखि २ करोडसम्म भारु राष्ट बैंकबाट खरिद विक्रि हुने गरेको छ भने सीमापारीको रुपैडिहा बजारका लागि करिब ३ करोड भारुको आवश्यकता पर्ने गरेको छ ।
सीमापारी रुपैडिहामा दैनिक ३ देखि ५ करोड नेपाली रुपैयाँको कारोबार भैरहेकोले सो रुपैयाँ साट्नका लागि भारु चाहिने हुँदा माग र अभाव दुबै बढेको हो ।
सामान्यतया नेपालबाट निर्यात भएर जाने वस्तुको बिक्रीबाट वैधानिक रूपमा भारतीय रुपैयाँ नेपाल भित्रने गरेको व्यवसायी बताउँछन् । त्यसका अलावा भारतबाट काम गरेर फर्कने सेना, मजदुर र जागिरेबाट पनि भारु भित्रने गरेको छ ।
बाँकेमा हाल आएर दैनिक करिब चार करोड भारु खपत हुने गरेको राष्ट्र बैंकको भनाइ छ । भारुको अवैध कारोबार गर्नेहरुले नै राष्ट बैंकबाट सर्वसाधारणका लागि वितरण हुने रकम र बजारबाट सबै भारु आफ्नो कब्जामा लिने गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्