गिटी, बालुवाको ठेक्कामा चलखेल

धनगढी-कैलालीको घोडाघोडी नगरपालिकामा ढुंगा, गिट्टी, बालुवाको ठेक्का प्रक्रियामा पैसाको चलखेल भएको पाइएको छ । ठेक्का प्रक्रिया मिलाउन नगरपालिकाका कर्मचारी र ठेकेदारको मिलिमतोमा बिना प्रतिस्पर्धा ठेक्का सदर गरिएको पाइएको हो । नगरपालिकाले आव ०७५/७६ का लागि २०७५ साउन १६ गते गिटी, बालुवा, ढुंगा ग्राभेल र भरान माटोकोे ठेक्काका लागि सूचना आह्वान गरेको थियो ।
न्यूनतम् १ करोड ४३ लाख ९० हजार पाँच सय पाँच रुपैयाँ ठेक्का रकम कायम गरी सूचना प्रकाशित गरिएको थियो । जसमा एमके बिल्डर्स एन्ड कन्ट्रक्सन धनगढीको नाममा १ करोड ३५ लाख १० हजारमा हालेको टेन्डर सदर गरिएको छ । विभिन्न १९ वटा फर्मले ठेक्काका लागि टेन्डर फर्म खरिद गरेको भए पनि तीनवटा फर्मले मात्र टेन्डर हालेको पाइएको छ । टेन्डर हालेकामध्ये विजय निर्माण सेवा लम्की र विनेश कन्स्ट्रक्सन दोदोधराले प्रक्रिया नै नपुराको भन्दै एमके बिल्डर्स एन्ड कन्ट्रक्सन धनगढीको नाममा ठेक्का सदर गरिएको हो ।
अन्य दुईवटा टेन्डरसमेत एमके बिल्डर्स एन्ड कन्ट्रक्सन धनगढीका प्रतिनिधि मदन शाहले ती फर्मका सञ्चालकलाई पैसा दिएर शाहले मागेको र प्रक्रिया नै नपुराएर आफ्नोमा ठेक्का पार्ने जुक्तिमात्र लगाएको स्रोतले जनाएको छ । टेन्डर हालेका अन्य दुईवटा फर्मको बैंक ग्यारेन्टी नै नहालेको घोडाघोडी नगरपालिकाका प्रशासकीय अधिकृत दीपक आचार्यले बताए । उनले भने, “बाहिरकाले कहाँ के ग¥यो केही थाहा भएन तर कार्यालयभित्र पैसा दिएर मिलायो भन्नु गतल हो ।” १९ वटा फर्मले नगरपालिकाबाट ठेक्का फर्म खरिद गरेको भए तापनि ठेकेदारको मिलिमतोमा एमके बिल्डर्स एन्ड कन्ट्रक्सन धनगढीका प्रतिनिधि मदन शाहले मात्र टेन्डर हालेका थिए । शाहले नगरपालिकका कर्मचारीहरूलाई सुरुमै नगद पाँच लाख दिएको र ठेक्काका लागि टेन्डर आएका ठेकेदार र बाहिर ब्यक्तिलाई पैसा बाँडेर आफ्नो फर्ममा ठेक्का पारेको खुलेको छ । गिटी, बालुवा, ढुंगा ग्राभेल र भरान माटोको लागि नगरपालिकाले आव ०७५/७६ का लागि आह्वानका लागि टेण्डर फार्म किनेका १९ वटै फर्मका सञ्चालकलाई रुपैयाँ बाँडेको स्रोतले जनाएको छ । शाहले टेण्डर फार्म खरिद गरेका सबै ठेकेदार तथा नगरपालिकाका कर्मचारीलाई मिलाएर नगरपालिकाले १ करोड ४३ लाख ९० हजार पाँच सय पाँच रुपैयाँ न्यूनतम् रकम राखेकोमा १ करोड ३५ लाख १० हजारमा हालेको टेन्डर सदर गरिएको छ । मिलेमतोका कारण नगरपालिकालाई करोडौको घाटा भएको छ । घोडाघोडी नगरपालिकासँगसागै गिटी, बालुवा, ढुंगा ग्राभेल र भरान माटोका लागि टेन्डर खोलेका गौरीगंगा नगरपालिका र गोदावरी नगरपालिकामा न्यूनतम् मूल्य रकमभन्दा करिब डेढ करोड बढी रकममा ठेक्का सदर भएको छ । एमके बिल्डर्स एण्ड कन्ट्रक्सन धनगढीका प्रतिनिधि मदन शाहले टेण्डर हाल्नका लागि घोडाघोडी नगरपालिका पुगेका ठेकेदालाई नगद तथा चेकमार्फत रकम दिएको खुलेको छ । चेक दिएकामध्ये अधिकांशको चेक नसाटिएपछि मिलेमतो भएको रहस्य बाहिर आएको हो । शाहले गरुण कन्ट्रक्सन धनगढीका सञ्चालक अशोक मल्ललाई १० लाख, रेखा निर्माण सेवा लम्कीका सञ्चालक जनक शाहीलाई १० लाख र प्रेम बिल्डर्स सुखडका सञ्चालक प्रेम चौधरीलाई ८ लाखको चेक दिएका छन् । यस्तै मुढाका शिवराज सापकोटालाई ५ लाख र सुखडका राजेश हमाललाई २ लाख नगद दिएको खुल्न आएको छ ।
साथै घोडाघोडी नगरपालिकामा गिटी, बालुवा, ढुंगा ग्राभेल र भरान माटोका लागि टेण्डरमा मिलेमतो भएको र नगरपालिकालाई ठूलो आर्थिक नोक्सानी भएको भन्ने विषयमा अख्तियार दुरपयोग अनुसन्धान कार्यालय महेन्द्रनगरमा समेत उजुरी परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुदूरपश्चिम क्षेत्रीय कार्यालयका प्रमुख ज्ञानेन्द्र ढकालले घोडाघोडी नगरपालिकामा गिटी, बालुवा, ढुंगा ग्राभेल र भरान माटोका लागि खोलेका टेण्डर छनोट प्रक्रियामा आर्थिक चलखेल भएको भन्ने विषयमा आयोगको कार्यालयमा उजुरी परेको र उक्त विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाए ।