तत्काल भाडावृद्धि आवश्यक नरहेको निष्कर्ष «

तत्काल भाडावृद्धि आवश्यक नरहेको निष्कर्ष

जिल्ला यातायात व्यवस्थापन समितिले गोरखाका कच्ची सडकमा तत्काल भाडावृद्धि गर्न आवश्यक नरहेको निष्कर्ष निकालेको छ । यातायात व्यवस्था विभागले केही साताअघि वृद्धि गरेको १० प्रतिशत भाडादर व्यवसायीले बढाएर लिन थालेको पाइएकाले थप भाडा बढाउनुपर्ने आवश्यकता नरहेको समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले बताए । “यातायात ब्यबसायी सस्थांका तर्फबाट भाडा वृद्धिका लागि अनुरोध भएको थियो,” उनले भने, “सरकारले बढाएको भाडादर लिन थालिसकेको अवस्थामा थप नबढाउने निर्णय गरेका छौं ।” यातायात व्यवसायी समितिले २५ प्रतिशत भाडा बढाउनुपर्ने प्रस्ताव गर्दै आएका छन् । तर, बैठकले जिल्लाका कच्ची तथा ग्राभेल सडकहरूको अवस्था अध्ययन गरी सडकको प्रकृतिअनुसार दसंै लगत्तै भाडादर समायोजन गर्न कार्यदल गठन गर्ने भएको छ ।
सो कार्यदलको प्रतिवेदनअनुसार थप निर्णय गर्ने प्रमुख जिल्ला अधिकारी भट्टराईको भनाइ छ । यसअघि गठीत कार्यदलले पनि यातायात व्यवसायीको भाडावृद्धिको प्रस्ताव हचुवाका भरमा लागू गर्न नसकिने सुझावसहित प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन बुझाएको थियो । बैठकले स्वीकृत भाडादर सवारी साधनमा यात्रुले देख्नेगरी टास्नुपर्ने निर्णय पनि गरेको छ । “कतिपय सवारी साधनले आफूखुसी बढी भाडा लिएको गुनासो पनि छ,” उनले भने, “स्वीकृत भाडादर लागू भए नभएको हामी अनुगमन पनि गर्नेछांै, यात्रु पनि सचेत रहनुस्, सवारी साधनमा भाडादर नटाँसेको, जथाभावी भाडा मागेका प्रहरी, प्रशासनमा जानकारी दिनुहोस् ।”
प्रमुख जिल्ला अधिकारी भट्टराईले भने, “असोजयता जति भाडा तिर्नुभएको छ, त्यति नै तिर्नुहोस् थप्नुपर्दैन ।” बैठकमा चाडबाडलाई लक्ष्यित गर्दै सहज यात्राको वातावरण बनाउन यातायात व्यवसायीहरूलाई प्रमुख जिल्ला अधिकारीले आग्रह गरेका छन् ।
ग्रामीण सडकमा बस चल्न थाले
वर्षाका कारण बिग्रिएका गोरखाका ग्रामीण सडकखण्डहरूमा मर्मतपछि बस चल्न थालेको छ । गोरखा–भच्चेक सडक बाहेक अन्य ग्रामीण रुटमा सडक मर्मतपछि यात्रुबाहक बस चल्न थालेका गोरखा यातायात व्यवसायी समितिका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । “भच्चेकमा करिब एक किलोमिटर सडक मर्मत गर्न बाँकी छ,” उनले भने, “अब एक दुई दिनमा त्यहाँ पनि बस जान्छ, अन्तपनि वर्षाले रोकिएका सडकमा गाडी गइसक्यो ।” लगातारको वर्षाका कारण जिल्लाको धेरैजसो ग्रामीण सडकमा चैतदेखि नै बस चल्न छाडेका थिए । चाडबाडलाई लक्षित गर्दै ति सडकको मर्मत गरिएको हो । जिल्ला समन्वय समिति र ११ किलो छेवेटार भालुस्वाँरा वारपाक सडक योजनाले ठेक्का लगाएका सडकको मर्मत सम्बन्धित ठेकेदार र शाखा सडकहरूको मर्मत सम्बन्धित स्थानीय तहले गरेका हुन् । जिल्ला प्रशासन कार्यालयमा एक साताअघि भएको छलफलमा निर्माण व्यवसायीहरूले असोज २० गतेसम्ममा सडक मर्मत गरिसक्ने प्रतिबद्धता जनाएका थिए । जिल्लाको घ्याम्पेशाल हुँदै आरुघाट र आर्खेत, चोरकाटेबाट छोप्राक हुँदै भच्चेक र जौबारीबाट भच्चेकसम्मको सडकमा यात्रुको चाप बढी हुने गरेको छ । वर्षाअघिसम्म बस चलिरहेका जिल्लाका ३४ वटा ग्रामीण कच्ची सडकको मर्मत भएको जिल्ला समन्वय समितिले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्