सोलुखुम्बु प्रहरी नयाँ भवनमा «
Logo

सोलुखुम्बु प्रहरी नयाँ भवनमा

सोलुखुम्बु-जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले नवनिर्मित भवनको औपचारिक रुपमा उद्घाटन गरेका छन् ।
द्वन्द्वकालदेखि नेपाली सेनाको ब्यारेक परिसरबाट सेवा प्रवाह गर्दै आएको जिल्ला प्रहरी कार्यालय मंगलबारबाट औपचारिक रुपमा आफ्नै भवनमा सरेको छ । साना र ठूला गरी २२ कोठे भवन ३ करोड ४६ लाख ६९ हजार ७१० रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरिक्षक डिएसपि शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
नवनिर्मित भवन पुनर्निर्माण तथा पुनस्थापना कार्यक्रम अन्तर्गत दातु निकाय डिफिड, एसडीसी, स्विजरल्याण्ड र फिनल्याण्डको आर्थिक सहयोगमा निर्माण भएको हो । एक दशकको द्वन्द्वकालमा नेपाल प्रहरीको विभिन्न ७६८ वटा इलाकामा क्षति पुगको छ । जसमध्ये सोलुखुम्बुमा मात्र १३ वटा इकाईमा क्षति पुगेको प्रहरीको तथ्यांकमा उल्लेख छ । २८ रोपनी क्षेत्रफलमा निर्मित भवनसँगै नागरिकलाई सेवा प्रवाहमा सहज हुने अपेक्षा गरिएको छ ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीको उपस्थितिमा राज्यको आभाष हुनुपर्ने संकेत गर्दै आफू असल प्रहरी उत्पादनको अभियानमा लागेको बताए । राजनीतिक आडमा गुण्डागर्दी नचल्ने भन्दै खनालले त्यस्ता गतिविधि रोक्न आदेश कुर्नुनपर्ने उल्लेख गरे । उनले मातहतका प्रहरी युनिटलाई विकासको बाधक र जनतालाई दुःख दिनेको विषयमा सचेत रहन निर्देशन दिएका छन् ।
त्यस्तै जिल्ला समन्वय समितिका संयोज कविर कुमार राईले प्रहरीको सेवा प्रभावकारिताका लागि सबै स्थानिय तहमा यस्ता खालको भवन निर्माण हुनुपर्नेमा जोड दिए । त्यस्तै गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश नं १ का कोषाध्यक्ष असिम राईले शान्ति सुरक्षाको लागि प्रहरी निरीक्षकको कमाण्डमा प्रत्येक स्थानिय तहमा प्रहरी युनिट हुनुपर्ने माग गरेका छन् ।
कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिलिप राज रेग्मी, प्रदेश नं १ का प्रहरी नायव महानिरिक्षक डिआइजि केदार रिजाल, स्थानिय तहका जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुखलगायत सरोकारवालको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्