दक्ष जनशक्तिका लागि बिमा प्रतिष्ठानको आवश्यकता «

दक्ष जनशक्तिका लागि बिमा प्रतिष्ठानको आवश्यकता

राज्यको अर्थतन्त्र कतिको चलायमान र गतिशील छ भनी मूल्यांकन गर्ने सूचकांकमा बिमा व्यवसायको अंश उच्च रहने गर्छ ।
कृषिमा अर्बौंको आयात भई व्यापारघाटा भएको अवस्थामा कृषि उत्पादकत्वमा वृद्धि गर्दै क्रमशः व्यापारघाटा कम गरी कृषिमा आत्मनिर्भर राष्ट्र बन्नसमेत कृषि बिमा प्राविधिकको खाँचो छ ।

उत्पादनका साधनमध्ये सबभन्दा बलवान् साधनका रूपमा मानव संसाधन रहेको कुरा सबैलाई जानकार भएकै विषय हो । पुँजी, कच्चा सामान, प्रविधि र संरचनालाई उच्चतम सदुपयोग गरी प्रतिफल प्राप्त गर्न मानव संसाधनको अहम् भूमिका रहन्छ । मानव संसाधनको उत्पादन हुने निकायमा विद्यालय, विश्वविद्यालय, तालिम प्रतिष्ठान, सीप विकास केन्द्र आदि रहेका हुन्छन् । नेपाली बिमा बजारमा बिमा कम्पनी (बिमक) को सुरुवात वि.सं. २००४ देखि हँदै आएको छ । आजसम्म लगभग तीन दर्जनभन्दा बढी कारोबारमा रहेका र केही कारोबार गर्ने क्रममा रहेका गरी लगभग ४० को हाराहारीमा बिमा कम्पनी पुग्ने अवस्था छ ।
नेपालमा बैंक तथा वित्तीय संस्थाको स्थापना वि.सं. १९९४ सालबाट भएको र आजसम्म लगभग २ सयको संख्यामा बैंक–वित्तीय संस्थाहरू सञ्चालनमा रहेका छन् । तर, बैंक–वित्तीय संस्थामा काम गर्ने जनशक्तिको कमी महसुस गर्नुपरेकोे छैन भने ४० बिमक स्थापना हँुदा पनि जनशक्तिको अभाव नै रहेको दैनिकजस्तो पत्रपत्रिकाका समाचार, लेख, रचना आदिबाट जानकारी हुँदै आएको छ । यस्तो किन हुन गयो, तपाईं–हामी सबैले सहजै अनुमान लगाउन सक्छौं ।
नेपालमा बिमा धेरै कमलाई मात्र जानकारी छ एवं जानकारहरूसमेत यसलाई पेसाका रूपमा अवलम्बन गर्न उत्साहित नभएको अवस्था छ । एसएलसी (हाल एसईई) पछि के अध्ययन गर्ने भन्दा सबैले डाक्टर, इन्जिनियर, चार्टर्ड एकाउन्टेट, नर्स, वकिल आदि–आदि भन्छन्, तर बिमा विज्ञ, विशेषज्ञ बन्छु भन्नेको संख्या पाउन कठिन छ । हिजो आज त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालयलगायत केही विदेशी विश्वविद्यालयले व्यवस्थापन संकायअन्तर्गत बीबीए, एमबीएका कक्षाहरूमा बैंकिङ, बिमा ऐच्छिक विषय राखी केही कार्यक्रम सञ्चालन गरिरहेका छन् । त्यसमा नगन्य विद्यार्थीहरूले मात्र बिमालाई रोजेको तथ्यांकले पुष्टि गरेको छ । यो ऐच्छिक विषय अध्ययन गर्नेमध्ये समेत बिमामा इन्टर्नसिप गर्नेभन्दा बैंक, वित्तीय संस्थामा नै आकर्षित भएको जानकारहरू बताउँछन् । यसका कारण सोधनी हुँदा बिमाको सीमित घेरा रहेको छ, तर बैंकको क्षेत्र फराकिलो भएकाले त्यतातर्फ आकर्षण बढेको हो भन्नेको जमात ठूलो छ ।
नेपालमा अन्डरराइटिङ गर्ने जनशक्तिदेखि, दाबी भुक्तानी, पुनर्बिमाजस्ता प्राविधिक पक्षमा बिमाको जनशक्ति यति अभाव छ कि ठूला–ठूला बिमालेखको प्रस्ताव प्राप्त भएमा विदेशी पुनर्बिमा दलाल कम्पनीका नेपाली प्रतिनिधि तथा पुनर्बिमा कम्पनीका प्रतिनिधिहरूसँग परामर्श लिई बिमा लेख जारी गर्ने गरिएको सत्य तर दुःखद दृष्टान्त नेपाली बिमा बजारको छ ।
विश्वविद्यालयका जुनसुकै सामान्य विषय अध्ययन गर्नेलाई समेत समान रूपमा बिमाक्षेत्रमा आकर्षित गर्नका लागि विश्वका धेरै देशले अल्पकाल, मध्यकाल र दीर्घकालका पेसागत कार्यक्रम (प्रोफेसनल कोर्स) हरूको डिजाइजन गरी विभिन्न तालिम केन्द्र, प्रतिष्ठानमा भोकेसनल रूपमा सीप, ज्ञान, दक्षता, अनुभव हासिल गराई रोजगार बजारमा पठाउने गरिरहेका छन् । वृत्ति विकासको माथिल्लो पदमा पुग्ने इच्छा, क्षमता, योग्यता, अनुभव, दक्षता भएकाहरूले थप अध्ययन गर्ने गर्छन् । अन्यले पेसागत विशेषता हासिल गरी कार्य क्षेत्रमा जमेर बस्छन् र भविष्य राम्रो अनुभवी भएर माथि उल्लेख भएको तालिम केन्द्रमा अनुभव साटासाटका कक्षाहरूमा सहभागी भई थप जनशक्ति उत्पादनमा सहयोगी बन्छन् । उनीहरू स्वयं स्वरोजगार भएर समाजमा आत्मनिर्भर बन्छन् । यो प्रक्रिया चलिरहन्छ, नयाँ बिरुवा आउने र पुरानाले ज्ञान हस्तान्तरण गर्दै जाने गर्छन् । यो सिकाइको उत्तम सिद्धान्तमा पर्छ ।
नेपालमा समेत दूरसञ्चार कम्पनी (एनटीसी) ले आउट टेक्निसियनलगायत क्षेत्रगत जनशक्ति उत्पादन गर्ने तालिम केन्द्रको स्थापना गरेकोे छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एटीसी (एयर ट्राफिक कन्टोलर) हरूको मध्यकालीन तालिम सञ्चालन गरी जनशक्ति उत्पादन गरिरहेको छ । नेपाल सरकारले नापी क्षेत्रका जनशक्ति उत्पादन गर्न नापी तालिम केन्द्र सञ्चालन गरी अमिन तथा नापी अधिकृतको उत्पादन गरिरहेको छ । नेपाल प्रेस इन्स्टिच्युटले पत्रकारिताका तालिम प्रदान गरी पत्रकारहरू उत्पादन गरिरहेको छ । कृषि तथा पशुपन्छी मन्त्रालयहरूले कृषि प्राविधिक तथा भेटेरिनरी प्राविधिक उत्पादन गर्न सरकारी स्वामित्वका प्राविधिक शिक्षालयहरू खोली कक्षा सञ्चालन गरी प्रशस्तै प्राविधिकको उत्पादन गरेर रोजगार बजारमा जनशक्ति आपूर्ति गरिरहेका छन् । त्यसै गरी त्रिविले पुस्तकालय सहायक तथा अधिकृतको तालिम सञ्चालन गरी लाइब्रेरियन जनशक्तिको उत्पादन गरी नेपाली पुस्तकालयमा प्राविधिक जनशक्तिको आपूर्ति गरिरहेको छ ।
बिमाक्षेत्रमा यस्तै मोडालिटिमा वा अन्य आधुनिक मोडालिटीमा विश्वका अधिकांश देशमा बिमा प्रतिष्ठानहरू खुली सञ्चालनमा रहेको वेबसाइट सर्चबाट जानकारी लिन सकिन्छ । छिमेकी देश भारतमै सरकारी एवं निजी लगानीका कैयौं बिमा प्रतिष्ठान र तालिम निकायहरू सञ्चालनमा रहेका छन् । अध्ययन गर्न इच्छाशक्ति भएका बिमाक्षेत्रमा कार्यरत वा कार्य गर्न उत्सुक नेपाली कर्मचारी तथा विद्यार्थीहरू यस्ता प्रतिष्ठानका अल्प, मध्य वा दीर्घकालीन कोर्सहरूको अध्ययन गरी परीक्षामा सामेल भएर प्रमाणपत्रहरू लिई नेपाली तथा संयुक्त लगानी वा विदेशी बिमकका शाखा कार्यालय (बिमक) मा कार्य गरी जनशक्तिको पूर्ति गरिरहेका छन् ।
नेपाल कृषिप्रधान देश एवं कुल गार्हस्थ्य उत्पादनको लगभग ३३ प्रतिशतभन्दा बढी र रोजगारीको ८० प्रतिशतसम्म कृषिकै रहेकाले यसको विकासका लागि कृषि बिमामा नेपाल सरकारबाट ७५ प्रतिशतसम्म अनुदान दिई प्रोत्साहन गरिरहेको छ । यस कार्यक्रमलाई थप प्रभावकारी बनाउनसमेत कृषि बिमा प्राविधिक उत्पादन गरी कृषिमा आधुनिकीकरण तथा वैज्ञानिकीकरण गर्न सकिन्छ । कृषिमा अर्बौंको आयात भई व्यापारघाटा भएको अवस्थामा कृषि उत्पादकत्वमा वृद्धि गर्दै क्रमशः व्यापारघाटा कम गरी कृषिमा आत्मनिर्भर राष्ट्र बन्नसमेत कृषि बिमा प्राविधिकको खाँचो छ ।
संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने एवं यसमा सबैको समान पहुँचलाई मौलिक हकका रूपमा स्विकारेको छ । नेपालमा स्वास्थ्य उपचार खर्च नभएर धेरै नेपालीले अकालमा ज्यान गुमाएको दुःखद परिस्थितिमा राज्यबाट स्वास्थ्य बिमाको सुरुवात भई लगभग २५ जिल्लामा कार्यक्रम सञ्चालनमा रहेका छन् । यसलाई अझ व्यवस्थित रूपमा अधिराज्यव्यापी बनाउने कार्यक्रममा नेपाल सरकार लागिपरेको छ । यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाउनसमेत स्वास्थ्य बिमा प्राविधिक उत्पादन गर्नु आवश्यक छ । स्वास्थ्योपचारमा सर्वसाधारणको पहुँच पुर्याई देशवासीलाई निरोगी बनाउँदै गरिबीलाई कम गर्न सकिन्छ ।
राज्यको अर्थतन्त्रका आधारशिलाका रूपमा रहेका प्रमुख दुई खम्बामध्ये एक बिमा व्यवसाय हो । भनिन्छ, बिमा व्यवसायको विकास हुन नसके वास्तविक अर्थतन्त्रको विकास हुन सक्दैन । राज्यको अर्थतन्त्र कतिको चलायमान र गतिशील छ भनी मूल्यांकन गर्ने सूचकांकमा बिमा व्यवसायको अंश उच्च रहने गर्छ । प्राकृतिक र मानवीय कारणबाट व्यवसाय एवं सम्पत्तिको क्षति भई व्यक्ति र राज्य साधानस्रोतबाट विमुख भएको समयमा बिमा सारथि बनी अर्थतन्त्र, उद्योग व्यवसायलाई क्षतिपूर्ति दिलाई पीडित पक्षलाई पहिलेको अवस्थामा स्थापित गराउन आर्थिक सहयोग गर्छ भन्ने प्रश्नमा बिमाको नाम अगाडि आउने गरेको छ । यसको लागि न्यूनतम जनशक्तिको कमी खट्किएको छ । नेपाललाई आर्थिक विकास गरी समृद्ध राष्ट्र बनाउन बिमा जनशक्ति आवश्यक छ । यसका लागि बिमा प्रतिष्ठान स्थापना गर्न जरुरी छ ।
नेपाल सरकारले चौधौं योजनामा बिमाक्षेत्रको अध्ययन, अनुसन्धान गर्ने बिमा प्रतिष्ठान स्थापना गरी सञ्चालन गर्ने निर्णय गरी कार्यक्रममा समावेश गरेको छ । अब नेपालीले माथि उल्लिखित संस्थाहरूले सञ्चालन गरेका वा अन्य नवीनतम मोेडलमा नेपालको पहिलो बिमा प्रतिष्ठान पाउने कुरामा ढुक्क छन् । यसबाट शिक्षित युवा खाडी मुलुक जानुभन्दा यस्ता सीप सिकी स्वदेशमै बिमाक्षेत्रमा रोजगार तथा स्वरोजगार बन्ने सक्नेछन् ।
राज्य संघीयता कार्यान्वयनमा गइसकेको अवस्थामा यस्तो बिमा प्रतिष्ठानका शाखा कार्यालय वा सम्भव भए प्रदेशस्तरमा एक–एक खोली नेपाली युवालाई स्वरोजगार तथा रोजगार बनाई नेपालको गरिबीलाई २१ प्रतिशतबाट उल्लेखनीय मात्रमा घटाउन मद्दत गर्न सक्नेछन् । यसको स्थापनाका लागि नेपाल सरकार, बिमा समिति, बिमक संघ, बिमक सञ्चालन संघ, सर्भेयर संघ, नेपाल बिमा अभिकर्ता संघ, प्रोफेसनल सोसाइटी, सेयरधनी, बिमित, पेसाकर्मी, सर्वसाधारण र मिडियाको सहयोगको खाँचो छ । हामी सबैले आशा गरौं, सबै जिम्मेवार बनौं ।
(लेखक बिमा समितिका निर्देशक हुन् ।)

 

प्रतिक्रिया दिनुहोस्