Logo

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको संख्या वृद्धि

बारा-पछिल्लो चार वर्षमा पर्सा राष्ट्रिय निकुञ्जमा बाघको संख्या दोब्बरभन्दा बढीले वृद्धि भएको छ । सुरक्षित बासस्थान, निकुञ्जभित्रका बस्ती स्थानान्तरण र आरक्षपछि निकुञ्ज विस्तार भएपछि बाघको संख्या बढेको हो । निकुञ्जमा हाल बाघको संख्या १८ पुगेको छ ।
पर्सा राष्ट्रिय निकुञ्जले राष्ट्रिय संरक्षण दिवसको अवसर पारेर बाघको संख्या सार्वजनिक गरेको हो । निकुञ्जको आधाभारस्थित कार्यालयमा पत्रकार सम्मेलन गर्दै निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले पछिल्ला वर्षमा निकुञ्जभित्र बाघको उपस्थिति राम्रो भएको बताए । यसअघि २०७० सालमा यस क्षेत्रमा जम्मा बाघको संख्या ७ रहेकोमा हालको सर्भेक्षणमा २०० प्रतिशतभन्दा बढीले वृद्धि भई १८ वटा पुगेको पाइएको छ ।
बाघका लागि बासस्थानको सुधार, बलियो सुरक्षा ब्यवस्था बलियो बनाइएका कारण बाघको उल्लेख्य उपस्थिति पाइएको प्रमुख संरक्षण अधिकृत आचार्यले बताए । “बाघ शान्त स्थानमा बस्न चाहान्छ, मानिसका साथै अन्य साधनको चहलपहमा बाघले आफूलाई असुरक्षित महसुस गर्ने भएकाले हामीले त्यसतर्फ विशेष ध्यान पु¥याएका छौं,” आचार्यले भने । बाघको सुरक्षा र बासस्थानलाई मध्यनजर गर्दै निकुञ्जले आफ्नो क्षेत्रभित्र पर्ने तीनवटा बस्तीलाई स्थानान्तरणसमेत गरेको आचार्यले बताए । तत्कालीन पर्सा वन्यजन्तु आरक्ष क्षेत्रभित्र रहेका पर्सा जिल्लाअन्तर्गत रामभौरी भाठा, त्यसैगरी मकवानपुर जिल्लाभित्र पर्ने रमौली र प्रतापपुरमा स्थानान्तरण गरिएपछि बाघले आफूलाई सुरक्षित महसुस गरेर यस क्षेत्रलाई बासस्थान बनाएको हुनसक्ने उनको भनाइ थियो ।
यस क्षेत्रलाई वन्यजन्तुमैत्री बनाउँदै तिनको संरक्षणमा ध्यान दिई भन्दै २०४० सालदेखि आरक्षको रूपमा रहेको ४९९ वर्ग किमि वनमा २०७२ सालमा १२८.३९ वर्ग किमि थप गरी विस्तार गरिएको थियो । हाल ६२७.३९ वर्ग किमिमा पर्सा राष्ट्रिय निकुञ्ज रहेको छ ।
नेपालमा प्रत्येक ४ वर्षमा बाघको सर्वेक्षण गरी एकीन गर्ने उद्देश्यले गत २०७४ साल मंसिर १४ गते पर्सा राष्ट्रिय निकुञ्जबाटै एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय रूपमा बाघ सर्भेक्षण सुरु गरिएको थियो । जसमा क्यामरा ट्राप विधिबाट स्वचालित क्यामरा प्रयोग गरी बाघको फोटोका आधारमा बाघको संख्या अनुमान गरिएको हो ।
पर्सा राष्ट्रिय निकुञ्जभित्र २ चरणमा गरी एक महिनामा बाघको सर्भेक्षण सम्पन्न भएको थियो । त्यस क्रममा यस निकुञ्जमा मात्रै जम्मा १४० क्यामरा प्रयोग गरिएको थियो । सर्भेक्षणका क्रममा तिमध्ये ३६ वटा क्यामरा वन्यजन्तुको आक्रमणलगायत विभिन्न कारणले खराब भएको प्रमुख संरक्षण अधिकृत आचार्यले जानकारी दिए ।
तथ्यांकअनुसार हाल नेपालमा बाघको संख्या २३५ पुगेको छ । यसअघि २०७० को गणनामा १९८ वटा बाघ रहेकोमा ४ वर्षमा बढेर २३५ पुगेको हो । सार्वजनिक तथ्यांकअनुसार सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्जमा ९३ वटा रहेको छ । त्यसपछि बर्दिया राष्ट्रिय निकुञ्जमा ८७, बाँके राष्ट्रिय निकुञ्जमा २१, पर्सा राष्ट्रिय निकुञ्जमा १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ वटा बाघ रहेको छ । यसअघि सन् २०७० मा गरिएको वाघ सर्भेक्षणमा चितवन राष्ट्रिय निकुञ्जमा १२० वटा बाघ थिए । त्यस्तै बर्दियामा ५०, शुक्लाफाँटामा १७, बाँके राष्ट्रिय निकुञ्जमा ४ वटा बाँघ रहेको थियो ।
बाघ दिवसको अवसर पारेर गत साउन १३ गते बाघ गणनाको प्रतिवेदन सार्वजनिक गरिने भने पनि तयारी नपुगेको भन्दै तथ्यांक सार्वजनिक हुन सकेको थिएन । प्राप्त तथ्यांकअनुसार सन् २०२२ सम्म बाघको संख्या दोब्बर २५० बनाउने सरकारको लक्ष्य सहजै पूरा हुने प्रमुख संरक्षण अधिकृत आचार्यले बताए ।
प्रकाश लम्साल

प्रतिक्रिया दिनुहोस्