अलैँची खेतीमा रम्दै कृषक «

अलैँची खेतीमा रम्दै कृषक

“धानखेती गर्दा सुरुमा खानलाई छाक टार्न समस्या हुन्थ्यो तर अलैँंची खेती विस्तार गरेपछि परिवारलाई धान्न सहज भएको छ ।”

भोजपुर- भोजपुरका अलैँची कृषक राम्रो आम्दानीसँगै अलैँची खेतीमा रम्न थालेका छन् । भोजपुर नगरपालिका–४ सिद्धेश्वरका चन्द्रबहादुर पाण्डे यतिखेर घरायसी काममा भन्दा प्राय अलैँची खेतीमै समय व्यतित गर्छन् । एक सय रोपनी जमिनमा अलैंँची खेती गर्दै आएकाले उनले वार्षिक एक लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन् ।
कृषक पाण्डे भन्छन्, “पहिलो पटक मैले अलैँंची चाखेको बेला मलाई त्यो फल निकै मीठो लागेकाले त्यै खेतीमा लाग्ने रहर जाग्यो । राम्रो मूल्यमा बिक्री हुने र स्वास्थ्यको लागि पनि राम्रो मसाला भएकाले यै खेतीमा लागेको हुँ ।’’ जब उनले अलैँचीबाट राम्रो आम्दानी गर्न थाले त्यसपछि अन्य धानखेत समेत भाडामा लिएर अलैँंचीलाई व्यावसायिक रूप दिए ।
आफ्नो परिवारलाई धानखेती गर्दा सुरुमा खानलाई छाक टार्न समस्या हुन्थ्यो तर अलैँंची खेती विस्तार गरेपछि परिवारलाई धान्न सहज भएको जानकारी दिँदै कृषक पाण्डे भन्छन्, “अलैँंची खेतीको सुरुको समयमा त के गरे के गरिन भन्ने नै छैन तर अहिले यो खेतीबाट परिवारलाई दुईचार पैसाको दुःख छैन । पहिला धानखेती गर्दा खान पुग्दैन थियो । अलँैचीले मेरो जीवनस्तर उकासेकाले हाल म एक सफल कृषकमा गनिन्छु । ”
“सुरुमा अलैँची खेती गर्दा आमाले धान खेती मासेको देख्दा तेरा छोराछोरीलाई घाँस दिएर पाल्नु । भएको धानखेती सबै जङ्गल बनाइहालिस् भन्नुभएको थियो । छरछिमेकले पनि सबै धान फल्ने खेत मासेको देख्दा बौलाएको भन्थे तर त्यो बेलामा बौलाहा भन्नेहरू अहिले पछुताएका छन्,” उनले भने, “पछुताएकाहरू भन्छन् हेर, त्यस बेलामा तिमीलाई बौलाएको भनियो तर तिम्रोजस्तो बेलामै बुद्धि पु-याएको भए हाम्रो पनि आयस्तर वृद्धि हुने रैछ” ।
अलैंँचीको आम्दानीले एउटा छोरालाई इञ्जिनियर पढाउन सफल भएका कृषक पाण्डेले अर्को एउटालाई भारतीय सेनामा र तेस्रोलाई नेपाली सेनामा जागिर खुवाउन सफल भएका छन् । उनले वार्षिकरुपमा १८ देखि २० लाख आम्दानी गर्दै आएका छन् । पछिल्लो समय अलैंँचीको मूल्यमा गिरावट आउँदा भने आम्दानीमा केही कमी आएको उनको भनाइ छ ।
परम्परागत खेतीलाई परिमार्जन गर्दै लगेका कृषक पाण्डे पनि पछिल्लो समयमा बिरुवा मर्ने समस्या हुनाका साथै फलेको अलैँंची सुकाउने आधुनिक अलैँंची भट्टी नहुँदा पनि सोचे जस्तो मूल्य पाउन नसकेको गुनासो गर्छन् । पछिल्लो समयमा जलवायु परिवर्तन, विभिन्न प्रविधिको कमीका कारण यसतर्फ लागेका कृषक निराश बनेको उनी बताउँछन् ।
ट्याम्केमैयुङ गाउँपालिका–५ का कृषक खगेन्द्र विष्ट पनि अलैँंची खेतीमा लागेको धेरै समय भैसकेको छ । उनले यसको खेतीबाट वार्षिक पाँच-सात लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको बताए । आफूले पाँच जनाको परिवारलाई राम्रो शिक्षा दिक्षासँगै आम्दानी पनि राम्रो भइरहेको उनले जानकारी दिए । विष्ट जस्तै दर्जनौँ कृषक अलँैचीको खेतीमा सक्रिय छन् ।

युवराज विष्ट-रासस

 

 

प्रतिक्रिया दिनुहोस्