Logo

गाउँपालिकाको क्रसर उद्योग बन्द

दोलखा-कालिञ्चोक गाउँपालिकाले आफ्ना क्षेत्रभित्रका क्रसर उद्योग बन्द गराएको छ । क्रसर उद्योग बन्द हुँदा एक सातादेखि विकास निर्माणसमेत प्रभावित भएको छ । कालिञ्चोक गाउँपालिको वडा नं. ८ मलेपूमा २ वटा र वडा नं. ४ चप्लेटीमा एउटा क्रसर छन् ।
क्रसर बन्दले जिल्लाको कालिञ्चोक, विगू र गौरीशंकर तीन गाउँपालिकाको विकास निर्माणसमेत प्रभावित भएको छ । कालिञ्चोक गाउँपालिका–४ चप्लेटीमा रहेको भीमेश्वर क्रसर उद्योग दोलखाको उत्तरी क्षेत्रको साविकको गाउँ विकासभित्रको एकमात्र क्रसर उद्योग हो । यसले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको प्रवेशमार्गदेखि भूकम्पपीडितका आवास निर्माण विद्यालय पुनर्निर्माण गिटी बालुवा उपलब्ध गराउँदै आएको थियो ।
तीनवटै उद्योग तामाकोसी किनारमा सञ्चालित छन् । भीमेश्वर क्रसर उद्योग ७ वर्षदेखि त्यहाँ सञ्चालित छ । त्यो उद्योग सुरुमा माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको प्रवेशमार्ग निर्माणका लागि निर्माण सामग्रीका लागि स्थापना भए तापनि पछि त्यसलाई व्यवसायीले दर्ता गरेर सञ्चालन गर्दै आएका थिए ।
उद्योग बन्द भएपछि एक सातायता त्यस क्षेत्रमा निर्माण सामग्री आपूर्ति ठप्प भएको छ । “घर बनाएर सकिन लागेको थियो, अब एक ट्याक्टर भए पुग्ने थियो,” सिंगटीका एक व्यवसायीले भने, “एक ट्याक्टर बालुवा नहुँदा मैले घरको अन्तिम ढलान नै रोक्नु प¥यो ।” जनप्रतिनिधि आउँदा विकासमा सहयोग गर्लान् भनेको झन् दुःख दिने काम भएको उनले गुनासो गरे ।
मलेपुमा स्थापना भएको सडक मुख्य रूपमा दोलखा सिंगटी कालोपत्रे गर्ने प्रयोजनका लागि स्थापना भएको हो । क्रसर उद्योग बन्द हुँदा दोलखा–सिंगटी कालोपत्रे हुन लागेको सडक, सुनखानी–सांबा सडक, विभिन्न निर्माणाधीन विद्यालयका भवन, स्वास्थ्य चौकीसमेत प्रभावित भएका छन् । दोलखा सिंगटी सडक खण्डको सुनखानीदेखि सिंगटीसम्मको वाल, नालीलगायतको काम जारी छ । त्यसैगरी सिंगटी–लामाबगर सडकमा पनि यहीको निर्माण सामाग्री प्रयोग हुँदै आएको छ ।
कालिञ्चोक गाउँपालिकाका अध्यक्ष विनकुमार थामीले क्रसरले गत आर्थिक वर्षको कर गाउँपालिकालाई नतिरेका कारण क्रसर बन्द गर्न बाध्य भएको प्रतिक्रिया दिए । “पटकपटक क्रसरबाट उठेको कर तिर्न ताकेता गरेका हौं,” उनले भने, “क्रसरले कर नतिरेपछि ३ नं. प्रदेश कार्यालयको परिपत्रअनुसार कारबाही स्वरुप क्रसर बन्द गराएका हौं ।” आफ्नो बिक्री गरेको परिणामअनुसार गाउँपालिकालाई क्रसरले कर तिर्नुपर्ने बताए ।
यता क्रसर व्यवसायीले भने गाउँपालिकाले कर नै नउठाएको दाबी गरेको छ । “गाउँपालिकाले गत वर्ष ठेक्का नै लगाएन । ठेक्का नलागेपछि कर उठाउन गाउँपालिकालाई कर्मचारी खटाउन अनुरोध ग¥यौं,” क्रसर व्यवसायीले भने “उनीहरूले आफैं उठाउनु भनेर छाप नलागेको रसिद दिनुभयो, छाप लगाएर दिनु भन्दा पनि मान्नु भएन, हामीले आफ्ना उत्पादन बेच्ने हो बेच्यौं कर उठाएनौं, केको कर तिर्ने ?” हामीले तिर्ने कर कम्पनी रजिष्टारको कार्यालयले तोकेअनुसारको तिरिसकेको उनले दाबी गरे ।
ठेक्का नगालेपछि गाउँपालिकालाई आफ्नो कर्मचारी राखेर कर संकलन गर्न आग्रह गरेको उनले बताए । अहिले गाउँपालिकाले बुझेर क्रसर बन्द गरे कि नबुझी गरे केही बुझ्न नसकेको व्यवसायीले बताए । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले स्थानीय सामग्री गिटी बालुवा प्रयोग गरेवापत वार्षिक ५० लाख तिर्दै आएको छ । त्योबाहेक निजी आवास र अन्य आयोजनाका लागि आफूले गाउँपालिकाले तोकेको कर थपेर नलिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्