सिँचाइ गर्न पानी जोहो गर्दै किसान «

सिँचाइ गर्न पानी जोहो गर्दै किसान

तेह्रथुम-किसानलाई पर्याप्त पानी अभावका कारण सिँचाइमा समस्या हुनु सामान्य कुरा नै हो । तेह्रथुमको सुख्खाग्रस्त क्षेत्रका किसान त्यही समस्या समाधानका निम्ती खेर गइरहेको वर्षात्को पानी जोहो गर्दै आएका छन् ।
सुख्खायाममा सिँचाइ गर्न पानी अभाा झेल्दै आएका किसान पछिल्लो समय वर्षात्को पानी जोहो गर्नमा लागिपरेका छन् । गाउँगाउँमा प्लास्टिक पोखरी निर्माण गर्दै पानीको जोहो गर्दै आएका छन् । खानेपानीसँगै सिँचाइका लागि पानी अभावमा तरकारी तथा फलफूलखेती गर्न समस्या खेप्दै आएका किसानहरू यतिबेला पानी जोहो गरी सुख्खायाममा सिँचाइ गर्ने सोचमा जुटेका छन् । गाउँगाउँमा भएका पानीका मुहान जलवायु परिर्वतनका कारण सुक्दै गएसँगै सिँचाइ गर्न झनै चपेटामा परेका किसानहरू विकल्पको खोजीमा लागेका हुन् ।
५ वर्षअघि गाउँमा सिँचाइ गर्न पानीको स्रोत नहुँदा स्थानीय बजारबाट दैनिक तरकारी फलफूल किनेरै खानु पर्ने अवस्था थियो छथर–५ का स्थानीयवासीलाई । तरकारी किनेरै खाँदै आएका नोचन्द्र पौडेल यतिबेला तरकारी फलफूल बेचेरै राम्रो आम्दानी लिँदै आएका छन् । सिँचाइका लागि पानीको स्रोत नभएका पौडेल पानी पर्नासाथ पोखरीमा पानी जोहो गर्न पुग्छन् । २ वर्षअघि उनले निर्माण गरेको पोखरीमा जोहो गरेको पानीले करेसाबारीमा तरकारी तथा फलफूल खेतीमा सिँचाइ गर्दै आएका छन् । विशेषगरी सुख्खग्रस्त क्षेत्रका लागि प्लास्टिक पोखरी प्रभावकारी पानी जोहो गर्ने माध्यम बनेको छ ।
किसानहरूको समस्यालाई समाधान गर्ने उद्देश्यका साथ आर्थिक वर्ष ०७४/७५ बाट छथर गाउँपालिकाले १ सय बढी किसानलाई प्रदान गरेको गाउँपालिका प्रमुख सन्तोष तिगेलाले बताए ।
उनका अनुसार गाउँपालिकामा कृषि पेशाबाटै जीविका चलाउँदै आएका किसानलाई सिँचाइ गर्नका निम्ती राहत मिलोस् भन्ने उद्देश्यका साथ यस्तो कार्यक्रम अघि सारिएको बताउँछन । तरकारी किनी खाने यहाँका किसान तरकारी बिक्री गर्दै आम्दानी लिन थालेका छन् । जिल्लाकै सुख्खाग्रस्त क्षेत्र भएको गाउँपालिकाले यहाँका समस्यलाई समाधानका निम्ती योजना निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ ।
छथर कृषि क्षेत्रबाटै समृद्ध गाउँपालिकाको रूपमा विकास गर्नका निम्ती विभिन्न कार्यक्रम सुरु गर्दै आएको छ । सुख्खाग्रस्त क्षेत्रका फलफूलको बिरुवा वितरणसँगै प्लास्टिक पोखरीहरू अनुदानमा प्रदान गर्दै आएको छ । खानेपानीसँगै सिँचाइमा पानी नहुँदा समस्या भोग्दै आएका यहाँका स्थानीयको समस्या समाधानका निम्ती गतवर्ष बोरिङ प्रविधिबाट पानी निकालेर सुख्खाग्रस्त क्षेत्रमा वितरण गरिएको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताए । खानेपानी अभावका कारण घण्टौ बिताउँदै आएका यहाँका स्थानीयको समस्या केही हदसम्म भए पनि समाधान भएको स्थानीयले बताएका छन ।
त्यस्तै जिल्लाको फेदाप गाउँपालिको ओयाक्जुङ यावाराका किसान एक घर एक पोखरी अभियानमा जुट्दै आएका छन् । पोखरी निमार्णसँगै तरकारीबालीका र फलफूल खेतीमा सहजता मिलेको स्थानीय धनकुमारी ढकालले बताइन् । घरघरमा पोखरी छन् । सिँचाइका लागि समस्या छैन । खानेपानीबाट बचेको पानी पोखरीमा जोहो गर्छांै उनले बताइन् । पछिल्लो समय जिल्लाको ग्रामीण क्षेत्रका किसानहरू प्लास्टिक पोखरी निर्माण गरी सिँचाइ गर्दै आम्दानी लिन थालेका छन् । पोखरी निर्माणसँगै किसानलाई व्यवसाय गर्न राहत बनेको छ ।

प्रतिक्रिया दिनुहोस्