तरुण दल नेताको हत्या गरिएको विरोधमा रोल्पा बन्द

नेपाल तरुण दल रोल्पा नगरपालिकाका अध्यक्ष रोहित पुनको गोली हानी हत्या भएको विरोधमा तरुण दल रोल्पाले आज रोल्पा बन्द गरेको छ ।
इलाका प्रहरी कार्यालय सुलिचौरको नजिकै रहेको रेष्टुरेन्टमा हिजो आफ्ना नेताको गोली हानी हत्या गर्ने केहि व्यक्तिहरु फरार रहेकाले उनीहरुलाई पक्राउ गरी कडा कारबाही हुनुपर्ने माग गर्दै बन्द आह्वान गरिएको तरुण दल रोल्पाका सचिव लिलाधर आचार्यले जानकारी दिए । बन्दका कारण आज विहानैदेखि जिल्ला भित्रिने तथा बाहिरीने यातायातका साधनहरु पूर्ण रुपमा ठप्प भएका छन् भने बजार, कलकारखाना र शिक्षण संस्था समेत बन्द भएका छन् ।
तरुण दलका नेता पुनको हिजो सुलिचौरको एक रेष्टुरेन्टमा बोलाई छातीमा ३ गोली हानेर हत्या गरिएको थियो । गोली हानेको आरोपमा प्रहरीले तत्कालिन माओवादी केन्द्र समर्थक रोल्पा नगरपालिका–१० धबाङका ३० वर्षीय देब बहादुर घर्तीलाई पेस्तोल सहित पक्राउ गरेको भएता पनि अन्य केहि फरार रहेका प्रहरीले जनाएको छ ।
–पहलमान घर्ती