Logo

उपसचिवकै योजनामा ७० करोड घरजग्गा ठगी प्रयास

सहायक रजिस्ट्रारसहित १२ पक्राउ, २ फरार

काठमाडौं-कम्पनी रजिस्टार कार्यालयका कर्मचारीको मिलेमतोमा संगठित गिरोहले शंकर इलेक्ट्रोनिक्स इन्डष्ट्रिजका नाममा रहेको ७० करोड भन्दा बढीको सम्पत्ति हडप्ने प्रयास गरेको छ । कम्पनी रजिस्ट्रार कार्यालयका सहायक रजिस्ट्रार (उपसचिव)द्वय नारायणप्रसाद पोखेल र उमेशमान जोशी तथा आइटी शाखामा कार्यरत २ सहित ४ सरकारी कर्मचारी र अन्य १० गिरोह यसमा संलग्न देखिएको छ । 
यो गिरोहले नक्कली कागजात पेश गरी मालपोत कार्यालयबाट भारतीय नागरिक रामनिरञ्जन जटियाको एकल स्वमित्वमा रहेको शंकर इलेक्ट्रोनिक्स स्वामित्वमा रहेको घरजग्गा तथा उद्योगको चलअचल गरी ७० करोडको सम्पत्ति गुपचुप नामसारी गर्ने क्रममै प्रहरी फन्दामा परेको हो । कम्पनी सञ्चालक जटियालाई सुइँकोसम्म नदिई किर्ते कागजात पेश गरेर उक्त सम्पत्ति हडपेको पाइएपछि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइवी)ले कम्पनी रजिस्ट्रार कार्यालयका २ सहायक रजिस्टार सहित १२ जनालाई पक्राउ गरेको छ ।
व्यूरोका प्रवक्ता एसपी सानुराम भट्टराईका अनुसार कम्पनी रजिस्ट्रार कार्यालयका सहायक रजिस्टारद्वय पोखरेल र जोशीसहित मूख्य योजनाकारहरू मकवानपुरका ४५ वर्षीय राजनप्रसाद लम्साल, काठमाडौंका ४० वर्षीय निरजकुमार मानन्धर, ३१ वर्षीय हिमाल महर्जन र ५५ वर्षीय चिरिबाबु महर्जन, रामेछापका ३३ वर्षीय जीतबहादुर मगर, बाराका ४० वर्षीय पुण्यप्रसाद खरेल र २८ वर्षीय अमृत थापामगर र काभ्रेका ४० वर्षीय साइला भन्ने राजकुमार तामाङ पक्राउ परेकाम छन् ।
व्यूरोका अनुसार २ जना अभियुक्त अझै फरार छन् । व्यूरो प्रवक्ता भट्टराईका अनुसार संगठीत गिरोहले जटियाका नाममा रहेको बालुवाटारस्थित ३ कित्ताको ३ रोपनी जग्गासहितको घर, सतुंगलमा रहेको १५ रोपनी, म्याग्दी र नुवाकोटमा उद्योगका नाममा रहेको जग्गा हडप्न मालपोतबाट पास गर्ने तयारीमा थियो । तर व्यूरोले बेलैमा सूचना पाएका कारण गिरोहले भारतीय नागरिक तथा उनले सञ्चालन गरेको उद्योगको सम्पत्ति हडप्न नपाएको खुलेको छ ।
“भारतीय नागरिकले सञ्चालन गरेको उद्योग तथा व्यक्तिका नाममा रहेको जग्गा हडप्न सबै कागजात पूरा गरेर मालपोतबाट पास गर्ने तयारीमा रहेको अवस्थामा गिरोहका १२ जनालाई पक्राउ गरिएको छ,” व्यूरो प्रवक्ता भट्टराईले भने, “यो अपराधमा संलग्न १२ जनालाई नै प्रतिवादी बनाएर साइबर अपराध, चोरी, ठगी तथा संगठीत अपराध कसूरमा मुद्दा दर्ताका लागि काठमाडौं सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन पेश गरिएको छ ।”
उक्त ठगीमा जटिकाकै घरमा १६ वर्षदेखि काम गर्दै आएका ३३ वर्षीय जीतबहादुर मगरले सक्कली अन्य गिरोहलाई कागजात तथा हस्ताक्षर किर्तेमा सघाएका थिए । त्यही किर्ते कागजातकै आधारमा कम्पनीको सेयर तथा अन्य अचल सम्पत्ति हडप्ने योजनामा कम्पनी रजिस्टार कार्यालयका उपसचिव सहित ४ कर्मचारीले साथ दिएका थिए । कर्मचारीकै मिलेमतोमा कम्पनीको सेयर खरिद गर्न रजिस्ट्रारको कार्यालयमा कागजात पुगिसकेको थियो । किर्ते कागजातअनुसार जटियाले कम्पनीको ७५ प्रतिशत बापत हुन आउने १८ हजार ७५० कित्ता सेयर बिक्री गरेको तथा विशेष साधारण सभाबाट आफू कम्पनीको अध्यक्ष तथा जटिया सञ्चालक रहेको र असार २९ र ३२ गतेको निर्णय देखाएर उनले सञ्चालकबाट पनि राजीनामा दिएको विवरण सहितको कागजात प्रहरीले बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्