राखेप च्याम्पियनसिप– २०७४ उद्घाटन «

राखेप च्याम्पियनसिप– २०७४ उद्घाटन

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पहिलो पटक आफ्नै नाममा आयोजना गरेको राखेप च्याम्पियनसिप– २०७४ को राष्ट्रपति विद्यादेवी भण्डारीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आइतबार उद्घाटन गरेकि छिन् ।
राष्ट्रपति भण्डारीले ओलम्पियन एवं नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व धावक जितबहादुर केसीलाई ओलम्पिक टर्च र दुई बाल खेलाडीलाई राष्ट्रिय झण्डा हस्तान्तरण गरी उद्घाटन गरिन् ।
उद्घाटनमा भण्डारीले दक्षिण एसियाली खेलकुदलाई मध्यनजर गरी गुणस्तरीय भौतिक पूर्वाधार विकासमा यथोचित ध्यान दिन जरुरी भएको बताउदै भूकम्पले क्षति पुर्याएका पूर्वाधारको पनि पुनः संरचना गर्न अत्ति आवश्यक भएको बताइन्।
कार्यक्रममा अक्सिडेन्टल पब्लिक स्कुलका विद्यार्थीले देशभक्ति झल्किने गीतमा नृत्य प्रस्तुत गरेका थिए भने मस्कत मयुरले कला प्रस्तुत गरिएको थियो । मयुरलाई च्याम्पियनसिपको लोगोका रुपमा प्रयोग गरिएको छ । त्यस्तै तेक्वान्दो, उसु र करातेका खेलाडीले प्रदर्शनी खेल प्रस्तुत गरेका थिए।
च्याम्पियनसिपमा समावेश २९ खेल मध्ये ट्रायथलन, पौडी, कराते र लनटेनिस सम्पन्न भइसकेका छन् । बाँकी २५ खेल मध्ये स्क्वास सोमबारदेखि सातदोबाटोमा सुरु हुँदैछ । सम्बन्धित राष्ट्रिय संघले सञ्चालन गर्ने प्रतियोगिता उपत्यकालगायत देशको विभिन्न भागमा हुनेछन् । बाँकी २५ खेलमामा १२ खेल मोफसलमा हुनेछ भने अन्य काठमाडौं र ललितपुर केन्द्रीत छ।
‘मेरो गौरव, मेरो पौरख, मेरो खेलकुद’ नारा दिइएको च्याम्पियनसिपमा २२४९ पुरुष र १७९१ महिला गरी जम्मा ४ हजार ८२ खेलाडी सहभागी छन् । ६१५ स्वर्ण, ६१५ रजत र ८९७ कांस्य गरी जम्मा २१२७ पदकका लागि प्रतिस्पर्धा हुनेछ । च्याम्पियनसिप माघ ९ गतेसम्म चल्नेछ।
देशका विभिन्न स्थानमा हुने च्याम्पियनसिप २९ खेलमा प्रतिस्पर्धा हुनेछ। च्याम्पियनसिपमा ४ हजार ८२ खेलाडीले २ हजार १ सय २७ खेलका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्