Logo

स्तर वृद्धि भए पनि छोटी भन्सारकै काम

नवलपरासी-मन्त्रिपरिषद्स्तरीय निर्णयबाट पश्चिम नवलपरासीको महेशपुर छोटी भन्सार कार्यालयलाई मूल भन्सारका रूपमा स्तर वृद्धि गरिए पनि कार्यान्वयनमा आउन सकेको छैन । दरबन्दी स्वीकृतलगायतका अधिकांश काम नहुदाँ मूल भन्सार स्तर वृद्धि कार्यान्वयनमा आउन नसकेको हो । गत साउन १ गतेबाट लागू हुने गरी सरकारले मन्त्रिपरिषद्स्तरीय निर्णयबाट महेशपुर छोटी भन्सार कार्यालयलाई मूल भन्सार बनाउने निर्णय गरेको थियो ।
माथिल्लो तहबाट कर्मचारी अन्य प्राविधिक काम बाँकी रहेकाले तत्कालका लागि छोटी भन्सारको रुपमा काम गर्दै आएको महेशपुर छोटी भन्सार कार्यालयका नायब सुब्वा रामबहादुर विकले जानकारी दिए । सो निर्णय पूर्ण रुपमा कार्यान्वयन नहुदाँ र सोहीअनुसार कर्मचारी नआउँदा पुरानै रूपमा काम हुदैँ आएको भैरहवा मूल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत भूपालराज शाक्यले जानकारी दिए । महेशपुर छोटी भन्सार कार्यालयमा हाल तीन कार्यालय सहयोगी, एक खरिदार र दुई सुब्बा गरी कुल ६ कर्मचारी छन् । ती ६ कर्मचारी सधैँ महेशपुर छोटी भन्सार कार्यालयमा स्थायी रुपमा नबस्ने कर्मचारी हुन् । भैरहवा मूल भन्सार कार्यालयले प्रत्येक एक-एक महिनाका लागि मात्र कर्मचारी पठाउने गर्दछ । कोलकाता बन्दरगाहबाट सबैभन्दा छोटी दूरी भएको दाबी गरिएको महेशपुर भन्सार कार्यालयको स्तरोन्नति भएकोले अब त्यसलाई कार्यान्वयनमा ल्याउन सकिएमा यस क्षेत्रको आर्थिक वृद्धिमा योगदान पुग्ने नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं ५ का संयोजक गुणनिधि तिवारी बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्