Logo

मूल सुकेपछि लिफ्ट खानेपानी आयोजना

प्यूठान-पानीको मुल सुक्दै गएपछि जिल्लामा लिफ्ट खानेपानी आयोजना निर्माण हुन थालेका छन् । मुहानबाट पाइप लाइनमार्फत खानेपानी आपूर्ति गर्न कठिनाइ भएपछि लिफ्ट खानेपानी आयोजनाबाट पानी आपूर्ति गर्न थालिएको हो ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष ०७४/०७५ मा पाँचवटा लिफ्ट आयोजना निर्माण सम्पन्न गरेको छ । कार्यालयका प्राविधिक भरत केसीका अनुसार अन्य ७५ वटा आयोजना क्रमागत रूपमा निर्माण चरणमा छन् । “अधिकांश लिफ्ट आयोजना छन्,” उनले भने, “पानीका मूलहरू सुक्दै गएपछि लिफ्ट आयोजनाबाट खानेपानी आपूर्ति गर्न थालिएको हो ।” उनका अनुसार जिल्लामा सञ्चालित आयोजनामध्ये ७० प्रतिशत लिफ्ट आयोजना छन् ।
गत आर्थिक वर्षमा दरभान लिफ्ट खानेपनी आयोजना बांगेशाल, बुकेनी लिफ्ट खानेपानी आयोजना मल्लरानी गाउँपालिका–१ र ३, वर्णविर लिफ्ट खानेपानी आयोजना बांगेशाल, कुरुङ्खोला लिफ्ट आयोजना स्वर्गद्धारी, घुइवाङ लिफ्ट खानेपानी आयोजना सरङ्बेंसी निर्माण सम्पन्न पश्चात सञ्चालनमा छन् । आयोजनाबाट ७१० घरधुरी लाभान्वित भएको प्राविधिक केसीले बताए । “सम्पन्न आयोजनामा झण्डै ४ करोड लगानी भएको छ,” उनले भने, “कतिपय आयोजनाका सब योजना पूरा गर्न बाँकी छ ।” निर्माण चरणमा रहेका आयोजनाहरू न्यूनतम एक करोडदेखि १० करोडसम्मको लागत स्टिमेट रहेको उनले बताए । निर्माण गरिने आयोजनामा स्थानीयको श्रमदान २० प्रतिशत हुने उनले जानकारी दिए । आयोजना मर्मतका लागि एक प्रतिशत मर्मत सम्भार कोष उपभोक्ताले जम्मा गर्ने गरेका छन ।
जिल्लामै पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाले तीनवटा लिफ्ट योजना सञ्चालन गरेको छ । एउटा निर्माण सम्पन्न हुने चरणमा रहेको प्यूठान नगरपालिकाका वास संयोजक इन्द्रमणि पोख्रेलले बताए । “अहिले लिफ्ट प्रविधिबाट समुदायमा पानी लैजान थालिएको छ,” उनले भने, “अहिलेसम्म पानी नगएको बस्तीमा लिफ्ट गर्नुपर्ने देखिन्छ ।”
मुहान सुक्न थालेपछि २०७० सालमा मुलागैरा लिफ्ट खानेपानी अयाोजना सञ्चालन गरेर पानी वितरण गरेको खलंगा खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष वसन्तलाल शाक्यले बताए । लिफ्टकै कारण खानेपानीमा केही सहजता आएको उनकोे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्