अमेरिकी अनुदान परियोजना प्रमुख खुल्ला प्रतिस्पर्धाबाट

अमेरिकी अनुदान सहयोगमा अघि बढाउन लागिएको परियोजना कार्यकारी निर्देशक खुल्ला प्रतिस्पर्धामार्फत आह्वान गर्ने निर्णय भएको छ ।
अमेरिकाको ५२ अर्ब अनुदान सहयोगमा निर्माण गर्न लागेको ऊर्जा र यातायात परियोजना कार्यान्वयनका लागि गठित मिलेनियम च्यालेन्ज एकाउन्ट ( एमसीए) नेपाल बोर्डले यस्तो निर्णय गरेको हो । एमसीए गठनपछि बसेको पहिलो बैठकले कार्यकारी निर्देशक नियुक्तिका लागि खुल्ला प्रतिस्पर्धा गर्ने निर्णय गरेको परियोजना कोर टिमका सदस्य जय सुशान्तले जानकारी दिए । उनका अनुसार, कार्यकारी निर्देशकको मापदण्ड, शैक्षिक योग्यतालगायत तय गरेर प्रक्रिया अघि बढ्नेछ ।
अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले दिएको ५२ अर्ब अनुदानसहित ६५ अर्बको लागतमा ऊर्जा र सडक विस्तार कार्यक्रम अघि बढाउने लागिएको सो परियोजनाअन्तर्गत सन् २०१९ को सेप्टेम्बरदेखि निर्माणकार्य सुरु गर्ने लक्ष्य राखिएको छ । आयोजना सुरु भएको ५ वर्षभित्र आयोजना निर्माण हुनैपर्ने व्यवस्था छ । खर्च नभए र काम पूरा नभएमा स्वतन्त्र फर्कनेछ । परियोजनाअन्तर्गत लप्सीफेदीदेखि दमौलीसम्मको ३ सय किमि र दमौलीदेखि नेपाल–भारतको सीमानजिक सुनवलसम्म २३ किमि ४ सय केभीको प्रसारणलाइन निर्माण हुन लागेको छ । परियोजनाअन्तर्गत नुवाकोटको गल्छी, तनहुँको दमौली र सुनवलमा सबस्टेसन निर्माण हुनेछ । त्यसैगरी मेची, कोसी र सगरमाथा राजमार्गका साथै पथलैया–भैंसे–भीमफेदी र अमेलिया–तुलसीपुर सडकको मर्मतसम्भार समेत परियोजनामार्फत अघि बढाउन लागिएको छ । परियोजना ३ सय किमि सडक छ । परियोजनाको डिजाइनका लागि परामर्शदाता छनोट कार्य अघि बढेको छ ।