पेट्रोल प्रतिलिटर ११३ रुपैयाँ

नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेर आएकाले सोहीअनुसार निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
निगम प्रवक्ता वीरेन्द्र गोइतले पेट्रोल र डिजेल-मटीतेलको मूल्य प्रतिलिटर तीन-तीन रुपैयाँले बढाइएको बताए । इन्डियन आयल कर्पाेरेसन(आइओसी)ले १ जुनमा पठाएको नयाँ मूल्यअनुसार सबै पेट्रोलियम पदार्थको मूल्य बढेर आएकाले सोहीअनुसार मूल्यवृद्धि गरिएको प्रवक्ता गोइतले बताए । यस्तै, हवाई इन्धन आन्तरिकमा प्रतिलिटर ५ रुपैयाँ बढाइएको निगमले जानकारी दिएको छ ।
यस्तै, हवाई इन्धन बाह्यमा प्रतिकिलोलिटरमा ७५ अमेरिकी डलर बढेको छ । निगमका अनुसार अब पेट्रोल प्रतिलिटर १ सय १३ रुपैयाँ, डिजेल-मटीतेल ९५, हवाई इन्धन आन्तरिक १ सय र बाह्य १ हजार ७५ रुपैयाँ पुगेको छ । मूल्य बढाउँदा पनि निगमलाई पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ५९ पैसा तथा डिजेलमा ३ रुपैयाँ ४९ रुपैयाँ घाटा रहेको छ । यस्तै, खाना पकाउने एलपी ग्यासमा निगमलाई प्रतिसिलिन्डर १ सय ३९ रुपैयाँ घाटा रहेको छ ।
यो पटक मूल्य बढाउँदा अझै पनि निगमलाई महिनामा १८ करोड ६२ लाख घाटा छ । इन्धनको मूल्य लगातार बढ्दै गएकाले पछिल्लो समय निगम घाटामा गएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य लगातार बढ्दै गएकाले निगमले स्थानीय बजारमा मूल्य बढाउँदै आएको छ । आइओसीले प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्य पठाउने गर्छ । सोही अनुसार निगमले स्थानीय बजारमा मूल्य समायोजन गर्ने गर्छ । मूल्य बढाउदा पनि भारतको तुलनामा नेपालमा पेट्रोल प्रतिलिटरमा २२ रूपेैयाँ ७२ पैसा र डिजेल प्रतिलिटरमा २४ रुपैयाँ ९५ पैसा नाफा रहेको छ । प्रधानमन्त्री केपी ओली नेतृत्वमा सरकार गठन भएपछि पाँच पटक मूल्यवृद्धि भएको छ । लगातार इन्धनको मूल्य बढ्दा त्यसको प्रत्यक्ष मार भने सर्वसाधारणलाई पर्न गएको छ ।